कञ्चनपुर, मंसिर २८ः जिल्लाको माहाकाली नगरपालिका १० स्थित कुतिवाकभरमा सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोष्ट (बिओपी) कुतिवाकभर स्थापना भएको छ ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापाले आइतबार आयोजित एक कार्यक्रमका बीच उक्त बिओपीको उद्घाटन गरेका हुन् ।

त्यसअवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले अहिलेको परिस्थितीमा जनताको सेवा, सुरक्षाको ठूलो जिम्मेवारी आएको हुँदा व्यक्तिगत समस्यालाई ध्यानमा राखी अझै बढी अनुसाशित एवं कर्तव्यनिष्ट भई कार्यक्षेत्रमा परिचालन हुन निर्देशन दिए ।
उनले सीमा क्षेत्रमा हुने अपराधिक कृयाकलाप नियन्त्रण गर्न सशस्त्र प्रहरीको ठूलो भूमिका रहेको चर्चा गर्दै नेपाल सरकारको नीति अनुरुप सीमानालाई अझ बजबुद बनाउनका लागि तथा सीमा अपराध नियन्त्रण र रोकथाम गर्नका लागि सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोष्टहरु थप गर्दै लगिने बताए ।
कञ्चनपुर जिल्लाको सदरमुकाम देखि करीव २० किलोमिटरको दुरिमा नेपाल भारत सीमानाका भन्दा करीव २ किलोमिटर वर स्थापना गरिएको उक्त बिओपीले आजैबाट दैनिक कार्य सुचारु गरेको छ ।
कार्यक्रममा उक्त नगरपालिकाका मेयर बीरबहादुर सुनार, उपमेयर चिनी गिरी ओझा, प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ बैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रविणकुमार श्रेष्ठ लगायत सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका बरिष्ठ अधिकृतहरुको समेत उपस्थित रहेको थियो ।

एपीएफ टोलीद्वारा सेती नदिको खोचमा खसेका एक व्यक्तिको सकुशल उद्वार
कास्की जिल्लाको पोखरा महानगरपालिका १७ स्थित सेती नदिको खोचबाट एपीएफ टोलीले शनिबार एक जनाको सकुशल उद्वार गरेको छ ।
सुनसरी जिल्लाको धरान उपमहानगरपालिका घर भई कास्की जिल्लाको पोखरा महानगरपालिका १७ का ३१ वर्षीय कमल योगी पैदल हिड्ने क्रममा अचानक उक्त नदिको खोचमा खसेका थिए ।
घटनबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक देवीलाल गोतामेको कमाण्डमा खटिएको एपीएफ टोलीले उनको सकुशल उद्वार गरेको हो ।
उद्वार पश्चात एपीएफ टोलीले उनलाई उपचारको लागि गण्डकी मेडीकल अस्पतालतर्फ पठाएको छ ।
एपीएफ टोलीद्वारा अवैध पेस्तोसहित पक्राउ
रौतहत जिल्लाको राजदेवी नगरपालिका ८ लक्ष्मीपुर स्थित सीमा ईलाकाबाट शनिबार एपीएफ टोलीले एउटा कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतमा घर बताउने २१ वर्षीय नितेश कुमार पटेल छन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेका निज पटेललाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बेलविछुवाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त पेस्तोल फेला परेपछि पक्राउ गरिएको हो ।
पक्राउ परेका पटेललाई बरामद पेस्तोसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय गौरमा बुझाईएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश फरहदवाबाट खटिएको एपीएफ टोलीले एउटा नक्कली पेस्तोलसहित सर्लाही हरिपुर नगरपालिका ४ स्थित गौर चेकप्वाईन्टबाट एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही जिल्लाको बरहथवा नगरपालिका २ का २२ वर्षीय अर्जुनकुमार यादव रहेका छन् ।
मलंगवाबाट नवलपुरतर्फ जाँदै गरेको बा ५३ प ५४०० नम्बरको मोटरसाईकलमा सवार निज यादवलाई गस्तीमा खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त नक्कली पेस्तोल फेला परेपछि पक्राउ गरिएको हो ।
एपीएफ टोलीले उनले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरेको छ ।
पक्राउ परेका यादवलाई बरामद नक्कली पेस्तोल तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय हरिपुरमा बुझाईएको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले बताए ।