ओली-केसी जुहारी : माफिया पोस्‍ने पक्षमा ओली, निस्तेज पार्ने केसीको प्रण

| 2018 Jul 08 | 07:05 am 3269

काठमाडौं, असार २४: आठदिनदेखि चिकित्सा शिक्षा सुधारको विधेयक संसदमा जस्ताको त्यस्तै प्रस्तुत हुनुपर्ने मागसहित अनशनरत डा. गोविन्द केसी र माफिया पोस्‍ने विवादस्पद नयाँ विधेयक जबरजस्ती संसदमा पेस गर्न दबाब दिने प्रधानमन्त्री केपीशर्मा ओलीबिच अहिले जुहारीजस्तै चलेको छ।

आफ्ना माग पूरा नभए कर्णालीमै मर्न तयार रहेको डा केसी बताउछन् भने प्रधामन्त्री केपी शर्मा ओलीले मेडिकल कलेज खोल्न नरोक्ने भन्दै सरकारी कर्मचारीको हैसियतमा फर्कन चेतावनी दिएका छन्। स्वास्थ्य शिक्षा सुधारका मागसहित अघिल्लो शनिबारदेखि आमरण अनशन बसेका केसीले कर्णालीका जनता र विद्यार्थीमाथि सरकारले खेलबाड गरिरहेको बताए ।

‘राज्यले कर्णालीका जनताको स्वास्थ्य र शिक्षामा ध्यान नदिएकाले आमनेपालीको ध्यान केन्द्रित गर्न पवित्र भूमि कर्णालीमा मर्न तयार छु,’ उनले भने, ‘सरकारले चिकित्सा शिक्षा ऐन जस्ताको त्यस्तै र विगतमा भएका सम्झौताका आधारमा नल्याएसम्म सत्याग्रह जारी रहनेछ ।’

यता प्रधानमन्त्री केपीशर्मा ओलीले भने दुर्इ नम्बर प्रदेशका नेपाल कम्युनिस्ट पार्टीका सांसदसँग छलफल गर्दै कसी जनताको करबाट तलब खाने कर्मचारी भएकोले आफ्नो मर्यादामा आउन चेतावनी दिइरहेका छन्।

डा गोविन्द केसीको अनशन, विपक्षीको प्रतिरोध र नागरिक विरोधलाई बेवास्ता गर्दै मेडिकल माफियालाई पोस्‍ने गरी सरकारले विवादास्पद विधेयक संसदमा प्रवेश गराएको छ। केसीका मागलाई सम्बोधन गर्ने गरी यसअघि जारी भएको अध्यादेश निष्कृय भएपछि सरकारले अध्यादेशको भावना र प्रावधान विपरित विवादित विधेयक शुक्रबार संसदमा दर्ता गराएको हो।

मेडिकल माफियाको दबाब खेप्‍न नसकेपछि पेलेर जाने रणनीतिअनुसार ओलीले विधेयक ल्याएको हो। यसअघि संसद्‌मा दर्ता गराउन खोज्‍दा सबैतिरबाट विरोध भएको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयकलाई नयाँ विधेयकका रुपमा संसदमा दर्ता गराएको हो।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयू कक्षमा अनशनरत डा. केसीको स्वास्थ्य बिग्रँदै गएको छ । आमरण अनशनको आठौं दिन पुग्दा उनको स्वास्थ्यमा विभिन्न समस्या देखिएको उपचारमा संलग्न चिकित्सकको टोलीले जनाएको छ । अहिले उनको शरीरको मासु बाउँडिने, चक्कर लाग्ने, सेतो रक्तकोष क्रमिक रूपमा घट्ने र पिसाबमा किटोन बढी देखिन थालेको चिकित्सकले जानकारी दिएका छन् ।

पिसाबमा किटोन बढी देखिएकाले आईभी फ्ल्युट दिइएको चिकित्सक टोलीका संयोजक प्रवीण गिरीले बताए । ‘डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएकाले जतिखेर जे पनि हुन सक्छ,’ उनले भने, ‘हामीले सक्नेजति उपचार गरिरहेका छौं तर पाँच दिनसम्म कैदीबन्दीसरह फोहोर हलमा राखिएकाले पछि असर हुन सक्छ ।’

डा. केसीको स्वास्थ्य अवस्था बुझ्न र आन्दोलनप्रति ऐक्यबद्धता जनाउन नेपाल चिकित्सक संघका केन्द्रीय वरिष्ठ उपाध्यक्षको टोली जुम्ला पुगेको छ । संघका वरिष्ठ उपाध्यक्ष प्रा.डा. ढुण्डीराज पौडेल र सहकोषाध्यक्ष डा. प्रकाश बुढाथोकीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयू कक्षमा अनशनरत डा. केसीलाई भेटी आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.