कालिकोट, भदौ १५ । स्कुल छाडेको तीन वर्ष भयो अब कसरी झोला भिरेर स्कुल पढ्न जाने ? यो भनाइ खाँडाचक्र नगरपालिका–६ गोरालबाडाकी १७ वर्षीया पानकौरा गोरालको हो । पानकौरा अहिले वर्षले १७ पुगिन् । कक्षा ६ मा पढ्दै गर्दा उनले विवाह गरिन् । १४ वर्षको उमेरमा भागेर विवाह गरेकी पानकौरालाई पढाइ छाडेर कलिलो उमेरमा विवाह गरेकोमा भने अहिले ठुलै पछुतो छ ।
अशिक्षा र अज्ञानताका कारण कक्षा ७ पढ्दा पढ्दै उनको गाउँकै एक केटासँग मायाप्रेम बस्यो । त्यसबेला उनी वर्षले १४ मात्र थिइन् । उनलाई कलिलो उमेरमा विवाह गर्दा भविष्यमा के कस्ता समस्या आउँछन्, बालविवाह कानुनी रूपमा अपराध हो भन्नेसमेत थाहा थिएन । कक्षा ७ पढ्दापढ्दै उनको पढाइमा पूर्णविराम लाग्यो ।
१४ वर्षमा विवाह गरेकी पानकौराको १५ वर्षको उमेरमै एक सन्तान जन्मियो । त्यसपछि उनी घरजम गरेर बसिन् । अहिले उनी अनौपचारिक शिक्षा पढिरहेकी छन् । उनी भन्छिन्, ‘मसँगै पढ्ने साथीसंगीले अहिले एसइई दिइसके, मलाई भने अहिले कक्षा ७ को कक्षाकोठामा कसरी पढ्न जाने मनले मान्दैन । आफ्नो उमेर ठुलो भइसकेको छ, अरू सानै उमेरका छन् ।
स्कुल पढ्न मन मान्दैन, स्कुल नपढांै भोलि मेरो भविष्य के होला ?’
उनको घरनजिकै विद्यालय थियो । सरकारले कक्षा १० सम्म निःशुल्क र अनिवार्य शिक्षाको कार्यक्रम ल्याएको भए तापनि सानै उमेरमा विवाह बन्धनमा बाधिँदा उनले घरपरिवारको थप जिम्मेवारीका कारण पनि विद्यालय छोड्नुपरेको थियो ।
‘मेरा बाबुआमाले मेरा लागि शिक्षा सामग्री (कापी–कलम आदि) किन्न सक्नुभएन,’ पानकौराले भनिन्, ‘विवाह गरिसकेपछि आफ्नै माइती घरजस्तो नहुँदो रैछ । पराइको घरमा पुग्दा घरको काम सघाउन मैले स्कुल छोड्नुप¥यो, यही अवस्थामा समाज जागरण केन्द्र स्याक नेपालले अहिले अनौपचारिक शिक्षा दिएकाले सजिलो भएको छ ।’ ‘म पढाइलाई निरन्तरता दिन चाहन्थें तर त्यति लामो समयसम्म स्कुल छुटेपछि फेरि स्कुल फर्किन मलाई आँट नै आएन,’ उनले थपिन्, ‘स्याक नेपालले मलाई यस स्कुलको वास्तविक गेटबाट भित्र छिर्न आत्मविश्वास दिलायो ।
अहिले उही विद्यालय र उही कक्षामा भर्ना भएकी छु, मलाई स्कुल आउन एकदम रमाइलो लाग्छ र लेख्न अनि पढ्न मलाई एकदम मनपर्छ ।’ पानकौरा मात्र होइनन् सोही गाउँकी १६ वर्षीया कमला परिवार र १५ वर्षीया जुवारा गोरालको पनी १३ वर्षमा विवाह भयो । उनी पनि कक्षा ४ मा पढ्दै थिइन् । १३ वर्षको कलिलो उमेरमा विवाह हुँदा उनले पनि पढाइ बिचमै छोड्नुप¥यो ।
उनी पनि अहिले सोही अनौपचारिक शिक्षा पढिरहेकी छन् । पानकौरा, जुवारा र कमला प्रतिनिधि पात्र मात्र हुन । यहाँको समुदायमा अझै पनि स्कुल जानबाट वञ्चित बालबालिका धेरै छन् । गाउँनजिकै स्कुल हँुदा पनि बिचैमा स्कुल छाडेर विवाह गर्ने, भागेर भारत जाने गरेको स्कुलका प्रधानाध्यापक अग्रबहादुर शाहीले बताए ।
पानकौरा, कमला र जुवारालाई विद्यालय र स्याक नेपालको सहयोगमा खोजीखोजी ल्याएर अनौपचारिक शिक्षा दिइएको शाहीले बताए । ‘उनीहरूको उमेरलाई मध्यनजर गरेर स्कुल भर्ना गरेका हौं, उनीहरू अहिले स्कुलमा नियमित पढिरहेका छन्,’ प्रधानाध्यापक शाहीले भने । यस कार्यक्रमले बालिकालाई साक्षर बनाउने मात्र नभई बालविवाह, महिलाविरुद्धको हिंसा, लिंग तथा जातिका आधारमा हुने भेदभावजस्ता सामाजिक कुरीतिको सामना गर्न पनि सिकाएको शाहीको भनाइ छ ।
समाज जागरण केन्द्र स्याक नेपालअन्तर्गत सञ्चालित विद्यालयबाहिर रहेका किशोरकिशोरीका लागि शिक्षा र जीवनोपयोगी सिपमा अवसर परियोजना र खाँडाचक्र नगरपालिकाको समन्वयमा सो कार्यक्रम सञ्चालन गरिएको हो । परियोजनाले विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालय जान प्रेरित गराउने उद्देश्यले नगरपालिकामा १७ वटा कलस्टर बनाएर अनौपचारिक शिक्षा दिएको भेटिएको छ ।
स्याक नेपालका जिल्ला संयोजक हरिभक्त तिवारी, खाँडाचक्र नगरपालिका उपप्रमुख गाणेशबहादुर शाही, युनिसेफका प्रतिनिधि फर्सुराम पन्त, शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय प्रमुख प्रशास धिताल, नगरपालिका शिक्षा शाखा प्रमुख बलिराज शाहीलगायतका जिल्लाका शिक्षासँग सरोकार राख्ने सरोकारवालाको सहभागितामा अनुगमन गरिएको थियो ।(राजधानीबाट)