कञ्चनपुर, २३ मंसिर २३ : जिल्लाको पश्चिमी नाका गड्डाचौकीबाट आठ दर्जन भन्दा बढी महिला तथा बालबालिकाको उद्धार गरिएको छ ।
उद्धारमा संलग्न लामो समयदेखि काम गर्दै आएको संस्था माइती नेपालका अनुसार एक वर्षमा २४ बालक, ७१ बालिका र १०० महिलाको उद्धार गरिएको छ ।
२०१८ को अवधिमा माइती नेपालले जिल्लाको पश्चिमी सीमा नाकाबाट भारत जान लागेका बालकबालिका र महिलाको उद्धार गरी घरपरिवारको जिम्मा लगाएको संयोजक महेश्वरी भट्टले बताए । गड्डाचौकी र दोधाराचाँदनी झोलुङ्गेपुलमा माइती नेपालको सूचना केन्द्रमार्फत उनीहरुको उद्धार गरिएको संयोजक भट्टले बताइन।
माइती नेपालको तथ्याङ्कअनुसार ४९ जिल्लाका महिला र बालबालिकाको उक्त नाकाबाट रोकथाम गरिएको छ । उक्त नाका भएर भारत लाने क्रममा सोधपुछ गरी जोखिममा रहेकाको विश्लेषणपश्चात् घरपरिवारको जिम्मा लगाइएको संयोजक भट्टले जानकारी दिइन ।
उद्धार गरिएका सबैभन्दा बढी कञ्चनपुर र कैलाली तथा सबैभन्दा कम डोटीका छन् । जम्मा २०० मध्ये ११२ जना सुदूरपश्चिम प्रदेशकै रहेका छन् । कञ्चनपुरका ३७, कैलालीका ३२, अछामका १९, बैतडी र बाजुराका ६/६, डोटी एक, बझाङ दुई, डडेल्धुरा चार र दार्चुलाका पाँच जनालाई उद्धार गरिएको छ ।
सीमा क्षेत्रबाट सबैभन्दा बढी भारत जान लागेका १६७, इरान १५, किर्गिस्थान ११,अस्ट्रेलिया चार, पोल्याण्ड, दुबई र कुबेत एक/एक जनाको सीमा क्षेत्रमा बेचिनबाट जोगिएका छन् । माइती नेपालले एक वर्षमा भारतका विभिन्न स्थानबाट बेचबिखनको जोखिममा रहेका १० जनाको समेत उद्धार गरी घरपरिवारलाई बुझाएको छ । भारतका मुख्य शहर पञ्चाब, दिल्ली र मद्रासबाट दुई/दुई तथा हैदरवाद, खटिमा, बैङलोर र पुनाबाट एक/एक जनाको उद्धार गरिएको थियो ।
माइती नेपालले कञ्चनपुरमा १५८ हराएकामध्ये २९ जना फेला परेका थिए । यसैगरी २३ घरेलु हिंसाका उजुरीमध्ये १७ मिलापत्र, तीन जबर्जस्तीकरणी र दुई मानव बेचबिखनविरुद्ध माइती नेपालमार्फत मुद्दा दायर गरिएका छन् । उक्त अवधिमा ३७ हजारलाई सीमा क्षेत्रमा परामर्श सेवासमेत दिएको छ ।