काठमाडौँ,असोज ५। अमेरिका र युरोप पठाउने भन्दै कम्तीमा ४३ जनासँग ३ करोड ८२ लाख रुपैयाँ ठगीको आरोप लागेका विस एचआर सेलुसनका सञ्चालक र कर्मचारी फरार भएका छन् । कम्पनीले एक जनाबाट १० देखि ४० लाख रुपैयाँसम्म लिएको खुलेको छ ।
पीडितमध्येका एक धर्मभक्त मानन्धरले अमेरिका पठाइदिन्छु भनेर आफूसँग १५ लाख रुपैयाँ लिएको बताए । ‘मासिक चार हजार डलर तलब हुन्छ, २० लाख लाग्छ भनेपछि १५ लाख रुपैयाँ दिएँ,’ उनले भने, ‘पैसा बुझाएपछि धेरै समय झुलाउने काम भयो । अहिले त सम्पर्कविहीन छन् ।’
वैदेशिक रोजगार विभागले ठगी गरी फरार म्यानपावर कम्पनी खारेज गरी सञ्चालकविरुद्ध वैदेशिक रोजगार न्यायाधीकरणमा मुद्दा दायर गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावर कम्पनीको धरौटी बढाउने नीति कार्यान्वयन गरेपछि ठूलो रकम ठगी गरेर सञ्चालक फरार भएको पहिलो घटना हो । सरकारले २०७५ मा धरौटी बढाएको थियो । मन्त्रालयले २ देखि ५ करोडसम्म धरौटी राख्ने नीति ल्याएको थियो । यो म्यानपावर कम्पनीले ५० लाख धरौटी र एक करोड ५० लाख रुपैयाँ बैंक ग्यारेन्टी गरी विभागबाट वैदेशिक रोजगारीमा कामदार पठाउने इजाजत लिएको थियो ।
विभागका निर्देशक कविराज उप्रेतीका अनुसार म्यानपावरका अध्यक्ष तुलसीप्रसाद श्रेष्ठ, महाप्रबन्धक लालबहादुर पुलामी, सञ्चालक अमृत श्रेष्ठ र कर्मचारी रमेश कोइरालाविरुद्ध असोज २ गते मुद्दा दायर भएको हो । उनीहरूमाथि ३ करोड ८२ लाख बिगो, १ करोड ९१ लाख हर्जाना गरी ५ करोड ७३ लाख रुपैयाँ मागदाबी गरिएको छ ।
‘रोजगारदाताले तोकेको सेवा शुल्क वा फ्रि भिसा फ्रि टिकटका बारेमा सम्बन्धित इजाजत प्राप्त संस्थामा स्वयं उपस्थित भई वा विभागमा सम्पर्क गरी यकिन गरेर मात्र जान सम्बन्धित सबैमा अनुरोध छ,’ मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले भने, ‘असम्बन्धित व्यक्ति वा संस्थाको अनुचित प्रभावमा कोही पनि पर्नुभएन ।’ (कान्तिपुरबाट)