- वसन्त भुजेल
नर्कटको बोटमा आँप फल्ने आशा गर्नु र नेपालका कम्युनिष्टहरुबाट मुलुकको उन्नती हुन्छ भन्ने सोच्नु उस्तै उस्तै हो । महात्मा गान्धिले भनेका छन् –‘परिवर्तनका लागि एजेण्डाहरु जति महत्वपूर्ण हुन्छन् ती भन्दा धेरै गुणा महत्वपूर्ण हुन्छन् परिवर्तनको आन्दोलनका लागि अपनाईने विधिहरु ।’ असल विधि अपनाएर आन्दोलन गरियो भने सामान्य एजेण्डाले पनि ठूलो परिवर्तन दिन सक्छन्, तर खराव विधि अपनाएर आन्दोलन गरियो भने एजेण्डाहरु जति राम्रा भए पनि पुरा हुँदैनन् ।’
हाम्रो देशका कम्युनिष्टहरुले २००७ सालको जनक्रान्तिमा भाग लिएनन् । २००७ सालको जनक्रान्तिका उपलव्धीलाई २०१७ सालमा सेना प्रयोग गरेर राजा महेन्द्रले उल्ट्याउँदा नेपाल कम्युनिष्ट पार्टीले स्वागत गर्यो । महासचिव केशरजंग रायमाझी पंचायतको मन्त्री बनेसँगै कम्युनिष्ट आन्दोलन विसर्जन भयो । २०२८ सालमा झापालीहरुले छिमेकीदेश भारतका नक्शालवादीहरुको सिको गर्दै व्यक्ति हत्या मार्फत आन्दोलन सुरु गरे । सामान्ती भन्दै धर्मप्रसाद ढकाल लगाएत केही समाजसेवीहरुको हत्या गरियो । धर्मप्रसाद ढकाल त सामान्ती थिए पनि होलान, बयस्क मान्छे हुन् उनीबाट गल्ती भएको थियो पनि होला, तर उनका ६ महनिाका नाति सामन्त थिएनन्, उनले कसैको शोषण गरेका थिएनन्, तर ६ महिनाको बालकको पनि टाउको छिनालेर हत्या गरियो । यो जघन्य अपराध पछि नेपालका कम्युनिष्टहरुको पहिलो आन्दोलन तुहियो । यो घटनाका दोषीमध्ये एक थिए खड्गप्रसाद ओली । यो अपराध बापत ओलीले १६ वर्ष जेल जीवन विताए । अपराधीले सजाँया पाइ सकेपछि र पश्चताप गरिसकेपछि पीडितले राहतको अनुभूति गर्छन् । ओलीको हकमा पनि त्यही भयो ।
नेपालका कम्युनिष्टहरुले दोस्रो आन्दोलन २०५२ सालमा गरे । तर त्यो आन्दोलन झापा आन्दोलन जस्तै तुरुन्तै तुहिएन । करिव १७ हजार मान्छे मरे । यी १७ हजार मध्ये करिव ९५ प्रतिशतको यस्तो आर्थिक अवस्था थियो की, बिहान खाए बेलुका के खाउँ ? यी मारिने मध्ये कोही पेटभरी खान पाइने आशामा माओवादीको जनसेनामा भर्ना भएका थिए, कोही आफूले पनि पेटभरी खान पाइने, बुढा बा आमालाई पनि एक धरो लुगाको व्यवस्था गर्न सकिने आशामा सेना र प्रहरीमा भर्ना भएका नेपाली थिए । सिपाहीमा भर्ना हुन कस्तो आर्थिक हैसियतको नेपाली जान्छ ? भन्ने चर्चा धेरै गरिरहन पर्दैन । एक गरिव नेपालीद्धारा अर्को गरिव नेपालीलाई मार्न लगाउने श्रृंखला हाम्रो देशमा १० वर्ष चल्यो । जसलाई जनयुद्ध भनियो ।
‘जनयुद्ध’का एजेण्डा निकै आकर्षक थिए । तर ‘जनयुद्ध’को विधि भने निकै विभत्स थियो । उदाहरणका लागि अमेरिकी साम्राज्यबादको प्रभाव अन्त्य गर्ने एजेण्डा अघि सारिएको थियो, तर व्यवहारमा भने गाईकाटेर मासु खाने, खुवाउने अभियान नै चलाईएको थियो । मृतक बाबुआमाको काजक्रियामा बसिरहेको व्यक्तिलाई ठाउँको ठाउँ काटिएको थियो । संस्कृत पाठशाला तथा गुरुकुल बन्द गराउँदै विद्यार्थीहरुको टुप्पी काट्ने अभियान नै सुरु गरिएको थियो । मठ मन्दीर भत्काइएको थियो । अर्थात अमेरिकी साम्राज्यवादको विस्तारलाई रोक्ने हाम्रा जे जति संस्कार र संस्कृतिहरु छन् तिनलाई धमाधम ध्वस्त गरिएको थियो । इशाईकरणका लागि माओवादी मार्फत यावत गतिविधि गरिएको रहेछ भन्ने कुरा अहिले पुष्टि भइसकेको छ ।
यसैगरी भारतीय विस्तारबादको प्रभाव अन्त्य गर्ने एजेण्डा अघि सारिएको थियो तर गाविस कार्यालय धमाधम जलाउन थालिएको थियो । देशको रक्षा गरिरहेका सेना र प्रहरीलाई सीमा क्षेत्रबाट खेदिएको थियो । भारतीय सीमा क्षेत्र नजीक रहेका प्रहरी चौकी र गाविसका कार्यालयहरु एउटा पनि बाँकी राखिएन । सीमा क्षेत्रका प्रहरी चौकी विस्थापित गरिनु नितान्त भारतीय एजेण्डा थियो भन्ने कुराको पुष्टि गर्न धेरै दिमाग खियाउनु पर्दैन । त्यही मौकामा भारतले नेपाली भूमि कालापानी क्षेत्रमा सडक निर्माण गर्दै आफ्नो सैन्य उपस्थिति व्यपाक विस्तार गरेको हो । दक्षिण र पुर्व तर्फको धेरै नेपाली सीमा भारतले त्यही मौकामा मिचेको हो ।
सीमा क्षेत्रबाट सुरक्षा पोष्ट विस्थापित गर्ने माओवादी अभियान नेपालका लागि कति घातक रह्यो ? माओवादीको यो अभिायनले भारतीय विस्तारबादलाई भन्ने कुरा धेरै नेपालीले यतिबेला थाहा पाइसकेका छन् । तर सीमा अतिक्रमणलाई बल पुर्याउने देश द्रोही कदम भन्दा अझ ठूलो देशद्रोही कदमको बारेमा भने अहिलेसम्म पनि जनस्तरमा बहस र विश्लेषण भइसकेको छैन । माओवादीका नाममा भएको त्यो देशद्रोही अपराध थियो –‘गाविसका अभिलेखरु नष्ट गर्ने ।’ २०४६ सालको परिवर्तन पछि २०४८ सालको आम निर्वाचन मार्फत गठित नेपाली कांग्रेसको सरकारले उद्योग धन्दा बेच्ने लगायत धेरै खराव काम गरेपनि एउटा असाध्यै राम्रो युगान्तकारी काम गरेको थियो । त्यो काम हो –‘राज्यले हरेक बालकको जन्मदर्ता अभिलेख राख्ने, विवाह दर्ताको अभिलेख राख्ने र त्यही अभिलेखका आधारमा नागरिकता प्रमाणपत्र प्रदान गर्ने ।’ खुला सीमाना भएकोले को भारतिय हुन् ? को नेपाली हुन् ? छुट्याउन सहज नभएका कारण धेरै भारतीयहरुले नागरिकता लिन थालेका थिए, तराईका गरिव नेपालीहरुले भने नागरिकता पाउन सकेका थिएनन् । जसका कारण तराईका रैथानेहरुमा स्वदेशप्रतिको ममता हराउँदै गएको थियो । यो समस्या केही वर्ष जारी रहनु भनेको नेपालमा भारतीयहरुको बहुमत हुनु हो भन्ने वीपी कोइरालाको मार्गदर्शनलाई आत्मसात गर्दै गिरिजाप्रसाद कोइराला नेतृत्वको नेपाली कांग्रेसको एकमाना सरकारले स्थानीय पंजिकरणको व्यवस्था गरेको थियो । आफ्नो गाविस भित्र जन्मेकाहरुको अभिलेख राखेर उसलाई बाबु आमाको नाम र उनीहरुको नागरिकता प्रमाणपत्रको नम्बर उल्लेख गरेर प्रमाणपत्र दिने, उमेर पुगेपछि त्यही प्रमाणपत्रका आधारमा नागरिकता प्रमाणपत्र दिने व्यवस्था गरिएको थियो । यो व्यवस्थापछि भारतीयहरुलाई नेपाली नागरिकता प्रमाण पत्र लिन असहज मात्रै भएको थिएनकी असम्भव नै भएको थियो । सिडीओले पैसा खाएर नक्कली नागरिकता प्रमाणपत्र दिनसक्ने कुनै गुन्जायस नै थिएन । तर यही कुरा भारतका लागि ठूलो टाउको दुखाई बनिरहेको थियो । गाविसको यो अभिलेख आफैले आएर नष्ट गर्न भारतलाई सम्भव थिएन । माओवादी मार्फत उसले यो काम सम्पन्न गर्यो । अभिलेख नै नष्ट भए पछि त सीमा क्षेत्रमा को नेपाली हो ? को भारतीय आप्रवासी हो ? कसरी छुट्याउने ?
जब माओवादी सरकारमा आयो तब भारतका लागि उसले गरेको भक्तिको रहस्य खुल्यो । २०६३ सालसम्म नेपालमा जन्मेका सबै भारतीयहरुले नागरिकता पाउने निर्णय गरियो । यतिसम्म त ठिकै थियो, तर अभिलेख नष्ट गरिसकिएकोले नेपालमा जन्मेको हो वा होइन ? भन्ने प्रमाण राज्यसँग रहेन । यसरी नेपालमा भारतीय नागरिकहरुको बहुमत पुर्याउने ठूलो गद्धारी प्रचण्डको नेतृत्वमा भयो ।
गाई काटेर मासु खाने प्रचण्डले आफ्नो पाप प्रयाश्चित गर्ने भन्दै चतरामा पुगेर साढे चार घण्टासम्म भैंसीलाई पुजा गरे । पढाउँदै गरेको शिक्षकलाई कक्षा कोठाबाट थुतेर कलिला विद्यार्थीकै सामुन्ने तड्पाई तड्पाई मार्नेले भैंसी पुजाबाट मुक्ति खोज्नु पागल पन बाहेक अरु के होला र ? आफन्तको मृत्यु कति पिडादायी हुँदो रहेछ ? भनेर श्रीमतीसँग सोध्ने ठाउँ समेत प्रचण्डलाई रहेन । आफ्नै छोरा–छोरीको मृत्यपछि प्रचण्डकी श्रीमतीलाई १७ हजार नेपालीका आमाबाबु तथा श्रीमतीहरुको आँशुको मुल्य थाहा भयो । अहिले उनी मौन ब्रतमा छिन् । गाविस कार्यालयमा रहेका भूमि पुत्र तथा पुत्रीहरुका जन्म दर्ता र बिवाह दर्ताका अभिलेखहरु नष्ट गरेर भारतीयहरुलाई नागरिकता दिलाउने अभियानमा अवरोध पुर्याएकै कारण सुराकीको आरोपमा त्यतिबेला कति जनप्रतिनिधिहरु मारिए ? कति गाविस सचिवहरु काटिए ? त्यसको हिसाव किताव बुझाउनु पर्ने दिन नजिकिँदै आएको भेउ प्रचण्डले सायद पाइसकेका होलान । मारिएका १७ हजार मान्छेका परिवारहरुको ठूलो विचल्ली छ । पेटभरी खान पाइरहेका छैनन् । तर प्रचण्डको सान सौकात कस्तो छ ? भगवानले यस्ता मान्छेको पनि सृष्टि गरेका रहेछन् भनेर पुरपुरोमा हात लगाएर बस्नेकी ? अपराध अनुसारको सजाय दिलाउन दवाव दिने ? भन्ने छिनोफानो अब युवा पुस्ताले गर्नु पर्छ । अपराधी किटान भइसकेपछि पनि उसलाई दण्ड दिन पहल नगर्नु झन ठूलो अपराध हो ।