औषधि अभाव नहोस् : प्रधानमन्त्री

रिपोर्ट नेपाल | 2022 Jan 20 | 07:43 am 1869

काठमाडौँ, माघ ६ः प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना सङ्क्रमण प्रतिरोधात्मक औषधिको अभाव हुन नदिन र ती औषधिको तत्काल व्यवस्थापन गर्न निर्देशन दिएका छन्। बुधबार गृहमन्त्री बालकृष्ण खाण र नेपाल सरकारका मुख्य सचिव शङ्करदास बैरागीलाई बालुवाटार बोलाएर उनले कुनै पनि औषधिको अभाव हुन नदिन र त्यसका लागि आवश्यक व्यवस्थापन गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री देउवाले औषधि आपूर्ति तथा व्यवस्थापनका लागि कुनै कसर बाँकी नराख्न स्पष्ट निर्देशन दिए ।

कोरोना सङ्क्रमणले जनजीवन आक्रान्त भइरहेका बेला नेपाली बजारमा सिटामोललगायतका औषधिको अभाव भएको भन्ने केही सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री देउवाले अभाव हुन नदिन र कालोबजारी रोक्न यस्तो निर्देशन दिएका हुन् । बुधबार बिहान प्रधानमन्त्री देउवाले गृहमन्त्री खाण र मुख्यसचिव बैरागीलाई बालुवाटारमा बोलाएर छलफल गरेकाे प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले बताए ।

केही दिनअघि प्रधानमन्त्री देउवाले सरुवा तथा सङ्क्रामक रोग विशेषज्ञहरूसँग पनि छलफल तथा परामर्श गरेका थिए । सरकारका सबै सरोकारवाला निकायका प्रमुखलाई राखेर भएको सो छलफलमा निजी स्तरका अस्पतालले कोरोनासँग सम्बन्धित औषधि बढी मूल्य लिएको सुन्नमा आएको भन्दै प्रधानमन्त्री देउवाले त्यस्ता अस्पतालमा सघन तरिकाले निगरानी राखी तत्काल कारबाही गर्न निर्देशन दिएका थिए ।

बुधबार प्रधानमन्त्री देउवाको निर्देशनपछि मुख्यसचिव बैरागीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, औषधि व्यवस्था विभाग, नेपाल औषधि लिमिटेड तथा निजी स्तरका औषधि उत्पादक कम्पनीहरूसँग पनि परामर्श गरेका थिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले गोरखापत्रसँग भने, “हामीलाई मुख्य सचिवबाट औषधिको उपलब्धता भए/नभएको बारे जानकारी मागिएको थियो । अहिलेको अवस्थामा सिटामोलको अभाव भन्ने कुरा बाहिर समाचार आइसकेपछि तत्कालै औषधिको अभाव नहुने गरी व्यवस्थापन गर्न निर्देशन पनि दिए । हामी निरन्तर बजारको स्थितिलाई अवलोकन गरिरहेका छौँ । हाल बजारमा अहिले कुनै पनि औषधिको अभाव छैन ।”

सरकारको स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेड तथा निजी स्तरका नेपाली औषधि उत्पादक कम्पनीहरूले सिटामोललगायतका औषधि उत्पादन गर्न छाडेका हुन् र ? भन्ने जिज्ञासामा सचिव डा. पोखरेलले भने, “नेपाली कम्पनीहरूले उत्पादन लागतभन्दा कम रकममा सिटामोल बिक्री गरिरहेका छन् । सरकारले मूल्य बढाएको छैन । नेपाल औषधि लिमिटेडले उत्पादन गरेको सबै सिटामोल सरकारले खरिद गर्ने भएको छ । त्यसैले अब उसको उत्पादन निरन्तर भइरहन्छ र निजी कम्पनीहरू पनि पुरानै मूल्यमा बिक्री गर्ने गरी उत्पादन गर्ने कुरामा सहमत भएका छन् ।”

नेपालमा हाल सिटामोललगायतका अत्यावश्यक औषधिहरू सरकारको स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेड र अरू एक दर्जन निजी क्षेत्रका औषधि उत्पादक कम्पनीले उत्पादन गरिरहेका छन् ।

प्रधानमन्त्री देउवाको निर्देशनपछि गृहमन्त्री खाणले मातहतका निकायलाई यदि कसैले औषधिीको कृत्रिम अभाव गरेको पाइएमा कालोबजारी गर्ने र औषधि लुकाउनेलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन् । कोरोनाको सङ्क्रमण बढेसँगै सिटामोल तथा एन्टिबायोटिक औषधिको माग दिन प्रतिदिन बढ्दै गएको छ । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.