कलेज खर्च जुटाउन सुन तस्करीमा!

| 2018 Oct 03 | 04:56 pm 7592

काठमाडौं असोज १७ : काठमाडौंको तारकेश्‍वर नगरपालिका-२ बाट पाँच किलो सुनसहित एक जनालार्इ पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसरको टोलीले  मंगलवार केरुङ नाका हुँदै काठमाडौं भित्र्याउन लागेको सुन सहित १८ वर्षीय सोबहादुर तामाङलाई पक्राउ गरेको हो।

प्रहरीले तामाङलाई मंगलवार साँझ पक्राउ गरे पनि बुधबार मात्रै सार्वजनिक गरेको छ । विशेष सुचनाको आधारमा प्रहरीले उनीलाई चेकजाँच गर्ने क्रममा ५ किलो सुनसहित पक्राउ परेका १८ वर्षीय सो बहादुर काठमाडौंको एक कलेजमा कक्षा १२ मा अध्ययन गर्छन् ।

बिदाको बेला घर गइरहने सो बहादुरको केही समय अगाडि चिनियाँ व्यापारीसँग चिनजान भएका थिए । बहादुरसँग चिनियाँ व्यापारीले एक पटकको कामबाट कलेजको ‘फी’देखि अन्य दैनिक खर्च गर्न पुग्ने पैसा दिने प्रस्ताव राखेका थिए । चिनिय व्यापारीले ठूलै पैसा दिने भनेपछि मंगलवार कम्मरमा लगाएको पेटी र जुत्तामा सुनका डल्ला कोचेर काठमाडौं आएका थिए ।

पक्राउ परेकाहरु भरिया मात्र हुन्। मुख्य तस्कर नत सुन भरियाले चिनेका छन् नत प्रहरी नै पत्ता लगाउन सकेका छन्। सुन तस्करीहरूले संगठित रुमा तह तह बनाएर तस्करी गर्ने गरेको प्रहरीको दाबी छ।

उनलाई सामाजिक सञ्जाल वीच्याटमा सम्पर्क व्यक्तिको विवरण दिइएको थियो । काठमाडौं पुगेपछि चीनमा भएका व्यक्तिलाई वीच्याटमा खबर गरे सुन लिने व्यक्ति आउने भन्ने निर्देशन दिइएको थियो । सुन कसलाई दिने र कहाँबाट ल्याउने च्याटमा नै गफ हुने गरेकाे बताए। तर च्याटबाट केही पत्ता लाग्न सकेको छैन।

पक्राउ परेका तामाङले सुन बौद्धमा लगेर बुझाउने योजना रहेको बताए। तामाङले भने, ‘दोर्जे भन्ने व्यक्तिलाई सुन दिनु भनेर मलाई भनिएको थियो।’ प्रहरीले तामाङलाई पक्राउ गरेपछि गोप्य रुपमा अगाडी नै योजना भएअनुसार सुन बुझाउने ठाउँमा तामाङलाई लग्यो। तर सुन लिन दोर्जे आएनन्।

उनले कम्मरमा लगाएको कपडाको पेटीमा पकेट बनाएर १–१ किलोको ३ टुक्रा सुन लुकाएका थिए भने दुवै खुट्टामा १–१ टुक्रा सुन लुकाएका थिए । प्रहरीले सो बहादुरबाट बरामद भएको सुनको बजारमूल्य २ करोड ५० लाख रुपैयाँ बराबर भएको बताएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.