काठमाडौं, जेठ ७ः स्थानीय तह निर्वाचन सम्पन्न भएको आज आठौं दिन हो । तर, देशका सुविधा सम्पन्न स्थानीय तहको रूपमा चिनिएको काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, भरतपुर र विराटनगरसहितका ठूला सहरका रूपमा चिनिएको महानगरहरूको अन्तिम मत परिणाम निर्वाचन सम्पन्न भएको ८औं दिनमा पनि आएको छैन ।
देशका ७ सय ५३ स्थानीय तहमा एकैपटक नयाँ नेतृत्व चयनका लागि ३० वैशाखमा भएको निर्वाचनमा १ लाख ४५ हजार ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । तीमध्ये ३५ हजार २ सय २१ जना चुनिनेछन् ।
शुक्रबार राति अबेरसम्म ७ सय ५३ स्थानीय तहमध्ये ६ सय ७० स्थानीय तहको अन्तिम परिणाम आएको छ । तीमध्ये ८५ प्रतिशत बढी स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ सम्पन्न गरी शुक्रबारबाटै जिम्मेवारीसमेत सम्हालेका छन् । परिणाम घोषणा हुन बाँकी स्थानीय तहका उम्मेदवार प्रतीक्षामै छन् । देशका ६ महानगर र ११ उपमहानगरमध्ये काठमाडौं, ललितपुरसहितका केहीमा मतगणना कछुवा गतिमा छ ।
संवैधानिक व्यवस्थाअनुसार भने स्थानीय तहमा जनप्रतिनिधि रिक्त भइसकेका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा देशभर निर्वाचित भएका ३५ हजार २ सय २१ जनप्रतिनिधिको पदावधि शुक्रबारबाटै सकिएको हो । उनीहरूका स्थानमा जनप्रतिनिधि पूर्ति हुन अझै केही दिन लाग्ने देखिन्छ । राजधानी दैनिकबाट