मोरङ,चैत्र ९ : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका–७ मा आज (शनिबार) बिहान गुडिरहेको कन्टेनरमा टाटा सुमो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ६९१८ नम्बरको कन्टेनरलाई सोही दिशा तर्फबाट आउँदै गरेको बा ११ च ७९४८ नम्बरको यात्रुबाहक टाटा सुमो बिहान ५ बजे ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिए।
दुर्घटनामा परी झापाको अर्जुनधारा नगरपालिका–४ का ४७ वर्षीय रामकुमार आछामी र झापाको गौरादह नगरपालिका–४ का ४५ वर्षीय प्रकाश मगरको मृत्यु भएको प्रहरी निरीक्षक बजगाईले बताए। आछामीको घटनास्थलमै र मगरको उपचारका लागि विराटनगर लाने क्रममा बीच बाटोमै मृत्यु भएको उनले जानकारी दिए।
दुर्घटनामा घाइते हुनेमा गौरादह–४ की ५५ वर्षीया दुर्गा मगर, १४ वर्षीया प्रविका मगर, ३८ वर्षीया बबिता मगर, ४५ वर्षीय योगेश न्यौपाने र काभ्रेको भुमुटार नगरपालिका–८ का २७ वर्षीय रमेश तामाङ रहेका छन्। त्यसैगरी सुमो चालक झापाको दमक नगरपालिका–२ का ३७ वर्षीय कूलबहादुर रेग्मी पनि घाइते भएका छन्। घाइते मध्ये दुर्गा र प्रविकाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
घाइते सबैको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको प्रहरीले जानकारी दिए । तीब्र गतिमा रहेको सुमो ओभरटेक गर्ने क्रममा अगाडि गुडिरहेको कन्टेनरमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। प्रहरीकाअनुसार कन्टेनर चालक चितवनको राप्ती नगरपालिका–२ का ४८ वर्षीय लक्ष्मण अधिकारी तथा टाटा सुमो र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको बुझिएको छ।