कांग्रेसमा सकिएकै हो त कोइराला परिवारको विरासत ?

रिपोर्ट नेपाल | 2021 Dec 27 | 12:43 pm 1905

पराजित भए पनि डा. शेखर कोइरालाले प्राप्त गरेको मतले भने नयाँ संकेत गरेको छ । अब कोइराला परिवारको विरासत बिपिपुत्र र गिरिजापुत्रीबाट चुँडिएर नोनापुत्र डा.शेखरको हातमा पुगेको विश्लेषण गरिएको छ । के अब डा.कोइरालाले पारिवारिक विरासतलाई फिर्ता ल्याउन सक्नु होला त ? या जसरी आपसी बेमेल राणाहरूको विरासत अन्त्यको कारण बनेको थियो, त्यसरी नै यो बेमेलले कोइराला परिवारको विरासत अन्त्य गर्ला ? भन्ने जिज्ञासा हरेक कांग्रेसजनको मुखमुखमा छ ।

अहिलेको जमनालाई विज्ञान प्रविधिको युग भनिन्छ । तर, सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले अझै नयाँ प्रविधि अवलम्वन गर्न सकेको देखिएन । १४औँ महाधिवेशनको सम्पूर्ण परिणाम सार्वजनिक गर्न नेपाली कांग्रेसलाई करिब दुई साता लाग्यो । आजभन्दा सय वर्षअघि मतदान गर्ने जे प्रविधि थियो, त्यसैलाई नेपाली कांग्रेसले निरन्तरता दिँदा नयाँ पुस्ताले ज्यादै अप्ठेरो मानेको छ । केही घण्टामै नतिजा निकाल्न सकिने विद्युतीय भोटिङ मेसिन प्रयोग नगरेर नेपाली कांग्रेस किन पुरातन प्रविधिमै रमाइरहेको छ ? भन्ने आमचासो जनतामा देखिएको छ । त्यसो त मतदानको मामिलामा मात्रै होइन, १४औँ महाधिवेशनको पूर्वतयारीका लागि पनि नेपाली कांग्रेसले करिब दुई वर्ष समय लगायो । निर्वाचित कार्यसमितिको कार्यकाल जम्मा चार वर्षको हुन्छ, तर महाधिवेशनको पूर्व तयारीलाई मात्रै दुई वर्ष लगाउने पार्टीले मुलुक हाँक्ला भनेर जनता कसरी विश्वस्त हुने ? भन्ने प्रश्न कम पेचिलो छैन ।

ढिलै भए पनि मत गणनाको परिणाम आइसकेको छ । केही अपवादबाहेक आमजनताबीच लोकप्रिय नेताहरूले नै नेपाली कांग्रेसमा चुनाव जितेका छन् । परम्परागत ढाँचाबाटै भए पनि आन्तरिक लोकतन्त्रको अभ्यास गरेकोमा नेपाली कांग्रेसप्रति जनता आशावादी छन् । तर जनताको आशा र भरोषालाई नेपाली कांग्रेसले निरन्तरता देला कि ? गुटउपगुटको झगडामा रमाउला ? भन्ने प्रश्न यथावत छ । जित्नेहरूमा देखिने उन्माद र हार्नेहरूमा देखिने निराशाका द्वन्द्वमा नेपाली कांग्रेस विगतदेखि नै फँस्दै आएको छ । मुलुकसामु तीन वटा ठूला निर्वाचन सन्निकट आइसकेको अवस्थामा नेपाली कांग्रेस भित्रको आन्तरिक लडाइँले कस्तो असर गर्ला ? भन्ने शंका उपशंका पनि नदेखिएका होइनन् । तर यतिबेला भने सबैभन्दा चर्चाको शिखरमा भने सभापति पदका विजेता प्रधानमन्त्री शेरबहादुर देउवाभन्दा उपविजेता डा.शेखर कोइराला हुनुहुन्छ । केही अपवादबाहेक एकढिक्का रहँदै आएको कोइराला परिवारका नेताहरू छिन्नभिन्न भएर तीनतिर लाग्दा पनि डा. शेखर कोइरालाले आफूलाई बलियोसँग उभ्याउनुभएको छ ।

नेपालको लोकतान्त्रिक इतिहास खासै लामो छैन । नेपालको लोकतान्त्रिक कित्ताको राजनीति अहिलेसम्म कोइराला परिवारकै वरिपरि घुमिरहेको थियो । तर, नेपाली कांग्रेसको १४औँ महाधिवेशनको परिणामले कोइराला परिवारको दबदबामाथि प्रश्न उठाएको छ । कोइराला परिवारका नेताले पराजय भोगेको इतिहास नेपाली कांग्रेसका कुनै पनि महाधिवेशनमा छैन । सभापति पदमा उम्मेदवार बनेको अवस्थामा कोइराला परिवारका नेताहरूले फराकिलो मतान्तरले चुनाव जित्दै आएको इतिहास छ । तर, यसपटक भने डा. शेखर कोइराला पराजित हुनुभयो ।

कोइराला परिवारका तीन हस्ती मध्ये बिपी पुत्र डा.शशांक कोइराला देउवाको पक्षमा उभिनुभयो भने । गिरिजापुत्री सुजाता कोइराला पनि प्रकाशमान सिंहको टिममा उपसभापतिको उम्मेदवार हुँदै देउवाकै पक्षमा उभिनुभयो । आफ्नै परिवारविरोधी कित्तामा लागेकै कारण डा.शेखर कोइराला पराजित हुनुभयो । पराजित भए पनि डा.शेखर कोइरालाले प्राप्त गरेको मतले भने नयाँ संकेत गरेको छ । अब कोइराला परिवारको विरासत बिपिपुत्र र गिरिजापुत्रीबाट चुँडिएर नोनापुत्र डा.शेखरको हातमा पुगेको विश्लेषण गरिएको छ ।

के अब डा.शेखरले पारिवारिक विरासतलाई फिर्ता ल्याउन सक्नु होला त ? या जसरी आपसी बेमेल राणाहरूको विरासत अन्त्यको कारण बनेको थियो, त्यसरी नै यो बेमेलले कोइराला परिवारको विरासत अन्त्य गर्ला ? भन्ने जिज्ञासा हरेक कांग्रेसजनको मुखमुखमा छ । नेपाली राजनीतिमा कोइराला परिवारको विरासत कृष्णप्रसाद कोइरालाले सुरु गर्नुभएको हो । राणाशासनको उत्तरार्धतिर तत्कालीन सत्तासँग विद्रोह गर्नुभएका कृष्णप्रसाद कोइरालाको जेलमै मृत्यु भएको थियो ।

त्यतिबेला बाहुनलाई मृत्युदण्ड दिने चलन थिएन, त्यसैले राणाहरूले कृष्णप्रसाद कोइरालालाई जेलमै सडाएर मारेका हुन् । कृष्णप्रसादका पाँच छोरामध्ये मातृकाप्रसाद कोइराला, बिपी कोइराला, गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बनिसक्नुभएको छ । संविधान जारी हुँदाका बेलाका प्रधानमन्त्री सुशील कोइराला पनि कृष्णप्रसाद कोइरालाका भतिजा हुनुहुन्छ । पहिलो जननिर्वाचित कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारी कृष्णप्रसाद कोइरालाका भान्जा हुनुहुन्छ । यसैगरी पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारी भाञ्जा हुनुहुन्छ भने शैलजा आचार्य र सुजाता कोइराला नातिनी हुनुहुन्छ । मन्त्री बन्नेहरूको संख्या त कृष्णप्रसाद कोइरालाको परिवारमा कति छन् कति । कृष्णप्रसाद कोइरालाको दुई छोराहरू मातृकाप्रसाद र विश्वेश्वर प्रसादको द्वन्द्वले २००९ सालमा नेपाली कांग्रेस विभाजित भएको थियो । यसवाहेक कोइराला परिवार एक ढिक्का रहँदै आएको थियो । तर, यसपटक कृष्णप्रसाद कोइरालाका तीन जना नातिनातिना तीनतिर भए ।
कोइराला परिवारका तेस्रो पुस्ताका तीन हस्ती डा.शेखर, सुजाता र डा.शशांकले अलगअलग विरासत तथा विशेषता बोकेका छन् । डा.शेखरसँग बाजे कृष्णप्रसादको विरासत भए पनि बाबु केशव कोइरालाको विरासत भने छैन । शेखरका बाबु केशवले राजनीतिक संघर्ष त गर्नुभयो, तर पार्टी तथा सरकारमा कुनै पद लिनु भएन । दाजु बिपी र भाइ गिरिजाप्रसाद कोइरालाको राजनीतिक सक्रियताका लागि उहाँले घर संहालेर बस्नुभयो । डा. शेखरकी आमा नोना पनि आजीवन देवर गिरिजाप्रसादको सहयोगीको भूमिकामा हुनुभयो । नोनाले पनि कुनै पद लिनु भएन ।

डा.शशांक कोइरालासँग बाजे कृष्णप्रसादको मात्रै नभएर बाबु बिपी कोइरालाको समेत विरासत प्राप्त भयो । नेपाली राजनीतिमा बिपी कोइरालाको नाम नै काफी छ । बिपी पुत्र भन्नासाथ डा.शशांकको ५० प्रतिशत भोट बैंक यसै बढ्ने भयो । थोरै बोल्ने, मन्त्री तथा उपप्रधानमन्त्री बन्ने अवसर पटकपटक आउँदा पनि त्याग गर्दै जाने स्वभावका कारण कांग्रेसभित्र डा.शशांक लोकप्रिय हुनुहुन्छ । यसैगरी सुजाता कोइरालासँग पनि बाजे कृष्णप्रसादका अतिरिक्त बाबु गिरिजाप्रसादको समेत विरासत छ । ०३९ सालमा बिपी कोइरालाको निधनपछि नेपाली कांग्रेसभित्र निर्णायक भूमिकामा उदाउनुभएका गिरिजाप्रसाद कोइरालाले करिब २६ वर्षसम्म नेपाली कांग्रेसलाई एकछत्र हाँक्नुभयो । चारपटक गरी करिब पाँच वर्ष प्रधानमन्त्री बन्नुभयो । यो पुरै अवधि छोरी सुजाता कोइरालाको दबदबा रह्यो । आफ्ना बाबुकै पालामा सुजाताले उपप्रधानमन्त्रीसमेत बन्ने मौका पाउनुभयो ।

के के छन् डा. शेखरका सामु चुनौती ?
कांग्रेसको १४औँ महाधिवेशनले कोइराला परिवारको बास्तविक राजनीतिक उत्तराधिकारी डा.शेखर कोइराला भएको पुष्टि गरेको छ । तर डा.शेखरका सामुन्ने साना चुनौती छैनन् । मेचीकालीले मात्रै होइन अन्तर्राष्ट्रिय जगतले समेत चिनेका नेता हुनुहुन्छ, ‘बिपी कोइराला र गिरिजाप्रसाद कोइराला ।’ यति बलियो लिगेसी बोकेका बिपीपुत्र डा.शशांक, गिरिजापुत्री सुजातालाई पछि पार्दै कोइराला परिवारको विरासत आफ्नो हातमा ल्याउनु डा.शेखर कोइरालाको ठूलो सफलता हो ।

तर, कोइराला परिवारको विरासत त साधन मात्रै हो । यो विरासतमार्फत पार्टी सत्ता प्राप्त गर्न डा.शेखरले अझै संघर्ष गर्न बाँकी नै छ । पहिलो कुरा त नयाँ शक्तिका रूपमा उदाएको साधन स्रोत सम्पन्न देउवा–राणा परिवारलाई परास्त गर्नुपर्नेछ । दोस्रो कुरा आफ्नै परिवार भित्रका हस्तीहरू डा.शशांक र सुजाताको पक्षमा रहेका कार्यकर्तालाई आफूतिर आकर्षित गर्नुपर्नेछ । यी चुनौतीहरू कसरी समाना गर्नुहोला त डा. शेखरले भन्ने जिज्ञासा कांग्रेसजनको मुखमुखमा छ ।

नेपाली कांग्रेसको राजनीतिमा शेरबहादुर देउवाको उदयलाई सामान्य ठान्ने गल्ती जसरी गिरिजाप्रसाद कोइरालाले गर्नुभएकोथियो, त्यही गल्ती डा. शेखरले गरिसक्नुभएको छ । नेपाली कांग्रेसमा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र महेन्द्र नारायण निधिजस्ता अत्यान्त प्रभावशाली नेताहरू सक्रीय हुँदा नै प्रधानमन्त्री पद हात पार्न सफल नेता हुनुहुन्छ शेरबहादुर देउवा । गिरिजाप्रसाद कोइरालाजस्ता अत्यन्त जाँगरिला र राजनीतिक उचाइ भएका नेतालाई समेत आच्छुआच्छु पार्ने ताकत देउवाले राख्न सक्नुका पछाडि तीन वटा कारण छन् । पहिलो कारण सिंगो सुदूरपश्चिम आफ्नो स्थायी भोट बैंक भएका नेता हुनुहुन्छ देउवा । दोस्रो कारण देउवाकी श्रीमती डा. आरजु राणा व्यक्तिगत रूपमा मात्रै सवल हुनुहुन्न, २ सय ४० वर्षको राजतन्त्र र १ सय ४ वर्षको राणा शासनको पनि विरासत बोक्नुभएको छ । तेस्रो कारण युरोप अमेरिका समेत देउवाको पक्षमा छ । देउवापछि कांग्रेसको नेतृत्व लिन पाइपलाइनमा बस्नुभएकी श्रीमती डा. आरजु राणाको उमेर ५८ वर्ष भयो । डा. शेखर कोइराला ७२ वर्षको हुनुभयो । अब डा. शेखरसँग आगामी १५औँ महाधिवेशनभन्दा अरू समय बाँकी छैन ।

यो अवधिमा डा. शेखरसँग दुई वटा ठूला चुनौती छन् । पहिलो चुनौती हो, आफ्नो परिवारका हस्तीहरू मिलाउनु । दोस्रो चुनौती हो, आफ्नै टिमबाट उदय भएका युवा नेता गगन थापाको महत्वकांक्षा संवोधन गर्नु । नेपाली कांग्रेसको इतर पक्षको राजनीतिक मैदान अब डा.शेखर कोइरालाका लागि पुरै खाली छैन, गगन थापा, विश्वप्रकाश शर्मा जस्ता सशक्त युवा नेताहरूको उदय भइसकेको छ ।

डा.शेखरका सवल र निर्वल पक्ष
राजनीति भनेको यस्तो खेल हो, जहाँ साम, दाम, दण्ड, भेद लगायतका ६ वटा अस्त्र एकैचोटी प्रस्तुत गरिन्छ । जसलाई बोलिचालीको भाषामा षड्यन्त्र भन्ने गरिन्छ । गिरिजाप्रसाद कोइराला र सुशील कोइराला षड्यन्त्र प्रयोग गर्न माहिर हुनुहुन्थ्यो । षड्यन्त्रलाई छेक्न सक्ने ताकत पनि गिरिजाप्रसाद र सुशीलमा थियो । तर डा.शेखरले न षड्यन्त्र प्रयोग गर्न सक्ने ताकत राख्नुहुन्छ, न षड्यन्त्र छेक्न सक्ने ताकत राख्नुहुन्छ भन्ने टीकाटिप्पणी कांग्रेसनजनहरू गर्दछन् । सरसर्ती हेर्दा यो टीकाटिप्पणी सही हो कि जस्तो देखिन्छ ।

महाभारतका चर्चित पात्र अभिमन्युले चक्रव्युभित्र छिर्ने ज्ञान प्राप्त गरेका थिए , तर निस्कने ज्ञान प्राप्त गर्न सकेका थिएनन् । जसका कारण किशोर अभिमन्युको ज्यान गयो । डा.शेखरले पनि नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा अभिमन्युको जस्तै नियति बेहोर्नुप¥यो । एक्ला कोइरालालाई कांग्रेस भित्रका करिब एक दर्जन महारथीहरूले घेराहाली हाली सिध्याए । आफूलाई भीष्मपितामह ठान्ने वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत निर्णायक क्षणमा डा. शेखरको छातीमा वाण प्रहार गर्नुभयो ।

तर कमजोरी डा. शेखरकै हो । गत १३औँ महाधिवेशनमा डा.कोइरालाले रामचन्द्र पौडेलमाथि षड्यन्त्र प्रयोग गर्नुभयो । तर डा.कोइरालाले प्रयोग गरेको षड्यन्त्र आफ्नै थिएन । त्यतिबेला शेरबहादुर देउवाले चुनाव जित्नका लागि पौडेलमाथि सिधै षड्यन्त्र प्रयोग गर्नसक्ने अवस्था थिएन । डा.शेखरमार्फत षड्यन्त्र प्रयोग गर्नुभयो । गत १३औँ महाधिवेशनमा देउवाले चुनाव नजितेको भए यतिबेला डा.शेखरलाई चुनाव जित्न खासै अप्ठेरो थिएन । पौडेलविरुद्ध कसका लागि किन षड्यन्त्र गर्दैछु ? भन्ने डा.शेखरले त्यतिबेला बुझ्न सक्नु भएन । षड्यन्त्र भनेको व्रह्मास्त्र जस्तै हो, प्रर्याप्त ज्ञानविना षड्यन्त्र प्रयोग गरियो भने आफै समाप्त होइन्छ भन्ने पाठ डा.कोइरालाले १४औँ महाधिवेशनबाट सिकेको हुनुपर्छ ।

शक्तिसम्पन्न कोइराला परिवारको विरासत बोकेका डा.शेखर विद्वान मात्रै हुनुहुन्न, उहाँको व्याक्तित्वमै विद्धता झल्कन्छ । दुर्गम गाउँका मैला र फाटेका कपडा लगाएका सामान्य कार्यकर्ताले पनि डा.शेखरसँग धक फुकाएर आफ्ना कुरा राख्न सक्छन् । कार्यकर्तासँग ज्यादै नै सरल रूपमा प्रस्तुत हुने खुवी उहाँको छ । कुरा सुन्ने धैर्यता राख्नुहुन्छ , रिसाउने झर्कने बानी उहाँमा छैन ।

तर, जीवनको लामो कालखण्डसम्म जागिर खाएर महिनामारी तलव बुझ्ने औसत कर्मचारीहरूको मानसिकताबाट डा.शेखर माथि उठ्न अझै बाँकी रहेको उहाँसँग संगत गर्नेहरू बताउँछन् । आर्थिक रूपमा डा.कोइराला कम सम्पन्न हुनुहुन्न, उहाँको आर्थिक हैसियत देउवाको भन्दा थोरै कम होला । तर, कार्यकर्ताहरू उभिन पुग्ने आँगन समेत नभएको घरमा उहाँ बस्नुहुन्छ । आफ्नो घर चियासपल भन्दा धेरै टाढा छ भन्ने हेक्का डा. शेखर कोइरालाले मात्रै होइन उहाँको परिवारलाई समेत छैन ।

कुनैबेला आस्थाका आधारमा कार्यकर्ताहरू भोकभोकै परिचालित हुन्थे । अब मुलुकमा लोकतन्त्र आइसकेको छ । भोकभोकै कोही कार्यकर्ताले कसैको झोला बोक्ने युग सकिएको छ । तर, कार्यकर्ताहरू भोककोकै कुद्ने युग सकिएको कुरा गिरिजाप्रसाद कोइरालाले ०४८ सालमै थाहा पाइसक्नुभएको थियो, देउवाले पनि त्यतिबेलै थाह पाइसक्नुभएको थियो, तर डा.शेखरले यो यथार्थता अझै थाह पाउनुभएको छैन । आफूले प्राप्त गरेको ४० प्रतिशत मतभित्र देउवासम्म पुहँच पु¥याउन चुकेका र देउवासँग कुनै कारणबस रिसाएका महाधिवेशन प्रतिनिधिहरूको हिस्सा कति छ ? भन्ने हिसाबकिताब राख्न डा.शेखरले बाँकी नै रहेको देखिन्छ । शाैर्य अनलाइनबाट साभार

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.