काठमाडौं,साउन २६: प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार उद्योग, शिक्षा, स्वास्थ्य लगायत सबै क्षेत्रको समस्या समाधान गरी अघि बढ्न प्रतिवद्ध रहेको बताएका छन् ।
शनिबार प्रधानमन्त्री आेलीले उद्योग वाणिज्य महासंघको प्रतिनिधि मण्डलसँगको भेटमा उक्त कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले सरकार औद्योगिक क्षेत्रको समस्या समाधानका लागि पूर्ण प्रतिवद्ध रहेको बताएका थिए ।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको विशेष भेटमा प्रधानमन्त्री ओलीले उद्योग, शिक्षा, स्वास्थ्य, उर्जा, कृषि लगायत क्षेत्रको सुधार गर्दे समग्र रुपमा मुलुकको आर्थिक अवस्था उकास्न सरकार लागिपरेको बताएका हुन् ।
स्थानीय, प्रदेश र संघीय सरकारले विभिन्न शीर्षकमा लगाएको करका कारण व्यवसायीहरुमा सर्वत्र त्रास फैलिएको भन्दै महासंघको टोलीले सरकारको ध्यानाकर्षण गराएको छ ।
महासंघकी अध्यक्ष भवानी राणाले अनावश्यक करको बोझको अन्त्य, पुराना औद्योगिक नीति परिवर्तन लगायत औद्योगिक क्षेत्रमा देखिएका समस्या र चुनाती सम्बोधनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराईएको बताए ।
भेटमा प्रधानमन्त्रीले उद्योग क्षेत्रको सुधार र विस्तारका लागि बुँदागत सुझाव दिन भनेको पनि उनले जानकारी दिए ।
पछिल्लो समय तीनै तहका सरकारले विभिन्न शिर्षकमा लगाएको करले आफुहरुलाई आतंकित बनाएको भन्दै व्यवसायीले त्यसको विरोध गर्दै आएका छन् ।
उद्योग वाणिज्य महासंघको प्रतिनिधि मण्डलले सरकारले यत्रतत्र लगाएको करले व्यवसायी मारमा परेको बताएका थिए । प्रतिनिधि मण्डलको गुनासोपछि प्रधानमन्त्री ओलीले आफू मागका विषयमा सकरात्मक रहेको बताएका थिए ।