काठमाडौं, साउन २४: नेकपाको प्रवक्ताबाट राजिनामा दिएका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले सरकार पार्टीको घोषणा पत्र र पार्टीको निर्देशन अनुसार चल्नुपर्ने कुरामा जोड दिएका छन् ।
बिहिबार विहान एक साक्षात्कार कार्यक्रममा आफ्नो धारणा राख्दै नेता श्रेष्ठले यो सरकार २०१५ सालमा राजा महेन्द्रले गराएको निर्वाचनबाट बनेको विपी कोइरालाको सरकार जस्तो नभएर जनताद्वारा निर्वाचित जनप्रतिनिधिको नेतृत्वमा गराएको चुनावबाट बनेको सरकार भएकोले जनताप्रति बढी उत्तरदायी हुनुपर्ने कुरामा जोड दिएका थिए ।
सरकाले जनताका प्रतिनिधिबाट बनाइएको संविधानलाई अक्षरस पालना गर्दै अव सामाजिक र आर्थिक परिवर्तन गर्दै समाज रुपान्तरणको दिशातर्फ अघि बढ्नु पर्ने बताए ।
पार्टीले सरकारलाई गलत बाटोमा हिड्न नदिन निर्देशन दिन जति जरुरी छ सरकारले गरेका रचनात्मक काम जनताले थाहा पाउने गरी प्रचार प्रसार गर्न पनि उत्तिकै आवश्यक रहेको नेता श्रेष्ठको भनाई रहेको थियो ।
आफ्नो राजिनामाको प्रशंगमा सचिवालय सदस्य श्रेष्ठले आफूले स्वइच्छामा दिएको राजिनामाको विषयमा पार्टीले गरेको निर्णय स्विकार गर्ने बताए । म पार्टीको अनुशासित र बफादार सिपाही हुँ पार्टीको निर्णय मेरो लागि शिरोधार्य हुन्छ नेता श्रेष्ठको भनाई रहेको थियो ।
प्रतिपक्ष कांग्रेस र सरकार बीच बढेको दुरीका विषयमा नेता श्रेष्ठले सरकारले प्रतिपक्षको रचनात्मक विरोधलाई सम्मान गर्नुपर्छ भने प्रतिपक्षले पनि मेरो गोरुको बाह्रै टक्का भन्न नहुने नेता श्रेष्ठको भनाइ छ ।
जव यो मुलुकमा कम्युनिष्ट शक्ति र पुरानो पार्टी नेपाली कांग्रेस बीच वादविवाद बढेर दरार पैदा हुन्छ त्यस्तो बेला प्रतिगामीहरुले धमिलो पानीमा माछा मार्ने गरेको उनको भनाई रहेको थियो । हामीले साझा दायित्व विर्सिएर अघि बढ्दा संकट आउने गरेको कुरालाई स्मरण गर्नुपर्ने नेता श्रेष्ठको भनाई रहेको थियो ।