करेन्ट लागेर एक मजदुरको मृत्यु

रिपोर्ट नेपाल | 2022 Dec 12 | 02:46 pm 1041

मारेङ, मंसिर २६ः मोरङको बुढीगंगा गाउँपालिका–२ टंकिसिनवारीमा रहेको विराट हेल्थ केयरको निर्माणाधीन भवनमा करेन्ट लागेर १ जना मजदुरको मृत्यु भएको छ।

कटहरी गाउँपालिका–५ का १९ वर्षीय सुमन सरदारको आइतबार साँझमा करेन्ट लागेर मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।

उनी विराट शिक्षण अस्पतालको कलेज परिसर भित्रै रहेको विराट हेल्थ केयरको निर्माणाधीन भवनमा काम गर्दै आएका थिए। निर्माणाधीन भवनको काम सकेर घर जाने क्रममा हातखुट्टा धुँदा कलमा जडान गरिएको मोटरबाट करेन्ट लागेर सरदार घाइते भएका थिए।

करेन्ट लागेर घाइते भएका सरदारको सोही अस्पतालमा उपचारका क्रममा आइतबार मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए। सरदारको मृत्यु भएपछि उनका परिवारका सदस्यले शव बुझ्न अस्वीकार गरेपछि अस्पतालको आकस्मिक कक्षमा शव रहेको थियो।

लापरबाहीपूर्ण तरिकाले कलबाट मोटर जडान गरेका कारण घटना भएको परिवारका सदस्यले आरोप लगाउँदै उचित क्षतिपूर्ति नपाएसम्म शव नबुझ्ने अडान लिएका थिए। विराट समूह अन्तर्गत विराट शिक्षण अस्पताल र विराट हेल्थ केयर रहेको बताउँदै, अस्पतालका प्रशासन प्रमुख प्रमेश देवकोटाले भने, ‘अस्पतालतर्फ काम गर्दा मृत्यु नभई अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो। मृतक सरदार विराट हेल्थ केयरमा काम गर्दै त्यहाँ उनलाई करेन्ट लागेको हो।’

शव बुझ्न अस्वीकार गर्दै मृतकका परिवारले अस्पताल बाहिर नाराबाजी गर्दै उचित क्षतिपूर्ति माग गरेको थिए। मृतकका परिवार र विराट हेल्थ केयरबिच भएको छलफलमा क्षतिपूर्ति दिने सहमति भएपछि शव परिवारका सदस्यले बुझेको बताइएको छ। काम गरेको कम्पनी र मृतकका आफन्तबिच सहमति भएपछि शव बुझेको र शव पोस्टमार्टम लागि कोसी अस्पताल लगिएको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.