-
महेन्द्र पाण्डेय
२०४६ सालको बहुदलिय व्यवस्थाको स्थापना देखि अधिकतम समय सरकारको नेतृत्व गरेको र केही समय सूर्यबहादुर थापा र प्रचण्डको नेतृत्वमा सरकारमा सामेल भएको नेपाली कांग्रेस दाह्रा र नङ्ग्रा नभएको बाघ जस्तै प्रमुख प्रतिपक्ष दलको भूमिकामा सिमित रहन पुगेको छ ।
मुलुकको लोकतान्त्रिक आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गरेको ठूलाठूला क्रान्ति गरेको नेपाली कांग्रेसले सरकारको गलत कृयाकलापको भण्डारफोर गर्न भन्दै तीन चरणको जागरण अभियानको घाषेणा गरी ७७ वटै जिल्लामा प्रतिनिधि समेत खटाएको छ । पहिलो चरणको कार्यक्रम अन्तर्गत आज बुधबार लोकतन्त्र दिवसको अवसरमा पारी राष्ट्रिय जागरण आभियानमा जाने निर्णय गरेकाे कांग्रेसले पूर्व मन्त्री तथा पार्टीका नेता रामकृष्ण ताम्राकारकाे निधनले गर्दा हालका लागि स्थिगित भएकाे छ । आफ्नै पार्टी भित्रको किचलो, सत्तापक्ष र प्रतिपक्ष जस्तै गरी व्यांगवाणलाई थाती राखेर कांग्रेस मेचीदेखि महाकालीसम्म जागरण अभियानमा लाग्ने तयारीमा थियाे ।
आफ्नै पार्टीको महासमितिको बैठकको निर्णयलाई उल्टाएर केन्द्रीय समितिले गरेको निर्णयका विरुद्ध धेरै जिल्लाका सभापतिहरुले विरोध जनाइरहेका बेला हुन लागेको यो जागरण अभियानको तीर जिल्ला–जिल्लाबाट नेतृत्व तर्फ नसोझिएला भन्न सकिन्न । यदि तिमी सिधा उभिएका छौं भने आफ्नो छाँयासँग नडराउ भनिए जस्तै नेपाली कांग्रेस पार्टीले यो जागरण आफ्नै पार्टी भित्र रहेको कुकुर बिरालो प्रवृत्तिलाई अन्त्य गरेर गर्नु पर्ने थियो । भन्ने तमाम कार्यकर्ता भनएका पनि होइनन् ।
अहिले सरकारले गरेको क्रियाकलाप र उसको कार्यकालको काम कारबाही बारे जानकारी दिँदै विकासको यूगमा रुपान्तरण गर्नका लागि अभियान गर्न लागिएको बताइएको छ । यो पंतिकारलाई के लाग्छ भने यो अभियानको नेतृत्व गर्दै विभिन्न जिल्लामा गएका प्रतिनिधिहरुले आ–आफ्नै गुट, उपगुटको डम्फू राम्रैसँग बजाउनेछन् ।
मुलुकमा पछिल्लो समय असन्तुष्टिका स्वरहरु जनताले घन्काई रहेका छन् त्यो असन्तुष्टिलाई सम्बोधन गर्नका लागि कांग्रेसका गुट, उपगुटले कति सम्भव होला त्यो सहजै अनुमान गर्न सकिन्छ । स्यालको शिकार गर्न जाँदा बाघ मार्ने सर्जन बोक्नुपर्नेमा कांग्रेस बाघ मार्न आफ्नै पार्टीको अन्तर कलह लिएर देश दौडाहमा निस्किएको छ ।
आजका जनता हिजोका जस्ता लाटा र सोझा छैनन् आजका जनता प्रविधिसँग खेल्दै कसको हैसियत र कार्यशैली आफैं विश्लेषण गर्ने भएका छन् । नेपाली कांग्रेसको भोट बैंक भनेर चिनिने मधेसमा आज कांग्रेसको स्थिति खस्कनुमा कारण के हो ? भनेर खोजियो भने जागरणको औचित्य रहन सक्छ । संविधानमा जारी भएदेखि असन्तुष्टी पोखेका समुदायका मागहरु विधमान छन् । यि मागका विषयमा कांग्रेसको दृष्टिकोण र समाधानका उपाय के हुन् भनेर पहिचान गरियो भने जागरण सार्थक हुन्छ ।
घरभित्र आगो बलिरहेका बेला त्यसलाई निभाउनुको सट्टा अर्काको घर ताक्दै हिड्नु मुर्खता हुन्छ भन्ने बुझ्न जरुरी छ । जवसम्म अन्तर आत्माको विकास गर्न सकिदैन तवसम्म समाज, शहर र देश बनाउन सकिन्न भन्ने कुराको हेक्का पनि कांग्रेसका नेताहरुले गर्न जरुरी छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले पूर्वको एक कार्यक्रममा भोट दिने बेलामा कम्युनिस्टलाई दिने अहिले प्रतिपक्ष दह्रो र राम्रो खोजेर हुन्छ भन्नुभएछ । यसले नेपाली कांग्रेसलाई जनताले कसरी हेर्ने भन्ने बुझाउँछ । जनताले त समानुपातिकमा लगभग बराबर मतदान गरेका छन् । प्रत्यक्षमा किन उम्मेदवार पराजय भए भनेर उत्तर दिने काम जनताको नभएर सभापति देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल अर्को एक गुटको नेतृत्व गर्ने कृष्ण सिटौला हो । सरकार गफ र चुट्कामा बढी रमाएको, विभिन्न गलत निर्णय गरेको भनेर कांग्रेसले होइन स्वयम् नेकपाका बरिष्ठ नेता माधव नेपाल, पूर्व अध्यक्ष झलनाथ खनाल, बामदेव गौतम, भिम रावल, नेकपामा बुद्धीजिविका रुपमा परिचित घनश्याम भुसाल लगायत दर्जनौ नेताले भन्दै आएको हुरा हो ।
आफ्नै नेतृत्वमा भएको निर्वाचनमा तीनै तहको निर्वाचनमा सर्मनाक हार व्यहोरेको कांग्रेस आमुल परिवर्तन भएर अघि बढ्नुपर्न ेमा पुरानै ढर्राबाट अघि बढ्दा यो जागरण अभियानले कुनै फरक पार्ला जस्तो यो पंतिकारलाई लाग्दैन । केवल केपी ओलीलाई गाली गर्दैमा र आफ्नै पार्टी भित्रका एकले अर्काको सत्तोसराप गर्दैमा अभियानले सार्थकता पाउन सक्दैन । जागरण अभियान यसरी हुनुपर्ने थियो केन्द्रीय समितिमा भएका विवाद सर्वसम्मतबाट निराकरण गरी सात प्रदेशमा एउटै सवारी साधनबाट शेरबहादुर देउवा र रामचन्द्र पौडेल लगायतका नेता पुगेर सम्बोधन गरेपछि ।
यथार्थमा भन्नुपर्दा केपी ओली नेतृत्वको सरकार गठन हुँदा यसले लिएको प्राथमिकतामा शान्ति, समृद्धी र विकास थियो । सरकार बनेको एक वर्ष नाघिसक्दा पनि यि तिनै कुरा असफल सावित भइसकेका छन् । यस्तो बेला कांग्रेस एक ढिक्का भएर अन्य लोकतान्त्रिक शक्तिलाई समेत साथमा लिएर सरकारको गलत क्रियाकलाप पर्दाफास गर्नुपर्ने बेलामा जागरण अभियानको नाम लिएर निस्कनु र चुप लागेर बस्नु एकै हो ।