काठमाडौं, माघ ११ : राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ संसदले पारित गरेको छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको वेल घेराउ र नाराबाजीका बीच चिकित्सा शिक्षा विधेयक पारित भएको हो ।
बैठक सुरु हुनासाथ नेपाली कांग्रेसका सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए । छलफलका लागि समय दिए पनि कुनै पनि सदस्यले नाम नटिपाएपछि शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले विधेयक पारित गर्न गरेको प्रस्ताव बहुमतले पारित गरेको हो ।

कांग्रेसको अवरोधकै बीचमा शिक्षा मन्त्री गिरिराजमणि पोख्रेलले विधेयकमाथिको छलफलका लागि प्रस्ताव अघि बढाएका थिए। अवरोधका समयमा छलफलमा कुनै पनि सांसद सहभागी नभएपछि बहुमतका आधारमा चिकित्सा शिक्षा विधेयक पारित गरिएको हो। प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले सदन अवरुद्ध गरेका थिए ।
आफ्ना नेताद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेको अपस्ताललाई खारेज गर्न खोजेको भन्दै कांग्रेसले संसद बैठक अवरुद्ध पार्दै आएको थियाे । अर्को बैठक माघ १७ गते बस्ने गरी स्थगित भएको छ।