कांग्रेसको भावी कार्यदिशा बारे कोरियामा चिन्ता

रिपोर्ट नेपाल | 2018 Aug 15 | 10:24 am 3731

दक्षिण कोरिया, साउन ३०: नेपाली कांग्रेसको भातृ संस्था नेपाली जनसम्पर्क समिति दक्षिण कोरिया पार्टीको भावि कार्यदिशा र वर्तमान संगठनका विषयमा चिन्तित बन्न थालेको छ ।

जन्मभूमि र लोकतन्त्रको माया ममताकै कारण कोरियामा भएका प्रजातन्त्रवादी नेपालीले आफ्नो पार्टीलाई गलत दिशामा जानबाट रोक्नका लागि प्रवासमा बसेर पनि उल्लेख्य कार्य गर्दै आएका छन् ।

नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाकी अध्यक्ष आस्था विन्दु मल्ल(पुन)का अनुसार आगामी भदौ १७ गते सेप्टेम्बर २ मा कोरियामा एक विचार गोष्ठीको आयोजना गरिएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रखर यूवा वक्ता प्रदिप पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न हुने गोष्ठीका लागि दक्षिण कोरियामा रहेका सबै लोकतन्त्रवादी नेपालीलाई आमन्त्रण गरिएको छ ।

कांग्रेसको वर्तमान अवस्था, चुनौती र भावी कार्यदिशा नाम दिइएको गोष्ठीमा प्रवासमा रहेका अन्य नेताहरुले समेत आफ्नो प्रस्तुती दिने कार्यक्रम रहेको छ ।

रोजगारीका लागि कोरियामा रहेका गुल्मी मदाने गाउँपालिकाका रामचन्द्र खड्काका अनुसार जहाँ जस्तो अवस्थामा रहे पनि लोकतन्त्र र यसका लागि अनवरत लडेको पार्टीको विषयमा चिन्ता लाग्ने गरेको छ ।

लोकतान्त्रिक व्यवस्था सुदृढ भयो र लोकतान्त्रिक पार्टी बलियो भयो भने मात्रै आफूहरुले कोरियामा रगत पसिना गरेर कमाएको कमाई सुरक्षित हुने खड्काको भनाई रहेको थियो ।

कोरियामा बसेर पनि देशको चिन्ता गर्नका लागि कांग्रेस बलियो हुनुपर्ने धारणा सहित आयोजित कार्यक्रम राखेर जनसम्पर्क समितिले प्रशंसनीय काम गरेको उनको कथन रहेको छ ।

नेपालमा बसेर गुट उपगुटको चंगुलमा फस्ने स्वार्थी कांग्रेसीहरुलाई दक्षिण कोरियामा रहेका कांग्रेसजनले यो कार्यक्रम राखेर पाठ सिकाएका छन् ।

संगठन जेसुकै होस् तर आफ्नो गुट बलियो हुनुपर्छ भन्ने पछिल्लो पटक भइरहेको कांग्रेस भित्रको चिन्तनलाई कुनै गुटमा सकृय रहेका प्रदिप पौडेलले कोरियामा रहेका नेपाली कांग्रेसका कार्यकर्तालाई कसरी आश्वस्त पार्ने हुन त्यो हेर्न अव केहिदिन कुर्नुपर्ने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.