गुल्मी, जेठ ६ः कवि भेषबहादुर कुँवर “प्रयासी”को वार्षिक तिथिको अवसर पारेर गुल्मी जिल्लाको सदरमुकाम तम्घास स्थित किरण पुस्तकालयले हाम्रो पुरुषार्थ कवि “प्रयासी” स्मृति अंक प्रकाशन गरेको छ ।
लामो समय शिक्षण सेवामा बिताएका कवि “प्रयासी”ले जिल्ला र क्षेत्रीय स्तरमा, साहित्य, लोक संगीत र समाजसेवामा महत्वपूर्ण योगदान पुर्याउनु भएको थियो ।
कुशल गायक र गीतकारका रुपमा राष्ट्रिय तहमा पनि परिचित कवि “प्रयासी” का विभिन्न लोक गीतहरुको रेकर्ड भई रेडियो नेपालबाट समेत प्रसारण भएका थिए ।
कवि “प्रयासी” को जन्म २००५ साल भदौ १९ गतेका दिन भएको थियो भने उहाँले ७२ वर्षको उमेरमा २०७६ साल जेठ १७ गतेका दिन मृत्युवरण गर्नु भएको थियो ।
सादगीपूर्ण जीवनका उत्प्रेरक उहाँले शिक्षण सेवामा ३४ वर्ष, किरण पुस्तकालयबाट त्रैमासिक रुपमा प्रकाशित हुने हाम्रो पुरुषार्थको सहायक सम्पादकका रुपमा ४५ वर्ष र नेपाल स्काउटको जिल्ला कार्य परिषद्को जिल्ला आयुक्तको रुपमा २० वर्ष योगदान पुर्याउनु
भएको थियो ।
उहाँका महत्वपूर्ण प्रकाशित काव्य कृतिहरु “बादल”, “बाईस तरङ्ग”, “घुम्तीहरुका आभास” र “मेरा केही अनुभूतिहरु” रहेका छन्, भने कैयौँ कविताहरु विभिन्न पत्रपत्रिकाहरुमा प्रकाशित भएका छन् ।
नेपाली साहित्यका प्राध्यापक एवं समालोचक पदमप्रसाद पाण्डे कवि प्रयासीलाई “प्रकृतिका गायक” र “प्रकृतिप्रेमी कवि” को रुपमा स्मरण गर्दछन् ।
कवि प्रयासीका कृतिहरुको गहन अध्ययन विश्लेषण गरेका पाण्डेले बिशेषांकमा कवि प्रयासीका कृतिहरुको समालोचना गर्दै लेखेका छन् ।
उनका उपलब्ध कविताहरूको सरसरती अध्ययन गर्दा उनका कवितामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्वच्छन्दतावादी शैलीको प्रभाव रहेको प्रतीत हुन्छ ।
गायकका रूपमा उनमा धर्मराज थापाको झझल्को मिलेझैं कवितामा देवकोटाको झल्को पाउन सकिन्छ ।
उनका कविताहरू निजी जीवन भोगाइको अभिव्यक्तिमा मात्र सीमित नरही राष्ट्रिय सन्दर्भ र युग जीवनको अभिव्यक्तिसम्म विस्तारित भएका छन् ।
प्रकृतिप्रेम र अतीतप्रेमको रोमान्सेली भावका साथै उच्च भावनात्मकता, कारूणिकता र मानवताको प्रयोगले कवि प्रयासी स्वच्छन्दतावादी कवि ठहर्छन् ।
माटोप्रतिको ममता, श्रमप्रतिको आस्था, बेथिति र शोषणप्रतिको आक्रोश, निन्न वर्गीय जीवन भोगाइको अभिव्यक्ति, गरिबी र अभावको पीडा, इतिहास र पुर्खाप्रतिको गौरव, अग्रजप्रतिको सम्मान, भाषिक सरलता, वैचारिक गहनता र जीवनवादी दृष्टिकोण कवि ‘प्रयासी‘का मूल काव्यप्रवृत्ति मान्न सकिन्छ ” ।
अहिले कोरोनाले विश्वभर सिर्जना गरेको अप्ठ्यारो परिस्थितिमा यो स्मृति अंक प्रकाशित गरेतापनि परिस्थिति सामान्य भएपछि मात्र लोकार्पण गरी पाठकहरु माझ प्रस्तुत गरिने हाम्रो पुरुषार्थका सम्पादक शशि पन्थीले बताउनु भयो ।
गुल्मी जिल्लाका लोकप्रिय कविको स्मृतिमा विशेषांक प्रकाशन गरेर किरण पुस्तकालय गुल्मीले प्रशंसनीय कार्य गरेको छ ।