कञ्चनपुरका हात्ती पीडितद्वारा क्षतिपूर्तिको माग

| 2018 Oct 24 | 01:56 pm 2048

महेन्द्रनगर, कात्तिक ७  : माना लगाएर मुरी फलाई जिविकोपार्जन गर्ने कञ्चनपुरका किसानलाई जंगली हात्तीले हैरानी पारेको छ । दुःख गरेर लगाएको धान बाली घर भित्र्याउने बेला जङ्गली हात्तीले सखाप बनाएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका किसान पीडित बनेका छन् । हात्तीले पाकेको धान सखाप पारिदिएपछि पीडित किसान यतिखेर क्षतिपूर्तिको माग गर्दै स्थानीय सरकारदेखि प्रहरी कार्यालयसम्म धाउन थालेका छन् ।

शुक्लाफाँटा नगरपालिकाका हात्ती पीडित झण्डै ३ सय किसानले क्षतिपूर्तिका लागि इलाका प्रहरी कार्यालय झलारीमा निवेदन दिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले हात्ती पीडित किसान क्षतिपूर्तिका लागि आउने गरेको बताएका छन्। निरीक्षक अवस्थीका अनुसार इप्रकाले स्थलगत निरीक्षण गरेर कागजी प्रक्रिया सहित क्षतिपूर्तिका लागि स्थानीय तह र जिल्ला प्रशासन कार्यालयमा फाइल पठाउने गरेको छ ।

जंगली हात्तीले यो दुई महीनाको अवधिमा शुक्लाफाँटा नगरपालिकामा एक दर्जन सामुदायिक र निजी घर÷टहरा समेत भत्काएको निरीक्षक अवस्थीले रिपोर्ट नेपाललाई बताए ।

शुक्लाफाँटा नगरपालिको वडा नम्बर १, २, ३, ४, ७, ८, ११, १२ लगायतका वडामा हात्तीले अत्यधिक क्षति पुर्याएको ्पीडितले बताएका छन् । हात्ती पीडितले राहतका लागि शुक्लाफाँटा नगरपालिकाको कार्यालयमा समेत निवेदन दिएका छन् ।

नगरप्रमुख दिलबहादु ऐरका अनुसार नगरपालिकाले गत वर्ष हात्ती पीडित किसानलाई साढे पाँच लाख रुपैयाँ वितरण गरेको थियो । गहुँ, उखुका साथै घर भत्काएका करिब तीन सय परिवारलाई नगरपालिकाले राहत स्वरुप रु २ हजारका दरले वितरण गरिएको कुरा पनि नगरप्रमुख ऐरले बताए ।

जंगली हात्तीले गाउँ पसेर खेती बाली लगाएत घर, गोठको क्षति गर्न थालेपछि नगरपालिकाले हात्तीलाई गाउँ पस्न नदिन विद्युतिय तारजाली लगाउँन रु २५ लाख नगरपालिकाले बजेट विनियोजन गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.