ओलीजीमा सत्ताको दम्भ र छटपटाहट देखियो : नेका उपसभापति निधि

| 2018 Sep 15 | 09:03 pm 2705

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि पार्टीभित्र आफ्नो छुट्टै विचार प्रस्तुत गर्ने नेताका रूपमा परिचित छन् । गान्धीवादी नेता स्वर्गीय महेन्द्रनारायण निधिका छोरा विमलेन्द्र निधि झण्डै चार दशकदेखि कांग्रेसको राजनीतिमा सक्रिय छन् । नेपाल विद्यार्थी संघको सदस्यबाट राजनीतिक यात्रा सुरु गरेका निधि नेपाल सरकारका उपप्रधानमन्त्रीको जिम्मेवारीसहितले गृह, भौतिकलगायतका मन्त्रालयको नेतृत्व गरिसकेका छन् । नेता निधिसँग वर्तमान राजनीतिक परिदृश्य र कांग्रेसको आन्तरिक व्यवस्थापनबारे रिपोर्ट नेपालले गरेको कुराकानीको अंश प्रस्तुत गरेका छौँ ।

० नेपाली कांग्रेस प्रतिपक्षमा भएकै कारण सरकारको हरेक कदममा विरोध गरेको भनिन्छ नि, सत्य के हो ?
– हामीले सरकारले गरेको राम्रा कामको विरोध गरेका छैनौँ । प्रतिपक्षको धर्म के हो भने सत्तापक्ष ट्र्याक भन्दा बाहिर जान थाल्यो भने त्यसलाई सही ट्र्याकमा ल्याउने हो । हामी आफ्नो धर्म अत्यन्तै जिम्मेवारीका साथ निर्वाह गरिरहेका छौँ ।

० तपाईंहरू सरकारलाई अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाइरहनु भएको छ, सरकार साँच्चिकै त्यो दिशातिर गएको हो र ?
– सरकारका धेरै क्रियाकलाप अधिनायकवादी र सर्वसत्तावादी देखिएका छन् । जुन कुरा हामीले मात्रै होइन देशकै चौथो अङ्ग सञ्चारजगतले समेत देखिरहेको छ । केपी ओली मुलुकको समग्र विकास भन्नुहुन्छ तर व्यवहारमा उहाँ नेपाली कांग्रेसलाई सत्तोसराप गर्न मात्रै खटिरहनु भएको छ । हामीले राज्यका चार अंग कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका र पत्रकारिता स्वतन्त्र हुनुपर्छ भनेका छौँ, तर सरकार यी सबै अंगमाथि प्रहार गरेर सर्वसत्तावाद र निरंकुशता लाद्न खोजिरहेको छ । जुन कुरा कांग्रेसलाई मान्य छैन ।

० सरकार तपाईंले भने जस्तै संविधान विपरीत हिँडेकै हो त ?
– सरकार संवैधानिक प्रावधानअनुसार चल्नुपर्नेमा संविधानको भावना र मर्ममाथि प्रहार गर्दै अगाडि बढिरहेको छ । प्रधानमन्त्री केपी ओलीको कुरा गर्नुहुन्छ भने उहाँले सुरुवात नै संविधान मिचेर गर्नुभएको छ । संसदका सपथ नखाँदै प्रधानमन्त्रीको सपथ खाएर संविधानलाई धज्जी उडाउनुभएको हामी सबैले देखेकै कुरा हो । तपाईंले संविधान पढ्नुभएकै होला । त्यसमा प्रष्टसँग उल्लेख भएको सभामुख र उपसभामुख एउटै दलको हुनुहुँदैन भन्ने कुरालाई पनि लत्याइएको छ ।

० सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी ओलीले त कांग्रेस सत्ताबाट बाहिर भएको पीडाले छटपटाएको आरोप लगाएका छन् त ?
– नेपालमा बहुदलीय व्यवस्थाको स्थापनापछि सधै सरकारमा बसेर त्यसको अनुभव बटुलेको कांग्रेसलाई सत्तामोह छैन । हामी छटपटाएका होइनौँ कि बरु प्रधानमन्त्री स्वयम् छटपटाइरहेका छन् । कांग्रेसले गलत क्रियाकलापको विरोध गरिरहेको छ । दुई तिहाई भएर पनि जनताको भन्दा आफ्नै चाहानामा व्यस्त भइयो भनेर ओलीजी छटपटाइरहनु भएको हामीले पाएका छौँ ।

० तपाईंहरू संविधानविपरीत सरकार गएको भन्नुहुन्छ, त्यसको तथ्य कुरा जनतालाई बताइदिनुस् त ?
– सरकारले दुई तिहाइको दम्भमा थुप्रै असंवैधनिक काम गरिरहको छ । न्यायपालिकामा ठाडो हस्तक्षेप गरिरहेको देखिरहेका छौँ । गोपाल पराजुलीबाट सुरु गरिएको आक्रमण अहिलेसम्म जारी छ । न्यायाधीशलाई आतंकित र अपमान गरिएको छ । संवैधानिक परिषदले सिफारिस गरेको व्यक्तिलाई संसदीय सुनुवाई समितिले दुई तिहाइको दम्भका साथ अस्वीकृत गरिएको छ । यतिखेर दुई तिहाइको त्रास देखाएर सबै क्षेत्रलाई आतंकित पार्ने काम भएको छ । सरकार जसरी अघिबढिरहेको छ त्यसलाई हेर्दा उसको प्रायजसो क्रियाकलाप अधिनायकवादी शैलीका छन् ।

० केन्द्रीय सरकारले प्रान्तीय सरकारलाई सिण्डीकेट लगाएको आरोप मुख्यमन्त्रीहरूले लगाउँदै आएका छन् । तपाईंहरूको धारणा के छ ?
– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ज्यादै अप्ठ्यारो परिस्थितिमा संघीय प्रणालीअनुरुपको निर्वाचन गराउनुभएको सर्वविदितै छ । चौतर्फी शंका–उपशंका भइरहेका बेला देउवाले दृढ संकल्पका साथ निर्वाचन गराउनुभयो । निर्वाचनपश्चात् संघीय संरचना बनेका छन् । संघीय सरकारलाई दिने अधिकारका विषयमा पर्याप्त मात्रामा दिइएको छैन । प्रान्तीय सरकारको हात बाँध्ने काम केन्द्रीय सरकारले गरेको सत्य हो । संघीयतालाई सुदृढ गर्न संघीय प्रणालीअनुसारको अधिकार र अवसर दिन धेरै काम बाँकी नै छन् । सरकारले पूर्ण अधिकार दिइरहेको छैन । जिल्लाका प्रमुख कर्मचारीहरू प्रदेश सरकारको मातहतमा राख्न दिइएको छैन । प्रशासनिक र सुरक्षा संयन्त्रलगायत विकास एजेन्सीहरू पनि प्रदेश सरकारको मातहतमा दिइएको छैन ।

० नेपाली कांग्रेस नीतिगत एजेण्डा नभएको पार्टी भन्ने गरिन्छ, सत्य हो ?
– विरोधिले जे आरोप लगाए पनि भयो, यस्तो बेतुकको आरोपमा हाम्रो कुनै प्रतिक्रिया छैन । नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकोले यो पार्टीले गर्ने हरेक क्रियाकलाप लोकतान्त्रिक विधिअनुरुप हुन्छन् भन्ने कुरा बुझ्न आरोप लगाउने साथीहरूलाई आग्रह गर्दछु ।

० नेपाली कांग्रेस पार्टीले संघीय संरचनाअनुसार पार्टीलाई अघि बढाउन नसकेको आरोपलाई चाहिँ तपाईं के भन्नुहुन्छ ?
– यो आरोप नभएर सत्य हो । तपाईंले भनेजस्तै गरी पार्टीलाई अघि बढाउन पर्ने थियो, तर हाम्रो आन्तरिक कारणले ढिलाई भएकै हो । यो कुरालाई पार्टी सभापति शेरबहादुर देउवाले मनन गरी पुर्णबहादुर खड्काको नेतृत्वमा विधान मस्यौदा समिति बनाउनुभएको छ । महासमितिको बैठकपश्चात् पार्टी संघीय संरचनाअनुसार अगाडि बढ्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.