संखुवासभा, मंसिर ३: हाइभोल्टेजका कारण करेन्ट लागेर मृत्यु भएका संखुवासभाको सभापोखरी गाउँपालिका ६ का स्थानियलाई विद्युत प्राधिकरणले क्षतिपुर्ती दिएको छ।
गत बैशाख १८ गते करेन्ट लागेर मृत्यु भएका तथा घाइते परिवारलाई विद्युत प्राधिकरणले क्षतिपुर्ती उपलब्ध गराएको हो।
जिल्लाको सभापोखरी गाउँपालिका–६ स्थित एक टोलमा घरको वायरमा हाइभोल्टेज गएपछि करेन्ट लागेर एक जना मृत्यु भएका थिए भने ५ जना घाइते भएका थिए।
पीडित परिवारलाई खाँदबारीमा बोलाएर क्षतिपुर्तीउपलब्ध गराएको विद्युत प्राधिकरण खाँदबारी वितरण केन्द्रका प्रमुख रामअशिस साहले जानकारी दिए।
करेन्ट लागेर मृत्यु भएका सभापोखरी–६ का भुपाल विश्वकर्माको परिवारलाई पाँच लाख १५ हजार रुपैयाँ दिइएको छ। मृतक भूपालको परिवारलाई किरिया खर्च १५ हजार त्यसै बेला उपलब्ध गराएको थियो।
त्यस्तै प्राधिकरणले अन्य घाइतेका परिवारलाई समेत उपचार बापतको खर्च उपलब्ध गराईएको छ। करेन्टबाट घाइते भएकी तारा विश्वकर्मालाई ९ हजार ६ सय ८३ रुपैयाँ, भगवती विश्वकर्मा लाई १३ हजार ५ सय ९७ रुपैयाँ, मञ्जु तिरुवालाई ६ हजार ७ सय २५ रुपैयाँ उपलब्ध गराईएको छ।
त्यस्तै, धनमान लिम्बुलाई ९ हजार र कुलबहादुर विश्वकर्मालाई ६ हजार ८ सय २५ रुपैयाँ उपलब्ध गराइएको शाखाका प्रमुख साहले बताए।
पीडितहरुलाई नेपाल विद्युत प्राधिकरण विद्युत दुर्घटना क्षतिपुर्तीविनियमावली २०७६ को बिनियम १२ को आधारमा क्षतिपुर्तीउपलब्ध गराईएको खाँदबारी वितरण केन्द्रले जनाए।