मुगु, मंसिर ४ः जनताका जनप्रतिनिधि सांसदले नै ठेक्का लिएको कर्णाली राजमार्गको नाग्म–गमगढी राजमार्ग निर्माण कार्य लामो समयदेखि अलपत्र परेको छ । सांसद बहादुर सिंह लामा र नन्दलाल श्रेष्ठको हिमदुङ एन्ड थोकर र हीरा एन्ड नमिता जेभीले पाँच वर्षअघि नै सो सडक निर्माण ठेक्का लिएको थियो । नुवाकोटका लामाले लिएको सडक निर्माण ठेक्का हालसम्म निर्माण नभएपछि कालोसूचीमा राख्ने तयारी भएको छ ।
कर्णाली राजमार्गको ९३ किलो मिटरमध्ये पहिलो खण्डमा रहेको १३ किलोमिटरमा लामाकै निर्माण फर्मबाट काम थालिएको थियो । तर, ठेक्कासम्झौता भएको लामो समयसम्म काम नहुँदा सडक निर्माण अलपत्र परेको छ ।
सहजैरूपमा सडकको सुविधा लिने आशामा रहेका कर्णालीबासी सडक निर्माण नहुँदा सास्ती भोगिरहेका छन् । ठेक्का लिएको खण्डको केही भागमा मात्र काम भएको छ अन्य भागमा काम नहुँदा गारो भएको स्थानीयबासीले बताएका छन् ।
सांसद लामाको फर्मले १३ किलोमिटर सडकमा सडक चौडा, ग्राभेल, कल्भर्ट, कजवे, ग्याबिन, मेसिनरी टेवा पर्खालको काम गर्ने गरी ठेक्का लिएको थियो तर अहिलेसम्म ६ किलो मिटर सडक अलपत्र अवस्थामै रहेको सडक कार्यालय जुम्लाका कार्यालय प्रमुख एवं डिभिजनल इन्जिनियर लीलाबहादुर भण्डारीले जानकारी दिए । तिहारअगावै काम सम्पन्न नगरे लामाको फर्मलाई कालोसूचीमा राख्ने चेतावनी दिइएको उनले बताए । नेपाल समाचारपत्रबाट