कांग्रेसलाई प्रचण्डको प्रश्न : डा. केसीको पुच्छर किन लागेको ?, लासको राजनीति गर्न चाहेको हो ?

| 2018 Jul 23 | 04:23 pm 2192

काठमाडौं,  साउन ७ :  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले अन्य कार्यसूची नपाएर प्रा. डा. गोविन्द केसीको पुच्छर लाग्नु विडम्बनाको विषय भएको बताएका छन् ।

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४०औँ स्मृति दिवसका अवसरमा नेकपा सचिवालयले सोमबारआयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले ‘दुई तिहाइको समर्थन प्राप्त सरकारलाई काम गर्न नदिन विभिन्न बहानाबाजी र कुतर्क गरिएकाले’ अब कांग्रेसको अस्तित्व समाप्तिको दिशामा पुगेको टिप्पणी गरे ।

“प्रतिक्रान्तिका तागतहरुले क्रान्ति र जनमतका उपलब्धिका लागि उल्ट्याउन नियोजित षडयन्त्रस्वरुपका क्रियाकलाप भइरहेका छन् । के कांग्रेसले डा केसीलाई मारेर लाशको राजनीति गर्न चाहेको हो ? यही बुद्धि र तरिका हो भने कांग्रेस अब इतिहासको विषय बन्न धेरै बेर लाग्दैन । नेकपा एकताको अभियान चलाएर दशगुणा शक्ति लिएर आउँदैछ ।”

अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई काँग्रेसले प्रा डा केसी अनशनका नाममा मास्न खोजेको हो कि भन्ने आशंका पैदा भएको जनाउँदै भने, “केसीले सबैभन्दा बढी लोकतान्त्रिक भनिएकै उहाँहरुको सरकारको पालामा अनशन गरेका छन् । अनि अहिले संसद्लाई निर्णय गर्न नदिएर केसीले जे भन्छन् त्यही गर्नुपर्छ भनेर काँग्रेस सभापति शेरबहादुर देउवाले किन भनेका हुन् ? कतै यो प्रतिक्रान्तिको तागत बढाउन खोजिएको त होइन ?”

निर्वाचनपूर्व गत असोज १७ गते भएको वाम गठबन्धनको तालमेलदेखि आफूहरुलाई फुटाउने षड्यन्त्र भएको बताउँदै उनले निर्वाचन आचारसंहिताविपरीत र लोकतान्त्रिक मूल्यमान्यताविपरीत अलोकतान्त्रिक र निरङ्कुश ढंगले राजनीतिक नियुक्ति भएकामा नयाँ सरकारले त्यस्ता कामलाई सच्याउँदै समृद्धि र विकासको तयारी गरिरहेको उल्लेख गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.