कविता – खगेश्वर काेइराला
सिनेमा बने पारखी टन्न मन्न
युवती नाचे युवकको प्रेमी बन्न
रङ्गी विरङ्गी मेक अप लाली पाउडर
ल्गाउन थाले म्याक्सी र ट्राउजर
एक वित्ता एँडी नापे हुन्छ जुत्ता
लगाउँछन् टयाक्क हिँडे फुत्त फुत्त
ओठ लाली रातो गालामा गनाउने
पाउडर धसेका सडक मगमगाउने
छाती उच्च उच्च आकर्षण दिलाउने
कतै खुम्चिजाँदा हेरी फेर मिलाउने
टमक्क, पटक्क फुटी जालान् जस्ता
प्रकृतिको देनले भएका छन् सस्ता
शोभा दिने कपाल घोडाको छरी झैँ
काटी चट्ट पारी उड्ने चरी झैँ
झिमिक्क आँखा मरक्क कम्मर
परक्क मुन्टो बने एक नम्बर
हावा छिर्ने ठाउँ कतै देखिँदैन
फेसनदेखि बीच अरु केही छैन
हिडे ठाँटबाँट घर छोडी अन्त
त्यतातिर फर्की कोही हेरिदिउन् त
चित्त बुझाउने कुनै बाटो छैन
त्यसैले त होला ग¥या धेरै चैन
युवकलाई देखी मसक्क मस्किने
जीवन गयो भन्दै झसक्क झस्किने
कानूनी बन्धन सबैमा बराबर
उमेर ढल्की जाने हेर्दैमा सरासर
के गरुन् बिचरीहरु सब दङ्ग
कारण यो नै होला चरित्र सब भङ्ग
सिँगार पटार तँछाडी मछाडी
कोही नबन्ने कसैको पछाडि
सट कोट पेन्ट पुरुषको फेसन
लिन शुरु गरे विदेशी फेसन
शिरमा टोपी लाउन अब बाँकी रह्यो
कटीले केटा बन्ने बेला आयो
केही गल्ती हुँदा पुरुष बोली दिए
चरर बाझ्ने डाको खोली लिए
इज्ज्त बचाउन चुपचाप बस्नु पर्ने
परिवर्तित नारीदेखि डर्नु पर्ने
त्यसैले,
हे दिदी बहिनी छोरी र बुहारी
यो मनले भन्छ सबैलाई गुहारी
हिन्दु संस्कार नारीलाई सुहाउने
गर्नु पर्छ काम समाज बनाउने ।
(यात्रा कविता सङ्ग्रहमा प्रकाशित यो कविता कविले २०३५ साल मंसिर १२ गते लेखेका हुन् ।)