काडमाडौं, साउन २५ । कर्णाली प्रदेश सरकारका पूर्वसचिव राजेन्द्रप्रसाद भारीसहति ९ जनाविरुद्ध अख्तियार दूरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टचारको मुद्दा दर्ता गरेको छ ।
अख्तियारले आज उच्च मूल्य कृषि वस्तु विकास आयोजना (HVAP)सुर्खेतका तत्कालीन आयोजना प्रमुख तथा कर्णाली प्रदेश,भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव राजेन्द्र प्रसाद भारीसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
‘‘सुर्खेत जिल्लाको वीरेन्द्रनगर औद्योगिक क्षेत्रभित्र शीत भण्डार निर्माण कार्यमा वास्तविक मुल्य भन्दा बढी भुक्तानी भएको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा मुद्दा दायर गर्ने आधार भेटिएकोले दर्ता गरिएको जनाइएको छ ।
वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा शीत भण्डार निर्माण कार्य गर्दा विषय विज्ञद्वारा प्रमाणित नगरिएको शीत भण्डारको खेस्रा डिजाइन तथा नक्साको आधारमा लागत अनुमान तयार गरी भुक्तानी गरेको देखिएपछि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
उक्त निर्माण कार्य गर्दा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कर्णाली प्रदेश तथा उच्च मूल्य कृषि वस्तु विकास आयोजना सुर्खेतबाट कर्णाली कोल्डचेन लजिस्टिक प्रालि,सुर्खेतलाई भुक्तानी भएको ९२ लाख ४३ हजार दुई सय ९८ रुपैँया बिगो बराबरको सरकारी हानिनोक्सानी गरेको आरोपसहित कानूनअनुसार सजायको मागदाबी गर्दै आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको अख्तियारद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।