कस्तो होला ‘कोरोना युद्ध’पछिको विश्व ?

| 2020 Apr 01 | 03:24 pm 2769

■ देवप्रकाश त्रिपाठी

अरुले भोगेको दुःख ‘कथा’ मान्ने मान्छेहरू आफ्नै दुःखलाई मात्र ‘ब्यथा’ ठान्दछन् । त्यसैले मानव सभ्यताको इतिहासमा हाम्रा पुर्खाले भोग्नुपरेका पीडालाई हामीले पाठका रूपमा लिन खोजेनौँ, न तिनले दर्शाएको जीवनशैलीलाई पछ्याउन चाह्यौँ । पुर्खाले जोडिदिएको खेत बेचेर एकथान मोबाइल फोन किन्दा खुशीले ‘फुरफुर’ हुने ‘ब्रोइलर पुस्ता’का हामीले वास्तबमा जीवनलाई बुझ्न खोजेनौँ, दैहिक सुखको सपनामा भौँतारिँदा भौँतारिँदै न आफूलाई खुशी राख्न सक्यौँ न भोलिको पुस्तालाई बस्नयोग्य पृथ्वी हस्तान्तरण गर्ने भयौँ ।

पश्चिमा दर्शन भौतिकवादमा केन्द्रित थियो । उनीहरूले समाज के हो, शिक्षा के हो, अनुभव के हो, ज्ञान के हो, विकास के हो र सुविधा के हो जस्ता प्रश्नमा केन्द्रित भएर जवाफ खोजे र, एक हदसम्म सफलता पनि प्राप्त गरे । पूर्वीय दर्शनले भौतिक सुख–सुविधालाई मात्र गन्तव्य बनाएन । जीवन के हो, सृष्टिको रहस्य के हो, हामी किन यहाँ छौँ, सत्य के हो र सत्यको सत्ता के हो जस्ता प्रश्नहरूमाथि विचरण गरेर हज्जारौँ वर्षअघि हाम्रा ऋषिमुनिहरूले ज्ञान दिए, एउटा वैज्ञानिक जीवनपद्धति दिए । तर हामीले आफ्नो हिरातुल्य संस्कार र संस्कृति छोडेर अर्काको विलासी जिन्दगीको फेर समायौँ । सोच बदल्यौँ, संस्कार र संस्कृति बदल्यौँ, शिक्षा र शिक्षानीति अनुकरण गर्‍यौँ, नदीको बगरबाट एउटा ढुङ्गा ल्याउनु पर्दा त्यस स्थानमा बाहिरबाट दुईवटा ढुङ्गा लगेर राखिदिनु पर्ने हाम्रो मान्यता भत्काउँदै एकथान परिवार पाल्न नदीभित्रै डोजर चलाउने तहमा हामीले आफूलाई पुर्‍यायौँ ।

विज्ञानले विकास नगरेको होइन र, विज्ञानको विकास हुनु हुँदैनथ्यो भन्ने त झन् हुँदै होइन । तर हामीले गरेको विज्ञानको विकास केवल दुई विषयमा सीमित र केन्द्रित रह्यो । जीवनलाई सजिलो (सुविधायुक्त) बनाउने र मान्छेसँगको प्रतिष्पर्धात्मक युद्धमा आफू विजयी बन्ने बाहेकका विषयमा मानिसले समय, बुद्धि र धन लगानी गरेन । कुनै माओवादी हिंसात्मक युद्धमा आफ्नै दाजुभाइ मारेर क्रान्तिकारी बन्न खोजिएजस्तै संसारमा कथित शक्तिशाली देशहरू मानिससँगको दौडमा जित्ने र मानिससँगको लडाइँमा विजयी बन्ने प्रयासमा मात्र जुटिरहे । परिणामस्वरूप हामी एउटा भाइरसबाट पराजित हुनुपर्ने अवस्थामा आइपुग्यौँ । मानिसका लागि पृथ्वी सुरक्षित ग्रह होइन । आकाशबाट, जमिनमुनिबाट, आवाजबाट, हावा, पानी र तेजबाट मानिस जहिले पनि असुरक्षित छ, जब कि जीवनको आधार तत्व नै हाम्रा शास्त्रले यिनैलाई मानेका छन् । मानव–जीवनलाई असुरक्षा जहाँबाट छ त्यतापट्टि हामी कम सचेत र केन्द्रित रह्यौँ । केवल मान्छेबाट जोगिने प्रयासमा हाम्रा वैज्ञानिकहरू केन्द्रित भए, त्यसको परिणाम भोगिँदैछ ।

निकै ठूला कुरा गर्ने, ईश्वरको अस्तित्वमाथि प्रश्न उठाउने, भगवानहरूको विचार र व्यवहारमाथि समेत टीकाटिप्पणी गर्ने हामी मान्छे एउटा मामुली जिवाणुसँग डराएर कुटिमा कैद हुनुपरेको छ । यद्यपि यस प्रकारका महामारी मानव सभ्यताको इतिहासमा पहिलो पटक देखापरेको भने होइन । पटक–पटक अनेक नामका महामारी र सङ्कटको सामना मानिसले गर्दै आएको हो । सनातनी मान्यताअनुसार पाँच हजार तथा अन्य बुझाइअनुसार दुई हजार वर्षको इतिहासमा यतिबेला हामी जे भोग्दै छौँ, यसको अन्त्यपछि मानव सभ्यताले कोल्टे फेर्नसक्ने सम्भावना देखिँदैछ । एकथरी मानिस अन्तरज्ञानबाट वशीभूत भएर बदलिन्छन् भने साधारण मानिस घटनाबाट प्रभावित भएर परिवर्तन हुन्छन् । यो (कोरोना) महामारीले दुवैथरी मानिस बदलिने आधार खडा गरिदिएको छ ।

हामीले गरेको विज्ञानको विकास केवल दुई विषयमा सीमित र केन्द्रित रह्यो । जीवनलाई सजिलो (सुविधायुक्त) बनाउने र मान्छेसँगको प्रतिष्पर्धात्मक युद्धमा आफू विजयी बन्ने बाहेकका विषयमा मानिसले समय, बुद्धि र धन लगानी गरेन । कुनै माओवादी हिंसात्मक युद्धमा आफ्नै दाजुभाइ मारेर क्रान्तिकारी बन्न खोजिएजस्तै संसारमा कथित शक्तिशाली देशहरू मानिससँगको दौडमा जित्ने र मानिससँगको लडाइँमा विजयी बन्ने प्रयासमा मात्र जुटिरहे । परिणामस्वरूप हामी एउटा भाइरसबाट पराजित हुनुपर्ने अवस्थामा आइपुग्यौँ ।

मानिसहरू कसरी बदलिन सक्छन् भन्ने एउटा दृष्टान्त नेपालकै इतिहासमा पनि भेटिन्छ । सन् १८१५ को सुगौली सन्धिभन्दा अगाडी यहाँ बहादुरी र राज्य विस्तारका मात्र कुरा हुन्थे । शासक–प्रशासकहरू वीरताको कुरा गर्थे, लडाइँमा विजयी बन्ने योजना र कार्यक्रममै उनीहरूको समय बित्ने गर्थ्यो । साहित्य सिर्जनाको आधार पनि केवल वीरता र पौरखलाई मात्र बनाइन्थ्यो । नेपालीको घर–घरमा बहादुरीका कथा सुन्ने–सुनाइने गरिन्थ्यो । धारिला खड्ग, तरबार र खुकुरी बनाउन जान्ने मान्छे र तिनका गाउँको समेत चर्चा देशमा चल्ने गर्दथ्यो । तर जब सन् १८१५/१६ मा ब्रिटिससँगको युद्धमा नेपाल पराजित भयो र देशले धेरै ठूलो क्षति ब्यहोर्नुपऱ्यो, त्यसले हामीलाई पुरै बदल्यो । हिजोसम्म वीर रसका कविता लेख्ने कविहरू ‘आखिर रहेछ उनै परमेश्वर’ भन्ने प्रकारले भक्ति रसका कविता लेख्न थाले । बहादुरी, राष्ट्रियता र सीमा विस्तारका कुरा तलदेखि माथिसम्म हुन छोडे । त्यसपछि सत्ताकेन्द्रित राजनीतिक दाउपेचमा मात्र नेपाली राजनीति केन्द्रित हुन थाल्यो, जसबाट नेपाल अहिलेसम्म मुक्त हुन सकेको छैन ।

दोस्रो विश्व युद्धपछि पनि मानिसको सोच, जीवनशैली, सामाजिक–आर्थिक कार्यक्रम, राजनीति र विश्वस्थितिमा व्यापक परिवर्तन आएको हो । दोस्रो विश्वयुद्ध भन्दा अगाडि जर्मनी, जापान र इटालीको नाम जुन रूपमा लिइन्थ्यो त्यस (सन् १९४५) पछि अमेरिका, बेलायत र रसियाको नाम त्यसै रूपमा लिन थालिएको हो । दोस्रो विश्वयुद्धपछि संसारमा स्थिरताको स्थिति देखापऱ्यो, मानव जीवन भौतिक सुख–सुविधा आर्जन गर्ने दिशातर्फ मोडियो । कोरोनासँगको यो युद्धमा विजय प्राप्त भएपछि पनि संसार बदलिने प्रवल सम्भावनाका सङ्केतहरू देखिएका छन् । यसपछि देखिने सम्भावित परिवर्तनको अवस्था यो सानो लेखमा चित्रण हुन सम्भव नहोला, त्यसैले यहाँ सम्भाव्य परिवर्तनका झलकहरूबारे मात्र सामान्य चर्चा गर्न खोजिएको छ ।

(क) मनोवैज्ञानिक : कोरोनासँगको यो मौनयुद्धले सबैभन्दा ठूलो प्रभाव मनोवैज्ञानिक रूपमा पार्ने देखिन्छ । यतिबेला हरेक मानिसले आफ्नो वास्तविक औकात, हैसियत र धरातल बोध गरेका छन् । हामीले सोचेजस्तो, खोजेजस्तो, परिकल्पना गरिएजस्तो सिधा रेखामा जीवन हिँड्दो रहेनछ, जस्तो प्रकारका कल्पना र योजना बने पनि प्रकृति बक्री भएको क्षण हामी निरीह प्राणीमा रूपान्तरित हुनु पर्दाेरहेछ भन्ने महशूस अहिले संसारले गरेको छ । कमजोर मानसिकताका, भौतिकवादी चेतका र अज्ञानी मानिसमा कोरोना युद्धको असर निकै गहिरो, ब्यापक र दीर्घकालसम्म पर्न सक्ने देखिन्छ । त्यस्ता मानिसमा निरासाको मात्रा बढ्ने र समाजमा यसले बेग्लै प्रकारको क्षति पुऱ्याउन सक्ने सम्भावना रहन्छ । हज्जारौँ, लाखौँ मानिस मरेको, कैयन दिनसम्म गृहबन्दीका रूपमा रहनु परेको तथा आफ्ना सपना र योजना भत्किएका कुराले मानिसलाई धेरै पछिसम्म दुखाइरहने छ । ‘लक डाउन’को स्थितिबाट सामान्य जीवनमा फर्कन मानिसलाई निकै मुस्किल हुनेछ । त्यसैले राज्य र सरकारहरू कोरोनासँग लड्न असमर्थ भए पनि यो युद्धको अन्त्यपछि बाँचेका मानिसलाई सहज जीवनमा फर्काउन अहिल्यैदेखि बेग्लै ‘वीङ्ग’ खडा गरेर अध्ययन–अनुसन्धान गराउनेतर्फ लाग्नुपर्ने देखिन्छ ।

यतिबेला हामी जे भोग्दै छौँ, यसको अन्त्यपछि मानव सभ्यताले कोल्टे फेर्नसक्ने सम्भावना देखिँदैछ । एकथरी मानिस अन्तरज्ञानबाट वशीभूत भएर बदलिन्छन् भने साधारण मानिस घटनाबाट प्रभावित भएर परिवर्तन हुन्छन् । यो (कोरोना) महामारीले दुवैथरी मानिस बदलिने आधार खडा गरिदिएको छ ।

आध्यात्मिक चेतनाका मानिसमा कोरोना महामारीको असर न्यून रहने भए पनि साँचो अर्थका आध्यात्मिक मानिसको सङ्ख्या नै सानो हुने भएकोले यस्ता मानिसको ज्ञान र सक्रियतालाई उच्चतम उपयोग गर्न सक्नुपर्छ । दैहिक अर्थात् भौतिक सुखलाई मात्र सुख मान्ने सोचबाट मानिसलाई मुक्त गराउन कोरोनाले निकै ठूलो योगदान पुऱ्याउने छ । त्यसमा राज्य र धार्मिक–आध्यात्मिक अभियन्ताहरू समेतको योगदान जोडियो भने विश्व–मानवसमाजलाई सही मार्गदर्शन गर्न र सकारात्मक लयमा जीवन फर्काउन सकिनेछ ।

(ख) विज्ञानको विकास र वैज्ञानिक : अर्को ग्रह खोज्नु, देख्नु र त्यहाँसम्म पुग्ने यानहरूको परिकल्पना र विकास गर्नु, आवागमनका लागि उड्ने, गुड्ने र तैरने साधनहरूको आविष्कार गर्न सक्नु, श्रब्य र दृष्य सञ्चारको उच्चतम विकास गर्नु, रोगको पहिचान र उपचारका साधनहरू प्रयोगमा ल्याउन सक्नुदेखि ‘जिन कोड म्यापिङ’ गर्नुसम्मलाई हामीले विज्ञानको अधिक विकास भएको ठान्यौँ र, वैज्ञानिकहरू पनि यस्तै कुराहरूमा ज्यादै अलमलिए । अणु बम, परमाणु बम, लडाकु विमान, ड्रोन र अन्य घातक हातहतियारको विकासलाई पनि वैज्ञानिकहरूले निकै ठूलो उपलब्धि ठानेका हुन् । तर विज्ञानको विकासलाई कुन दिशामा डो ऱ्याउने र वैज्ञानिकहरू कुन विषयमा केन्द्रित हुनुपर्ने रहेछ भन्ने ज्ञान चेतना ‘कोरोना’ले दिएको छ । यसपछिको खोज र अनुसन्धान जीवन र जगतको रहश्य र रक्षामा केन्द्रित रहने गरी मोडिने सम्भावना बढेको छ । मान्छे विरुद्धको लडाइँमा विजयी हुने र भौतिक सुखका साधन प्राप्तिमा मात्र केन्द्रित रहेको विज्ञान र वैज्ञानिक अब पृथ्वीमा कुनै पनि बेला आइपर्ने अप्रत्याशित विपत्तिबाट सुरक्षित रहने विषयमा केन्द्रित रहने आशा पलाएको छ ।

(ग) राजनीति : दोस्रो विश्वयुद्धको समापनसँगै विश्व–राजनीतिमा प्रजातन्त्रवाद र साम्यवादमा आधारित दुई ध्रुवीय राजनीतिको सूत्रपात भएको थियो । तत्कालिक सोभियत संघ (रसिया) र चीनसहित विश्वका बाइस मुलुक कम्युनिष्ट विचारको नाममा शासित बनेका थिए भने बेलायत र अमेरिकालगायत दर्जनौँ मुलुकहरूले प्रजातान्त्रिक प्रणाली अवलम्बन गरेका थिए, छन् । सन् १९७८ मा चीनमा देङ सियाओ पिङको उदय र १९८९ मा सोभियत सङ्घको विघटनपछि मात्र साम्यवादी विचार पक्ष रक्षात्मक बनेको हो । कम्युनिष्ट विचारधारा त विश्व–जनमतबाट अस्विकृत भएकै छ, चीनले नामसम्म जोगाइराखेको भए पनि अहिले कम्युनिष्ट पार्टीमा आबद्ध मानिससमेत साम्यवाद आउने या स्थापना गर्न सकिनेमा विश्वास गर्दैनन् । जनताको सर्वोपरि हितका निम्ति राज्यको स्थापना भएको दर्शनमा विश्वास राख्ने प्रजातन्त्रवाद पनि व्यवहारतः सफल नरहेको देखिँदै छ र, ‘कोरोना’ ले त्यसलाई अरु टड्कारो बनाइदिएको छ । त्यसैले कोरोना–युद्धपछि साम्यवाद र प्रजातन्त्रवादभन्दा पनि लोक कल्याणकारी राज्य व्यवस्थाको नयाँ दिशामा विश्व जान सक्ने देखिन्छ । राजनीतिक प्रणाली जस्तोसुकै भए पनि त्यसले मानव कल्याण गर्नुपर्छ र, राजनीतिमा असल, इमानदार तथा क्षमतावान मानिस हुनुपर्छ भन्ने विचारको अभ्यास कार्यान्वयन तहमै गराउन सक्ने सम्भावना बढाएको छ । कोरोना–युद्धपश्चात विश्वमा राजनीतिक प्रणाली र राजनीतिकर्मीप्रति मात्र नभई राजनीतिप्रतिको जनदृष्टिकोणमै व्यापक परिवर्तन आउने सम्भावनाको जग ‘लकडाउन’कै क्रममा बसिसकेको छ ।

हरेक मानिसले आफ्नो वास्तविक औकात, हैसियत र धरातल बोध गरेका छन् । हामीले सोचेजस्तो, खोजेजस्तो, परिकल्पना गरिएजस्तो सिधा रेखामा जीवन हिँड्दो रहेनछ, जस्तो प्रकारका कल्पना र योजना बने पनि प्रकृति बक्री भएको क्षण हामी निरीह प्राणीमा रूपान्तरित हुनु पर्दाेरहेछ भन्ने महशूस अहिले संसारले गरेको छ ।

(घ) धार्मिक सांस्कृतिक परिवर्तन : कोरोना भाइरसको सङ्क्रमणले सनातन धर्म, संस्कृति र परम्पराको महत्व स्वात्तै बढाइदिएको छ । ईश्वर अर्थात् परमात्माका विषयमा वैदिक सनातनी सभ्यता स्पष्ट छ । सृष्टिको अस्तित्व ईश्वरीय शक्तिको कृपा भएकोमा वैदिक सनातनी सभ्यता दुविधामा छैन । तथापि, अनेकौँ विचार, दर्शन र बहस–छलफललाई सनातनीले आत्मसात गर्दै आएका छन् । ईश्वरको अस्तित्वलाई शतप्रतिशत नकार्ने चार्वाक दर्शनदेखि पदार्थ र चेतन दुवै तत्वलाई सृष्टिको आधार मान्ने कपिलमुनीको सांख्य तथा ईश्वरलाई स्विकार गर्ने वेदान्त, गीता, मिमान्सा, वैशेषिक आदि दर्शनको जगमा उभिएको सनातनी सभ्यताको गहिराइ बुझियो भने भिन्न मान्यताहरू छायामा पर्न सक्छन् । सनातनी संस्कृतिमा रहेको जीवनपद्धति उचित र वैज्ञानिक भएको पुष्टि ‘कोरोना’को आगमनले गरिदिएको छ । नमस्कार संस्कृति र मृत्य संस्कार (जलाउने) को वैज्ञानिकता तथा त्यसको औचित्य पनि यही समयमा मान्य हुन पुगेको छ । तुलसी, बर–पिपल र गाइको महत्व मात्र अब बुझिने नभई समग्र सनातनी जीवन पद्धतिलाई नै विश्वले स्विकार गर्दै जाने सम्भावना बढेको छ ।

(ङ) शिक्षा : पश्चिमाहरूद्वारा विकसित पाठ्यक्रम, शिक्षानीति र अन्तरवस्तुको परिणाम विश्वले अहिले ब्यहोरेको छ । विज्ञान, अध्यात्म, आत्मनिर्भरता र सेवालाई समेत आधार बनाएर नयाँ पाठ्यक्रम, शिक्षानीति र पाठ्यसामाग्रीको विकास जोडदार ढङ्गबाट हुनसक्ने छ र त्यो नै अबको आवश्यकता पनि हो । सुविधा भोग्न, एकथान परिवार पाल्न र आफूलाई मात्र केन्द्रमा राखेर अवसर खोज्न प्रेरित गर्ने शिक्षा प्रणालीको विकल्पमा आध्यात्मिक, वैज्ञानिक, नैतिकवान, संस्कारी, परोपकारी र स्वावलम्बी स्वभाव–चरित्रका मानिस उत्पादन गर्न ‘कोरोना आगमन’ले विश्व–समुदायलाई प्रेरित गरेको छ ।

(च) शक्ति सन्तुलन र विश्व व्यवस्था : कोरोना महामारीबाट विश्वले भोग्ने क्षतिको अनुमान अहिले गर्नु हतार हुनेछ, किनभने यतिबेला विश्वका सबै मुलुकहरू मानवीय क्षति हुन नदिनेतर्फ मात्र केन्द्रित भएका छन् । यसबाट भएको आर्थिक, भौतिक र सामाजिक क्षतिको विवरण ‘कोरोना’को पराजयपछि मात्र प्राप्त हुनेछ । युरोपमा पुनर्जागरणको युग शुरु भएलगत्तै पश्चिमी मुलुकहरूबीच होडबाजीको अवस्था पैदा भएको हो । अर्थ र सैन्य बलमा विज्ञान, प्रविधि र प्रणालीसमेत जोडिएर अमेरिका विश्वको शक्तिशाली मुलुक बन्न सफल भएको हो । कुनै समय चराको विष्टा बेचेर पनि देश धनी हुने स्थिति थियो भने कोइला र ग्यास मात्र बिक्री गरेर धनी बनेका मुलुक पनि छन् । गाइको दूध र भेडाको ऊन निर्यात गरेर समेत देश धनाढ्य भएका छन् । जापान र दक्षिण कोरिया निर्यातमुखी औद्योगिक उत्पादनबाट सम्पन्न बनेका हुन् । सैन्य बलका मात्र दृष्टिले उत्तर कोरिया अनि प्रतिव्यक्ति आम्दानीका दृष्टिले सिङ्गापुर र दक्षिण कोरियालाई बलियो मुलुक मानिन्छ । तर विश्वकै शक्तिराष्ट्र बन्न अर्थ, सैन्य र प्रविधिका साथमा विश्व–जनमतको समर्थन पनि अपरिहार्य मानिन्छ ।

सोभियत संघको पतनपछि विश्वको एक्लो अधिपति अमेरिका बनेको यथार्थ हाम्रो सामुन्ने छ । केही वर्षयता अमेरिकालाई चुनौती बन्दै आएको छ चीन, जसले ‘कोरोना युद्ध’मा आफ्नो सामथ्र्य दर्शाउने सफलता प्राप्त गरेको छ । कुनै एउटा मुलुक महाशक्ति राष्ट्र बन्न त्यहाँ प्रजातन्त्र, मानवअधिकार र कानूनी शासन नै हुनुपर्छ भन्ने सर्त पहिले पनि लागु भएको थिएन, सोभियत सङ्घ कम्युनिष्ट पार्टीको एकदलीय अधिनायकवादी व्यवस्थासहित महाशक्ति राष्ट्र बनेको थियो । त्यहाँको सङ्घीयता नै अन्ततः पतनको मूख्य कारणका रूपमा देखापरेको हो । नब्बे प्रतिशत भन्दा बढी एउटै जाति (हान)को बसोबास रहेको चीनले पछिल्लो समयमा गरेको औद्योगिक, प्राविधिक, आर्थिक र सैन्य शक्तिको विकासले उसलाई महाशक्ति राष्ट्र बन्ने गन्तव्यतर्फ डोऱ्याएको ‘कोरोना प्रकरण’ले चीनलाई एउटा समर्थवान राष्ट्रका रूपमा विश्वमाझ उभ्याएको छ । तीस करोड जनसङ्ख्या रहेको अमेरिकाले विपत्तिमा आफैंलाई व्यवस्थापन गर्न सकेन, जबकि सिङ्गै संसारले अमेरिकाबाट ठूलो आशा राखिरहेको थियो । तर चीनले आन्तरिक व्यवस्थापन गरिकन विश्वमै सहयोगीको हैसियतमा आफूलाई प्रस्तुत गर्‍यो । यसको प्रभाव कोरोना युद्ध अन्त्यपश्चात झनै पर्ने देखिन्छ । चीनको भाषा, त्यहाँको राजनीतिक प्रणाली र नागरिक स्वतन्त्रता ऊ आफैंमा महाशक्ति बन्न बाधक हुने देखिँदैन । र, चीन महाशक्ति राष्ट्र बन्नुको अर्थ अमेरिकाचाहिँ शक्तिहीन बन्नु पनि होइन । ठूलो जनसंख्या भएर पनि भारतले महामारीबाट आमनागरिकको रक्षा गर्न या क्षतिको मात्रा न्यून गराउन जुन व्यवस्थापकीय क्षमता देखायो, त्यति क्षमता पनि पश्चिमा राष्ट्रले दर्शाउन सकेनन् । ज्ञान, संस्कृति र उत्पादन क्षमताले भारतलाई एउटा महाशक्ति राष्ट्रमा रूपान्तरण गर्न असम्भव होइन । प्राविधिक र आर्थिक दृष्टिले समेत सम्पन्न हुन थप समय लाग्ने देखिए पनि कोरोना–युद्धपछि विश्वमा भारतको समेत हैसियत वृद्धि हुने सम्भावना छ । तर चीनले आफ्नो आधारहरू मजबुत बनाइसकेको र विश्वमा आफ्नै ढङ्गले प्रभाव विस्तार गर्न सफल भएकोले निकट भविष्यमै चीनको हैसियत थप विस्तारित र ऊँचो हुने सम्भावना देखिन्छ ।

तीस करोड जनसङ्ख्या रहेको अमेरिकाले विपत्तिमा आफैंलाई व्यवस्थापन गर्न सकेन, जबकि सिङ्गै संसारले अमेरिकाबाट ठूलो आशा राखिरहेको थियो । तर चीनले आन्तरिक व्यवस्थापन गरिकन विश्वमै सहयोगीको हैसियतमा आफूलाई प्रस्तुत गर्‍यो ।

माओको समयमा राजनीतिक विचार र सिद्धान्तका आधारमा अन्य देशलाई हेर्ने र व्यवहार गर्ने काम चीनले गर्थ्यो भने पनि अहिले विचार, सिद्धान्त र प्रणालीप्रति चीन निरपेक्ष रहने गरेको छ । अमेरिकाले बरु उसबाट सहयोग प्राप्त गर्न प्रजातन्त्र र मानवअधिकार लगायतका शर्त निर्धारण गरेको छ, तर चीनले गैरकम्युनिष्ट मुलुकलाई समेत सहयोग गर्ने गरेको, कुनै मुलुकमा जाति, धर्म एवम् क्षेत्रका नाममा मानिसलाई भड्काउने काम नगरेकोले चीनप्रतिको विश्व–दृष्टिकोणमा परिवर्तन नआउला भन्न सकिँदैन । अमेरिका झैँ विश्वका सबै देशका नागरिकको साझा आस्था र विश्वासको थलो चीन बन्ने कल्पना अहिले गर्न सकिँदैन । खुला समाज र पश्चिमले अपनाएको पद्धतिमा चीनले आफूलाई लैजान सक्ने सम्भावना पनि देखिँदैन । अमेरिकाको झैँ प्रतिष्ठित शैक्षिक केन्द्र र विश्वासको विकास गर्न गर्न चीनलाई समय लाग्ने देखिन्छ । तथापि चीनको ‘महाशक्ति राष्ट्र’ बन्ने बाटो छोटिएको यथार्थलाई अब अस्विकार गर्न सकिंदैन । कोरोना प्रकरणको अन्त्यपश्चात अमेरिका ‘रक्षात्मक महाशक्ति राष्ट्र’को हैसियतमा रहने र चीन ‘महाशक्ति राष्ट्र’ बन्ने दिशामा तीव्रतर गतिका साथ अघि बढ्ने सम्भावना छ ।

‘कोरोना युद्ध’को अन्त्यपछि मानिसको सोच, मनोविज्ञान, जीवनशैली र विश्व व्यवस्थामा परिवर्तन आउने सम्भावना दर्शाएको छ । विश्वमा सबैभन्दा ठूलो असर अर्थतन्त्रमा पर्ने स्पष्ट छ । खासगरी शहरिया जीवनलाई गम्भीर असर पर्ने देखिन्छ । रोजगारीका नयाँ अवसर र स्थानको खोजिमा मानिसहरूले भौँतारिनुपर्ने छ । आर्थिक सङ्कटकै कारण संसारका मानिसहरू आफ्नो ‘कोर्श’ बदल्न बाध्य हुने छन् । कोरोनाअगाडि पृथ्वी जस्तो थियो, कोरोनापछि त्यस्तै रहने छैन । ठुल्ठूला औद्योगिक विकास र यान्त्रिक जीवनपद्धतिको सट्टा अग्र्यानिक र स्वनिर्वाहमुखी जीवन व्यवस्थाले प्राथमिकता पाउने सङ्केतहरू देखिँदै छ । नेपाल जस्तो मुलुक त अहिलेभन्दा केवल चार–पाँच दशकअघिको जीवनशैलीमा फर्किएर पनि आफैंमा समृद्ध बन्न सक्नेछ । जडिबुटी, अग्र्यानिक अन्नबाली, गाँजाखेतिको वैधता र पर्यटन व्यवसायबाट नेपालीको जीवनमा सकारात्मक परिवर्तन आउने आशा गर्न सकिन्छ । विश्व जनमत पनि हातहतियार र शक्तिको प्रतिष्पर्धाबाट मुक्त रही सरल र शान्त जीवनमा प्रवेश गर्न सक्नेछ । कोरोनापछि अति राष्ट्रवादी भावना र तद्अनुरूप अभ्यासको सम्भावना नरहेको होइन, तर आध्यात्मिक चेतको विस्तारले मानिसमा विश्व भाइचाराको भाव र वातावरण तथा प्राणी रक्षाउन्मुख व्यवहारको वृद्धि गराउने स्थिति देखिएको छ । यो महामारीपछि पनि संसार बदलिएन र हामीले चेतेनौँ भने निकटको प्रलयबाट मानवको रक्षा गर्न कसैले पनि सक्ने छैन, मानव रक्षाको सवालमा त्यतिबेला ईश्वरले पनि पराजित महशुस गर्नेछन् । घटना र विचारबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.