कांग्रेसद्वारा बाढीपीडितका लागि ३० जिल्लामा पठायो ४५ लाख

रिपोर्ट नेपाल | 2020 Aug 18 | 03:14 pm 2102

काठमाडौं, भदौ २ः प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय समितिले बाढी पहिरोमा उद्धार र राहतका लागि प्रथम चरणमा ३० जिल्लामा ४५ लाख रुपैयाँ सहयोग पठाएको छ।

नेपाली कांग्रेस जिल्ला कार्यसमितिका नाममा ३० जिल्लामा बाढी–पहिरोले आक्रान्त लम्जुङ, सिरहा, गुल्मी, नुवाकोट, स्याङ्जा, बाग्लुङ, म्याग्दी, पाल्पा, ताप्लेजुङ, ओखलढुंगा, संखुवासभा, पर्वत, सिन्धुपाल्चोक, महोत्तरी, पर्सा, धादिङ, पाँचथर, तेह्रथुम, मकवानपुर, बारा, सर्लाही, काभ्रे, रसुवा, धनुषा, सिन्धुली, बझाङ, जाजरकोट, खोटाङ, बाजुरा र कास्कीलाई एक लाख पचास हजार रुपैयाँका दरले पैतालीस लाख रुपैयाँ सहयोग पठाइएको हो ।

विज्ञप्तिमा भनिएको छ, कांग्रेसले हरेक मानवीय पीडामा मल्हम लगाउन सदैव अग्रपंक्तिमा काम गर्दै आएको छ, यसक्रममा बाढी पहिरोका कारण पछिल्ला दिनहरूमा भएको क्षतिमा उद्धार र राहतको जिल्ला स्तरिय अभियानलाई बल पुर्याउन ‘स्नेहको सानो सहयोग’का रुपमा उक्त रकम पठाइएको छ ।

उद्धार र राहतको अभियानका संलग्न विभिन्‍न तहका कार्यकर्ताको प्रशंसा गर्दै कांग्रेसले मानवीय कर्ममा थप क्रियाशीलताका लागि आव्हानसमेत गरेको छ। कोरोनाको कहरका बेलामा बाढी पहिरोले जनधनको क्षति गरेर पीडामाथि पिडा थपिएको छ, यस्तो बेला सबैले आ–आफ्नो ठाउँबाट कर्तव्य निर्वाहमा जुट्न जरुरी छ । नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.