कञ्चनपुर, माघ २० : सीमा विवादकै कारण गोविन्द गौतमले ज्यान गुमाउनु परेको क्षेत्र कञ्चनपुरको पुर्नवासमा फेरि भारतीय अतिक्रमणढ सुरु भएको छ।
भारतले कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११, मा भारतीय पक्षले दशगजा क्षेत्रमा पुनः एकपक्षीय रुपमा नाली निर्माण तथा तारजाली बनाउने काम अघि बढाएको छ। नेपाली पक्षले विरोध गरेपछि अघिल्लो शुक्रबारदेखि रोकिएको सो निर्माण कार्य शनिबारदेखि पुनः शुरु भएको हो।
विवादित सीमामा निर्माण हुन लागेको सुरक्षा नालीको निर्माण कार्यमा एसडीएम पलिया सुंदू सुधाकरण, गौरीफंटा कोतवाल रेंजर मनोज श्रीवास्तव, प्रहरी एमके मौर्य, कमांडो सन्तप्रकाश त्रिपाठी, जमुना प्रसाद झा, रेस्ट गार्ड कृपाशंकर रमेश पांडे, राजाराम तिवारी तथा एसएसबी इंस्पेक्टर अभय यादव सहितको सहभागिता रहेको थियो ।
भारतीय पक्षले कञ्चनपुरको सिमा स्तम्भ १५३/१७१ नम्बरमा डोजर लगाएर सो क्षेत्रमा दुई किलोमिटर लामो नाली तथा तारजाली गर्न लागेको हो । झण्डै एक सय ५० मिटरसम्म निर्माण कार्य अघि बढाउदा नेपाली पक्षले विरोध गरेपछि अर्को व्यवस्था नभएसम्म अघिल्लो शुक्रबारदेखि सो कार्य रोकेको थियो । शनिबारदेखि पुनः डोजर सहित नाली निर्माण गर्ने कार्य अघि बढेको हो ।
गौरीफंटा खीरी दुधवा नेशनल पार्कका डेपुटी डाइरेक्टर महावीर कौजलगिको आदेशमा नाली पुनः निर्माण कार्य अघि बढाइएको बताइएको छ । डेपुटी डाइरेक्टर कौजलगीले बिहीबार सो क्षेत्रको निरिक्षण गर्दै ‘काम अघि बढाउन’ निर्देशन दिएका थिए । उनले निर्देशन दिदै भनेको थिए ‘यो हाम्रै सिमाभित्र निर्माण भइरहेको छ । यदि नेपाली पक्षलाई आपत्ती छ भने पत्र पठाउनुहोस् ।’
अघिल्लो शुक्रबार बसेको बैठकले सर्वपक्षीय बैठकबाट यसको निकास निकाल्ने सहमति गरिए पनि बैठक नबस्दै डेपुटी डाइरेक्टरको निर्देशनमा नेपाल पक्षलाई जानकारी नै नदिई निर्माण कार्य अघि बढेको छ ।
कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी शंकर बिष्टले भारत वा नेपालले सिमामा कुनै पनि भौतिक संरचना निर्माण गर्दा दुबै पक्षलाई जानकारी दिएर मात्र काम गर्नुपर्ने बताए ।
भारतीय सिमा सुरक्षा वलका निरीक्षक अभय यादवले तस्करी, लागूऔषध ओसारपसार तथा अपराधिक क्रियाकलाप रोक्न नाली तथा तारजाली निर्माण गरिन लागेको बताए । उनले भने ‘सिमा मिच्ने तथा नेपाली पक्षलाई दुःख दिने हाम्रो उद्देश्य होइन ।’ भारतीय सुरक्षा अधिकारी यादवले आफूहरुले भारतको भूमिमा नै नाली तथा तारजाली निर्माण कार्य गरिरहेको पुनः दोहोर्याएका थिए ।
दुधवा नेशनल पार्कका फरेस्टर मनोज कुमारले जंगली जनावरहरु सिधैं नेपालतर्फ जानबाट रोक्न तथा सिमावर्ती क्षेत्रमा हुने अपराधिक क्रियाकलाप नियन्त्रणका लागि नाली तथा तारजाली निर्माण कार्य अघि बढाइएको बताए ।