कर बढाएर सरकारले दोहनकारी चरित्र देखायो: बाबुराम

रिपोर्ट नेपाल | 2018 Aug 11 | 07:02 pm 1890

गोरखा, साउन २६: नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री बावुराम भट्टराईले अनावश्यक करको भार बढाएर सरकारले आफ्नो दोहनकारी चरित्र देखाएको आरोप लगाएका छन्।

पार्टी कार्यक्रमका लागि शनिबार गोरखा आएका भट्टराईले सञ्चारकर्मीसँग कुरा गर्दै भने माथिल्लो तहमा कर बढाएको प्रदेशदेखि स्थानीय तहसम्मका जनप्रतिनिधिको दोहनकारी चरित्र तल्लो देखाएको आरोप लगाएका हुन्।

‘माथिल्लो तहका नेता राज्यको दोहन गरेर जसरी निजी लाभ लिइरहेका छन् तिनै पार्टीबाट निर्वाचित भएका तल्ला तहका जनप्रतिनिधि पनि शीर्ष नेताको देखासीखी गरेर विलासीताको सामान खरिदका लागि जुन हर्कत गरिरहेका छन्,’ उनले भने, ‘त्यो एकदमै गलत हो।,’

कतिपय स्थानीय तहले जन्मदर्तामा १ हजारदेखि १५ सयसम्म कर लिने विषय सार्वजनिक भएको भन्दै उनले असन्तुष्टि जनाए। ‘जन्मने वित्तिकै कर लगाउनु गलत हो, विदेशमा बच्चा जन्मिए खुसी हुँदै आउँछन्, हाम्रो यहाँ ट्याक्स तिर्नुपर्छ, यो उल्टो भयो,’ उनले भने, ‘यो संघीयताको मर्मविपरीत भयो, केन्द्रीय नेतृत्वले दिशाबोध गर्नुपर्छ।’ लामो संघर्ष, बहस र छलफल पछि आएको संघीयता कार्यान्वयनमा केही त्रुटी भए पनि यसबाट विमुख हुन नसकिने भट्टराईको भनाइ छ।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मालाई हत्कडी लगाउनु गलत भएकोसमेत उनले बताए। ‘राजनीतिक शक्तिलाई राजनीतिक ढंगले व्यवहार गरिनुपर्छ,’ उनले भने, ‘क्रान्ति गरेर आएका पार्टीका नेता सरकारमा हुँदा अपराधी घोषणा गरेर हत्कडी लगाउनु गलत भएको हो।’ अहिलेको सरकारले राष्ट्रहित र जनविरोधी काम गरेको भट्टराईको आरोप छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.