प्रेम सुनार
गुल्मी, चैत्र १९: सम्वन्धितलाई स्वतन्त्र नागरिकको हैसियतले यो एउटा खुल्ला पत्र हो । यति बेला गुल्मीका केही स्थानीय तह निकै विधी र पद्धतीमा चल्ने बनेका छन् । आफूहरुको परिवार, आफन्तका लागि सरकारी गाडीको दुरुपयोग गर्न उनीहरुलाई विधी नचाहिने, टेक्का–पट्टा कमिशनका लागि पनि विधी र पद्धती नचाहिने, निहित स्वार्थका लागि उनीहरुमा मनोमानी चल्ने ।
तर, कोरोना भाईरसको संक्रमण र लक डाउनको बेला काम नपाएर विहान बेलुकाको चुलो चलाउन नसकेका परिवारका चुलो चलाई दिउँ भनेर पटक पटक आग्रह गर्दा पनि अहिलेसम्म विधी र पद्धत्तीको कुरा मात्रै गर्ने केही स्थानीय तहको रवैयाले गरिव मजदुर पक्षधर आक्रोषित भएका छन् ।
रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले नगरभित्रका गरिव मजदुरहरुलाई भोकै मर्न दिन्न भनेको एक हप्ता भई सक्यो तर, उनकै आँखा अगाडी पारी चारीखोला एक दलित परिवार भोकै बसेर बजारमा सहयोगको हात फैलाउँदै हिडेका छन् । त्यो देखेर निर्माण व्यवसायी संघका महासचिव हरिकुमार श्रेष्ठले एक बोरा चामल, दाल तेल लगायतको खाद्य वस्तु दिएर आज त्यो परिवारले चैते दशै मनाई रहेको छ ।
आजै योरच्वाईस मोवाईल सेन्टरका सञ्चालक तथा समाजवादी पार्टीका जिल्ला नेता जनक पन्थले सदरमुकामका अति विपन्न परिवारको दशै मनाई दिदै छन् । तर, पटक पटक त्यस नगरपालिकालाई आग्रह गर्दा पनि सुनेको नसुनेझै गरिएको छ । मेयर भुसालले चाहे भने ब्यक्तिगत रुपमा पनि कसैको निभेको चुलो बाल्ने आर्थिक क्षमता राख्छन् ।
उनले कतै ठूला ठूला महोत्सव, महायज्ञहरु लगाईको भए लाखौं रुपैयाँ दान पनि गरी सक्थे र सञ्चार माध्यममा भजन किर्तन गर्न पनि लगाईन्थ्यो । यति बेला ति विपन्न परिवारले आफेनो पीडा सुनाउन पाएका छैनन् । विपन्न मजदुरहरुको यति विकराल अवस्था हुँदा हुँदै र मैखिक रुपमा सुनाउँदा सुनाउँदै पनि सुनुवाई गर्ने सरकारी निकाय भएन ।
मेयर साव, विपदमा तयारी कुर्ने हो कि ? स्वविवेक पुराउँदै उद्धार गर्दै जाने हो ? मेयर साव, तपाई र तपाईको आफन्तलाई अहिले भर्खरै कुनै विपद प¥यो भने तपाई नियम खोज्नु हुन्छ ? बिदा कै दिन पनि तपाईको गाडी भर्खरै गुड्ने छ । यहाँलाई थाह छ भोको पेटले नियम मान्दैन । तपाईको नियम कति दिन कुरेर बस्ने भोका पेटहरुले ?
तपाईको सल्लाहकारहरुले कस्तो सल्लाह दिन्छन तपाईलाई ? सुन्छु तपाई त सर्वहारा पार्टीको नेता पनि हो अरे ? यही यो सर्वहारालाई यो विपदमा देखाउने पारा ? तपाईका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासीननीले पनि तयारी पुगेको छैन, आज होईन भोलीबाट सुरु गरौंला भन्दै हुनुहुन्छ । आज चाड छ, त्यो भन्दा पनि ठुलो भोक छ भोली कुरेर बस्ने ?
तपाईहरु भोली भोली कुर्दै जानुस् हामी आजै जुट्न सुरु गर्यौं । जो जसको घरमा आज चुलो बलेको छैन उनीहरुको घरमा केीि बेरमै चुलो मात्र बल्ने छैन चैते दशैको माछा मासु समेत पाक्ने छ । हामी हाम्रो घरमा जस्तो दशै उनीहरुको घरमा पनि हुने छ । हामीले भन्दा यसको सुरुवात धुर्कोट गाउँपालिकाले पहिल्लै गरेको छ ।
गरिब मजदुर प्रति सहानुभूती राख्ने र रचनात्क कार्य प्रति दृढ ईच्छा शक्ति राख्ने जनप्रतिनिधी र कर्मचारी भए उता राहत वितरण हुँदै गर्छ यता विधी बन्दै गर्छको अनुभव लिन धुर्कोट जानुहोस् । नभए एक कल फोन गरेर सोध्नुहोस् । रेसुङ्खा नगरपालिकाले मजदुरहरुको सहयोग गर्ने उद्घोष फलाक्दै गर्दा धुर्कोटमा यसको हल्ला खल्ला नै थिएन तर काम भने सबै भन्दा पहिल्लै भयो ।
विकास निर्माण र सरकार सञ्चालनको पाठ पढ्न केही महिना धुर्कोट जाने की ? साधुवाद् धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल, उपाध्यक्ष शिवबहादुर खत्री, प्रमुख प्रशसकिय अधिकृत काशीराम पन्थी, सबै वडाध्यक्ष सहितका जनप्रतिनिधी र सकल कर्मचारीहरुलाई । मुर्दावाद मजदुरहरुको विपदका रमितेहरुलाई…….