औषधिका कारण तीन जना महिलाको मिर्गौला फेल

रिपोर्ट नेपाल | 2020 Mar 03 | 07:58 am 1590

काठमाडौं, फागुन २०: प्रसूतिको शल्यक्रियाका क्रममा प्रयोग गरिएका दुई औषधिका कारण तीन जना महिलाको मिर्गौला फेल भएको छ ।

जोरपाटीको अत्तरखेलस्थित नेपाल मेडिकल कलेज (एनएमसी) शिक्षण अस्पतालमा शल्यक्रिया गर्दा प्रयोग गरिएका औषधिका कारण संक्रमण भएको पुष्टि भएपछि औषधि व्यवस्था विभाग (डीडीए) ले हालका लागि उक्त ‘ब्याच’ का औषधिको बिक्रीवितरण रोक्ने तयारी गरेको छ ।

गत फागुन ४ र ५ गते प्रसूतिका लागि शल्यक्रिया गरिएकामध्ये तीन जनामा एकै प्रकारको संक्रमण देखिएको थियो । संक्रमण देखिएसँगै अस्पताल प्रशासनले शल्यक्रियाकक्ष फागुन १२ गतेसम्मका लागि बन्द गरेर सरसफाइ गरेको थियो ।

यस्तै अस्पतालले संक्रमणको स्रोत पत्ता लगाउनका लागि शल्यक्रियामा प्रयोग भएका औषधिलगायत सबै वस्तु, औजार तथा शल्यक्रियाकक्षबाट नमुना संकलन गरेर अनुसन्धान सुरु गरेको थियो । तीनमध्ये एक महिला एनएमसीमै उपचाररत छिन् भने दुई जनालाई उपचारार्थ मेडिसिटी अस्पताल भर्ना गरिएको छ ।

अनुसन्धानबाट त्यहाँ प्रयोग गरिएको ब्याक्टेरियाको संक्रमणविरुद्ध उपयोग हुने मेट्रोनिडाजोल सस्पेन्सन र रिंगर ल्याक्टेट नामक सलाइनमा खराबी रहेको पत्ता लागेको अस्पतालका मेडिकल निर्देशक डा राजेशकिशोर श्रेष्ठले बताए ।

अनुसन्धानका लागि हामी मेडिकल काउन्सिल र डीडीएमा पनि गएका छौं । हामीसँग रहेको त्यो औषधि सबै फिर्ता पठाइसकेका छौं, प्रयोग गर्न बन्द गरिसकेका छौं, उनले भने, तिनै औषधिका कारण तीन जनामा अत्यन्त गम्भीर प्रकारको संक्रमण देखिएको पुष्टि भयो । उनीहरूको थप उपचारको जिम्मा अस्पतालले लिन्छ । कान्तिपुर दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.