कञ्‍चनपुरमा सीआर्इबीको टोली पुगिसक्यो: सरकार, हामीलाई थाहा छैन: कञ्‍चनपुर एसपी

| 2018 Sep 03 | 12:40 pm 2686

काठमाडौं, भदौ १८: सरकारले निर्मला पन्तको बलात्कार र हत्याको विषयमा सत्यतथ्य छानविन गर्न सिआर्इबीको टोली पुगिसकेको बताएपनि कञ्‍चनपुरमा भने आएको आफूलार्इ थाहा नभएको कञ्‍चनपुर प्रहरीले बताएको छ।

कञ्‍चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका लागि सीआईबीको टोली महेन्द्रनगर पुगेको कुरा थाहा नभएको कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुवेर कडायतले बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष चासोमा सीआईबीको नयाँ टोली निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानका लागि आइतबार महेन्द्रनगर पुगेको समाचार प्रहरीको उच्च श्रोत उल्लेख गर्दै सोमबारका पत्रपत्रिकाहरुले प्रकाशन गरेका छन् । तर यस विषयमा आफूलाई केही थाहा नभएको र कतैबाट जानकारी पनि नपाएको कञ्चनपुरका प्रहरीले प्रतिक्रिया दिएको छ।

आइतबार प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा र आईजीपी सर्वेन्द्र खनालबीच भेट भएको थियो। यो भेटलगत्तै सीआईबीको नयाँ टोली निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानका लागि महेन्द्रनगर गएको समाचार बाहिर आएको हो। एसएसपी ठाकुरप्रसाद ज्ञवाली नेतृत्वको टोली आइतबार नै महेन्द्रगर पुगेर काम थालेको बताइएको छ ।

निर्मला पन्त हत्या प्रकरणमा प्रहरीले नक्कली अपराधी खडा गरेको भन्दै स्थानीय बासिन्दाले आन्दोलन चर्काएका थिए । त्यसक्रममा प्रहरीको गोली लागेर एक जनाको ज्यान गएको थियो।

नक्कली अपराधी खडा गरेको गम्भीर आरोप लागेपछि सरकारले तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्टलाई निलम्बन गरेको छ भने तत्कालीन प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खडका, डीएसपी ज्ञानबहादुर सेटी र अनुसन्धान अधिकृत एकिन्द्र खडकालाई पनि केन्द्रमा तानेको छ ।

घटना छानबिनका लागि गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनाली नेतृत्वमा तीनवटै सुरक्षा निकाय प्रतिनिधि र प्रदेश ७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव सदस्य रहेको ५ सदस्यीय उच्चस्तरीय छानबिन टोली महेन्द्रनगर पठाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.