कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीको राजीनामा माग

रिपोर्ट नेपाल | 2018 Jul 23 | 09:53 am 1957

सुर्खेत, साउन ७: कर्मचारी कल्याणकारी समाज, स्वास्थ्य विज्ञान प्रतिष्ठानले यही साउन ३ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको तोडफोड पदाधिकारीको योजनामा भएको भन्दै उहाँहरुको राजीनामा माग गरेको छ।

प्रतिष्ठानका उपकुलपति डा राजेन्द्रराज वाग्लेसहितका पदाधिकारीले त्यहाँ अध्ययनरत एचए र स्टाफ नर्सका विद्यार्थी परिचालन गरी तोडफोड गर्न लगाएको समाजका अध्यक्ष रामकान्त उपाध्यायले पत्रकार सम्मेलनको आयोजना गरी उक्त आरोप लगाए ।

उपकुलपति वाग्लेलगायत अन्य पदाधिकारीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीलाई डा गोविन्द केसीलाई भेट्न जान नदिने सुनियोजित योजना बनाएको , उनीहरु त्यहाँ पुग्ने बित्तिकै प्रवेश रोक लगाई वातावरणलाई उत्तेजित बनाएर झडप र तोडफोडको स्थिति सिर्जना गरेको अध्यक्ष उपाध्यायले बताए । उनले योजना बनाउने पदाधिकारीसहित घटनामा संलग्न अन्य दोषीमाथि अविलम्ब छानबिन गर्न र प्रतिष्ठानको क्षतिपूर्ति हुनुपर्ने माग राखेका छन्।

सरकारले डा केसीको जीवन रक्षाका लागि काठमाडौँ लैजान आग्रह गरेको अवस्थामा पनि डा केसीलाई काठमाडौँ नपठाएर झडपको स्थिति सिर्जना गरिएको दाबी समाजले गरेको छ।

यता नेपाल चिकित्सक संघ कर्णाली शाखा जुम्लाका अध्यक्ष डा मंगल रावलले पनि प्रतिष्ठानमा घटना घट्नुमा पदाधिकारी नै प्रमुख जिम्मेवार रहेको ठोकुवा गरे। अध्यक्ष डा रावलले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भनेको समयमै एमबीबिएस पढाइ नहुनुमा पनि पदाधिकारीकै प्रमुख दोष रहेको औँल्याए।

प्रतिष्ठान, कर्मचारी हकहित जुम्लाका महासचिव राजबहादुर खत्रीले त्यहाँ अध्ययनरत विद्यार्थी आफैँ तोडफोडमा नलागेको बताए। महासचिव खत्रीले भवनको संरचना तोडफोड एवं विद्यार्थी कुटिनुमा पदाधिकारी, केही कर्मचारी दोषी र अस्पताल हाताभित्रै अन्धाधुन्ध लाँठीचार्ज गर्नु प्रशासनको कमजोरी रहेको औँल्याए।

प्रतिष्ठानका निमित्त डिनको भूमिका निर्वाह गर्नुभएकी नर्सिङ लेक्चर अनुपा श्रेष्ठले साउन ३ गतेका दिन आफूहरु कसैलाई जानकारी नदिएर नर्सिङ र एचएका विद्यार्थीलाई तोडफोडमा लगाएको बताए। पछिल्लो समयमा त्यहाँ अध्ययनरत विद्यार्थीले पनि डा केसीको जीवन रक्षाको नाममा आफूलाई प्रयोग गरिएको दुखेसो पोखेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.