वीरगंज, साउन १३ : वीरगंज महानगरपालिकाले कर वृद्धि गरेको विरोधमा वीरगन्ज उद्योग वाणिज्य संघले आइतबार विरोध प्रदर्शन गरेको छ । आर्थिक वर्ष २०७५/७६ का लागि महानगरपालिकाले निर्धारण गरेको करको नयाँ दर जनताको विरोधमा रहेको भन्दै वीरगञ्ज उद्योग वाणिज्य संघको अगुवाइमा प्रदर्शन गरेको हो ।
उद्योग वाणिज्य संघले र व्यपारीहरुले आज बिहान विरोध जुलुस निकालेका थिए । घण्टाघरबाट निस्किएको विरोध जुलुसले नगर क्षेत्रको परिक्रमा गर्दै महानगरपालिका कार्यालयमा पुगेर मेयर विजय सरावगीलार्इ ज्ञापन पत्र पनि बुझाएको छ ।
उद्योगी व्यपारीहरुको ज्ञापनपत्र बुझ्दै महानगरपालिकाका मेयर सरावगीले स्थानीय सरकारले ल्याएको करको विपषयमा वार्ता गर्न तयार रहेको भन्दै उद्योग वाणिज्य संघलाई वार्तामा आउन आग्रह गरे । उनले पहिले आन्दोलन गर्ने र त्यसपछि वार्तामा बस्ने बानी सुधार गर्न आग्रह गर्दै स्थानीय सरकार जहिले पनि जनताको कुरा सुन्न तयार रहेको बताए ।
वृद्धि गरिएको कर पुनरावलोकनका लागि महानगरपालिकालाई ७ दिने अल्टिमेटम दिएको संघका अध्यक्ष ओमप्रकाश शर्माले बताए ।