औंलाले क्यानभास रङ्‍ग्याउने प्रमिला

| 2018 Nov 03 | 02:20 pm 2332

काठमाडौं, कार्तिक १७: काठमाडौं विशालनगरकी प्रमिला गिरी उमेरले वृद्धा हुँदै गएकी छन् तर उनको ऊर्जा कुनै तन्‍नेरीभन्दा कम छैन।

चारदशक अघि पुरुष कलाकारको भीडमा एकाध महिलामध्येकी प्रमिला अझै युवा जोशमा चित्र कोर्छिन्। उनी अरुभन्दा फरक रुपमा कुचीको सट्टा औँलाले नै क्यानभास रङ्ग्याउछिन्। “कुचीले रङ भर्दा आत्मीयता भेट्दिन, औँलाले काम गर्दा रङ र क्यानभाससँग म अन्तक्रिया गर्छु”, प्रमिलाले भनिन्।

सन् १९६० को दशकतिर उनी भारतको बेङलोरस्थित शान्ति निकेतन अध्‍ययन गरेकी थिइन्। चार वर्ष पढेर फर्केपछि त्यो बेलाका कलाकार शशीविक्रम शाह, गोविन्द डङ्गोल, विजय थापालगायत मिलेर नेपालमा ललितकला क्याम्पस खोल्ने अभियान थाल्नुभयो । क्याम्पस खुलेपछि त्यहाँ १८ वर्ष कला पढाएको अनुभव उनीसँग छ ।

पहिलेपहिले कुचीमा पानी रङ चढाउन मन पराउने उहाँ विस्तारै तेल रङसँग खेल्न थालिन्। त्यही पनि औँलाले पोतेर। सिर्जनासँगै स्वदेश र विदेशमा कला प्रदर्शनी वृद्धावस्थामा समेत जारी छ ।

नर्वेका एन्डर्ससँग विवाह भए पनि कहिले नेपाल त कहिले नर्वे बसाइमा आफ्नो कला रोकिएन। नर्वेमा बनेका कला भने उताको प्रदर्शनीमा बेचेर उनी नेपाल आउथिन्। उनका कतिपय चित्र ११ लाखमा बिक्री भएका थिए। त्यहाँ पनि नेपालको सुन्दरता, कलात्मक विविधतालाई क्यानभासमा कैद गरेकी थिइन्।

देशको माटोको भाव जोगाउनुपर्छ भनेर धेरै कला उनले संरक्षण गरेको बताइन्। “किन्न खोज्ने धेरै छन्, तर नबेच्ने, प्रमिलाले भनिन्, भावी पुस्तालाई पनि राख्नुपर्‍यो नि ।”

उतिबेलाका मूर्तिकलाका उत्कृष्ट नमूना काठमाडौँको भृकुटीमण्डपलगायत विभिन्न स्थानमा अहिले पनि हेर्न पाइन्छ। चित्रकला तथा मूर्तिकलामा अब्बल उनको सोच अहिलेको शहरलाई वातावरणमैत्री कलाले सजाउने छ । “हरेक सरकारी कार्यालयले कला किनेर सजाउनुपर्छ, हरेक चोक र सार्वजनिक स्थल नेपाली कलाले भर्नुपर्छ, तबमात्र नेपालको वास्तविक झल्किन्छ”, प्रमिला थप्छिन्।

उतिबेला र अहिलेको अवस्थाको विश्लेषण भने उनी फरक तरिकाले गर्छिन्। अहिले कलाको अवस्था दयनीय बन्दै गएकोमा उनी दुखी छिन्। क्षमता विदेशीको दाँजोमा राम्रो भए पनि नेपालका राम्रा कलाकारले उचित वातावरण पाउन नसकेको उनको बुझाइ छ ।

प्रमिलाबाट हामीले कलाकारिताको शिक्षामात्र हैन कलाकारिता कै भविष्य कता लैजाने भन्ने कुराको मार्गनिर्देश पाउने एकजना कलाकार ज्योतिप्रकाश विक बताउछन्। उनी स्वार्थभन्दा माथि उठ्ने कलाकारको रुपमा गिरीलाई सम्झिन्छन्।

तिब्बत र भैरवको कला शृङ्खला

अध्ययनसँग कलाकारिता गर्ने उनले सन् १९९० ताका तिब्बतमा गरेको अध्ययनको फलस्वरुप जन्मियो तिब्बत कलाको शृङ्खला। तिब्बतको मूर्तिकला, चित्रकला, थाङ्का अनि त्यहाँको कलात्मक गुम्बा र दरबारको कलाले उनलाई तान्यो । “पहिलो पटक तिब्बत जाँदा देखेको वुद्धको ध्यान, धार्मिक आस्था, भाषा नबुझे पनि आँखाको इशारा अनि सरलताको भाव चित्रमा उतारेको छु,” गिरीले भनिन्, “त्यही भाव तिब्बत कला शृङ्खलामा छ ।”

तिब्बतको लामो बसाइको अनुभव नेपाल कला परिषद्मा एक सातादेखि जारी कला प्रदर्शनीमा हेर्न पाइन्छ । सन् २०१६ को कला प्रदर्शनीमा छुटेको कला यसपालि समावेश छ । यहाँ हिन्दू धर्मसँग जोडिएको भैरव कला शृङ्खलाले पनि निरन्तरता पाएको छ ।

तत्कालीन तन्त्र विद्याका अध्ययता श्रीधर शमशेर राणाबाट भैरव भनेको भिषण नाद (ठूलो आवाज) हो भन्ने बुझेपछि त्यसको सार खोज्न उनल अध्ययन गरिन्। पशुपतिनाथलगायत विभिन्न धार्मिक स्थल घुमेर भैरवको भाव, चरित्र, महत्व र अस्तित्व चित्रमा उतारेकी छन्। शुक्रबार नर्वेका कला पारखीको समूह आएर प्रदर्शनी अवलोकन गरे । नेपालीको पनि प्रदर्शनी अवलोकनमा भीड थियो।

नर्वेका स्भेरे नेडवर्गले गिरी कै कला प्रदर्शनीको समय मिलाएर नेपाल घुम्न आएको बताउँदै नेपालको प्रकृतिजस्तै उनको कला चम्किलो रहेको प्रतिक्रिया दिए। उनीसँगै हिल्डे, बेस्सी, एण्डर्सलगायतले पनि कला अवलोकन गरे । प्रदर्शनीमा क्यान्भासका चित्रसँगै ढलोट पित्तल, तामा तथा सिमेन्टबाट निर्मित कलाको मिश्रित रुप देख्न सकिन्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.