हेटौंडा, साउन ४: प्रमुख विपक्षी कांग्रेसले अवरोध गर्ने जनाएपछि प्रदेश नम्बर तीनको प्रदेश सभा बैठक अनिश्चितकालका स्थगित गरेको छ।
डा गोविन्द केसीको मागप्रति वेवास्ता गरेको भन्दै कांग्रेसले संसद चल्न नदिने बताएपछि प्रदेश सभा सचिवालयले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थागित गरेको सूचना टाँस गरेको जनाएको हो।
कांग्रेसले यसअघि पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको अध्यादेशको मर्म विपरित माफिया पोष्ने विधेयक संसदमा पेस गरेको, सभामुख र उपसभामुख एकै दलको भएको, भूकम्पपीडित प्रभावितलाई वेवास्ता भएको, मूल्यवृद्धि भएको, गिट्टी, ढुंगा, बालुवाको कर बढी भएको, संविधान विपरित आर्थिक विधेयकमा जनयुद्ध शव्द प्रयोग गरिएको विरोधमा बिहीबारको प्रदेश सभा बैठक कांग्रेसले अवरुद्ध गरेको थियो। अवरोध लगत्तै सभामुख सानुकुमार श्रेष्ठले बैठक शुक्रबार ११ बजेसम्मको लागि स्थगित भएको जानकारी गराएका थिए।
दुई सातापछि बिहीबार बसेको प्रदेश सभा बैठकमा प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको प्रतिवेदन पेश हुने कार्यसूची थियो।
बैठकमा ‘मुख्यमन्त्री-मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा परेका संशोधनसहितको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची भएपनि स्थगित भएका कारण हुन सकेन।