काठमाडौं, जेठ २१ः चर्चित लोकगायिका कल्पना दाहालले ‘कोर्ट म्यारिज’ गरेकी छन् । मंगलबार काठमाडौं जिल्ला अदालतमा उनको अदालती बिहे भएको हो । सोमबार बिहे दर्ताका लागि अदालत पुगेकी उनले मंगलबार मात्र विवाह दर्ताको प्रमाणपत्र पाएकी हुन् ।
दाहालले अमेरिका निवासी पुण्यप्रसाद आर्चायसँग बिहे गरेकी हुन् । मंगलबार दिउँसो साढे १ बजे विवाह दर्ताको प्रमाणपत्र लिएको अदालत स्रोतले जानकारी दियो ।
उनीहरुको विवाहमा परिवारका सिमित सदस्य मात्र साक्षीका रुपमा गएका थिए । विवाह दर्ताको प्रमाणपत्र लिएपछि बेहुला बेहुलीले काठमाडौं जिल्ला अदालतलाई पृष्ठभूमि बनाएर फोटो खिचाएर हतार हतार बाहिरिएका थिए ।
गायिका दाहालले आफ्नो बिहे सार्वजनिक नगरेपनि जिल्ला अदालत काठमाडौं स्रोतले भने उनको बिहेको पुष्टि गरेको छ । गायिका दाहालका थुप्रै लोकदोहोरी गीतहरू चर्चित रहेका छन् ।