ओलीसँग चौबीस जनाको प्रतिस्पर्धा

| 2022 Oct 18 | 07:35 am 1157

दमक, कात्तिक १ः प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नं. ५ ले सबैको ध्यान तानेको छ। पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन्।

सत्तासीन गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीसहित २५ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्। अघिल्लो निर्वाचनमा अधिकारीलाई दोब्बर मतान्तरले ओलीले जित हासिल गरेका थिए।

२०७४ सालको निर्वाचनमा नेकपा (एमाले)का अध्यक्ष ओलीले ५७ हजार १३९ मत ल्याएका थिए भने अधिकारीले २८ हजार २९७ मत पाएका थिए। त्यो समयमा तत्कालीन अवस्थामा नेकपा (माओवादी केन्द्र) र कमल थापा अध्यक्ष रहेको राप्रपाको समर्थन ओलीलाई रहेको थियो।

यो पटक पनि ओलीलाई राप्रपाको समर्थन रहेको छ। यस क्षेत्र राप्रपाको पकड भएको क्षेत्र मानिन्छ, राप्रपाका प्रदेश १ अध्यक्ष राम थापाले नेपाली कांग्रेस र माओवादी केन्द्रको समर्थनमा केही महिनाअघि भएको स्थानीय निर्वाचनमा नगरप्रमुखमा विजयी बनेका थिए। अहिले दुवै पक्ष राप्रपाको मतबाट जित्ने ध्यानमा लागेको देखिन्छ। जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभातर्फ २५ जनाको उम्मेदवारी रहेको छ। दुई महिलासहित १२ जना स्वतन्त्र छन्। यो क्षेत्रमा एक लाख ५४ हजार २८९ जना मतदाता रहेका छन्।

दमक र गौरादह नगरपालिका, कमल र गौरीगञ्ज गाउँपालिका गरेर चारवटा पालिका यस क्षेत्रमा पर्छन्। ओलीसँग प्रमुख प्रतिस्पर्धी हुनसक्ने आकलन गरिएका गठबन्धनका उम्मेदवार अधिकारी प्राध्यापन पेसा छाडेर पाँच वर्षअघि ओलीसँग निर्वाचनमा प्रतिस्पर्धा गर्न यहाँ आएका थिए। गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.