कांग्रेसको माग सम्बोधन, गिरिजा र सुशील कोइरालाको नामको अस्पताल संघमा ल्यायो

| 2019 Jan 29 | 07:08 pm 1261

काठमाडौं, माघ १५  : आफ्ना पूर्व सभापतिहरुको नामबाट सञ्चालित दुई अस्पतालका नाममा पटक–पटक संसद वैठक अवरुद्ध गर्दै आइरहेको नेपाली कांग्रेसको गुनासो सरकारले सम्वोधन गरेको छ ।

सरकारले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संस्थापक नेताहरुको नाममा सञ्चालित दुई अस्पताललाई संघीय सरकार मातहत ल्याउने भएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले गिरिजाप्रसाद कोइराला स्वासप्रश्वास अस्पताल र बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई संघीय सरकार मातहत ल्याउने निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले ती दुवै अस्पताल आवश्यक मापदण्ड पुरा गरेपछि संघीय सरकारमा ल्याउँदा राम्रो हुने बताए पनि कांग्रेसले नमानेपछि सरकारले यस्तो निर्णय गरेको हो ।

दुवै अस्पताल विघटनको खेलमा नेकपा अध्यक्ष एवं केपी ओली नेतृत्वको सरकार लागेको भन्दै कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ । तर सरकारले भने अस्पताल विघटन नभई स्थानीय र प्रदेश सरकार मातहत राखेर चलाउन खोजिएको स्पष्टिकरण दिएको थियो ।

‘कांग्रेसको माग अनुसार दुई वटा अस्पताललाई संघ मातहत ल्याउने निर्णय सोमबारको क्याबिनेटले गरेको छ’, स्रोतले जानकारी दियो, ‘प्रधानमन्त्रीले दुवै अस्पताललाई व्यवस्थित बनाऊँ भन्दा कांग्रेसले जस्तो छ त्यही हालतमा संघमा ल्याउनै पर्ने अडान राखेपछि यस्तो निर्णय भएको हो ।
बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल ५९ शैंयाको छ । तनहुँस्थित गिरिजाप्रसाद कोइराला स्वासप्रश्वास अस्पताल १५ शैंयाको छ ।

सरकारले यी दुवै अस्पताल संघमा ल्याउन पूर्वाधार र आवश्यक मापदण्ड नपुग्ने बताउँदै आएको थियो । तर अन्य नौवटा अस्पताल संघमा ल्याएको सरकारले आफ्ना स्वर्गीय नेताका नामका दुई अस्पताल विघटन गर्ने उद्धेश्यले केन्द्रीय सरकार मातहत नल्याएको आरोप कांग्रेसले लगाउँदै आएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.