कलासंस्कृतिमा आफ्नो समयको इतिहास प्रतिबिम्बित हुन्छ– सभामुख महरा

रिपोर्ट नेपाल | 2019 May 04 | 07:09 pm 2186

काठमाडौं, वैशाख २१: सभामुख कृष्णबहादुर महराले शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीलाई सम्मान गरेका छन् । नेपाल ललितकला पत्रकार समाजले शनिबार नेपाल कला परिषद् काठमाडौंमा आयोजना गरेको विशेष समारोहमा सभामुख महराले जोशीलाई सम्मान गरेका हुन ।

आयोजक ललितकला पत्रकार समाजले पत्रकारितामार्फत् कलासंस्कृति र इतिहासको क्षेत्रमा विशिष्ट योगदान पु¥याएको भन्दै जोशीलाई ताम्रपत्रसहित सोफाज पत्रकारिता सम्मान गरेको थियो ।

उक्त अवसरमा सभामुख महराले शताब्दी पुरुष जोशीले कला, संस्कृति र साहित्यका क्षेत्रमा गरेको योगदान, अध्ययन, अनुसन्धानको प्रशंसा गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख महराले कला, संस्कृतिमा आफ्नो समयको इतिहास प्रतिबिम्बित हुने बताए । संविधानमा नेपाललाई बहुसाँस्कृतिक, बहुधार्मिक, बहुभाषिक र बहुजातीय भनेर परिभाषित गरेको चर्चा गर्दैै सभामुख महराले भने ‘संविधानमा उल्लेख गरिएको नेपालको सबै विशेषता कलासंस्कृतिमा अभिव्यक्त हुन्छ । जातजाति, भाषा, संस्कृति र धर्मको समुच्च रुप कला हो ।’

पत्रकारिताका विविध आयाममध्ये कला–संस्कृतिसम्बन्धी रिपोर्टिङ निकै कठिन र संवेदनशील रहेको बताए । नेपाल कला, संस्कृति र परम्पराका हिसाबले निकै धनी भएको भन्दै सभामुख महराले कला–संस्कृति बिटको पत्रकारितामार्फत् राज्यलाई आकर्षित गर्न जरुरी रहेकोमा जोड दिए ।

देशका कुना काप्चामा रहेका कला संस्कृति र प्रतिभाहरु अहिले पनि ओझेलमा परिरहेको चर्चा गर्दै सभामुख महराले सबैलाई समेट्ने उद्देश्यले नै देशमा संघीय प्रणाली अपनाइएको बताए । सभामुख महराले भने ‘संघीयताको अर्थ देश विभाजन गर्ने भनेको होइन, यो त व्यक्ति र समुदायमा अन्तरनिहित शक्ति, सीप कला संस्कृतिलाई उजागर र सम्बोधन गर्ने भनेको हो, देशका कुनाकाप्चामा रहेका कला–संस्कृतिलाई राज्यले फराकिलो भएर समेट्नुपर्छ भन्ने सुझावमा तपाईंहरुको योगदान होस् ।’

कार्यक्रममा सम्मानित व्यक्ति शताब्दी पुरुष सत्यमोहन जोशी, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका अध्यक्ष पुरस्कार छनौट समितिका संयोजक अग्रज पत्रकार श्याम रिमाललगायतले मन्तव्य दिएका थिए ।

यसका साथै सभामुख कृष्णबहादुर महराले लिम्बू भाषाको चलचित्र ‘के साङ्ला’को विशेष प्रदर्शनीको उद्घाटन तथा अवलोकन गरेका छन् ।
सभामुख महराले चलचित्र प्रदर्शनअघि लिम्बू समुदायको महत्वपूर्ण बाजाको रुपमा रहेको च्याब्रुङलाई के साङ्लाले बजाएर औपचारिक रुपमा उद्घाटन गरेका हुन् । झापाका मृगौलापीडित निर्मल लिम्बूको सहयोगार्थ शनिबार कमलपोखरीस्थित सिटी सेन्टर विग मुभिजमा चलचित्रको विशेष प्रदर्शनी गरिएको थियो ।

चलचित्र प्रदर्शन हुनुअघि आयोजित औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख महराले नेपाल विविध जातजाति, भाषा, कला संस्कृतिको धनी भएको बताए । चलचित्र ‘के साङ्ला’ले लिम्बू जातिको भाषा, संस्कृति र कलाको संरक्षण एवं सम्वद्र्धनमा महत्वपूर्ण योगदान दिएको चर्चा गर्दै सभामुख महराले आफ्नो इतिहास, संस्कृति र परम्पराको संरक्षणमा जागरुक भई लागेकोमा चलचित्र युनिटको प्रशंसा गरे ।

चलचित्र बनाएर व्यवसाय गर्ने भन्दा आफ्नो मौलिक कला संस्कृतिको संरक्षण एवं समाजसेवातर्फ लागेकोमा खुशी व्यक्त गर्दै सभामुख महराले चलचित्रको आम्दानीबाट मृगौलापीडितलाई सहयोग गर्ने कार्य निकै सह्रानीय भएको बताए ।

उक्त अवसरमा मृगौलापीडितका लागि देश तथा विदेशबाट संकलन गरिएको सहयोग तथा फिल्म युनिटले टिकटबाट प्राप्त गरी जम्मा भएको १ लाख ६३ हजार रकम सभामुख महराले मृगौलापीडित निर्मल लिम्बूलाई हस्तान्तरण गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.