- महेन्द्र पाण्डेय
आफ्नो पदको निरन्तरताका लागि मुलुकको शासन व्यवस्थालाई नै दाउमा राख्न प्रधानमन्त्री केपी शर्मा ओली उद्धत देखिएका छन् । मुलुकमा राज्यको उपस्थिति छ भन्ने अनुभव जनतालाई दिलाउन नसकेका कारण अलोकप्रिय बन्दै गएका प्रधानमन्त्री ओलीले ढाँट तथा छलकपटको राजनीतिलाई अरु तिब्र बनाएका छन् । ओलीकै कारण पार्टी नै धरासायी हुन लागेको भन्दै नेकपाकै वरिष्ठ नेताहरुले बैठक बोलाउन आग्रह गरेका छन् । तर त्यो आग्रहलाई प्रधानमन्त्री ओलीले शनिबार अस्वीकार गर्दै चुनौति दिए पनि आइतबार भने केही गलेजस्तो भएका छन् ।
मुलुक विषम परिस्थितिमा पुगेको बेला संसदको बैठक बोलाउन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पटक –पटक आग्रह गर्दै आएको छ, तर गत असारमै बजेट अधिबेशन अन्त्य गरेका प्रधानमन्त्री ओलीले हिउँदै अधिबेशन बोलाउने कुनै सुरसार गरेका छैनन् । सकेसम्म संसदको अधिबशेन नै नबोलाउने रणनीतिमा उनी छन् । तर संविधानले नै संसदको एउटा अधिबशेन र अर्को अधिबेशनको अवधी ६ महिना भन्दा बढी नहुने वाध्यकारी व्यवस्था गरेकोले आगामी पुस भित्रमा उनले कुनै पनि हालतमा संसदको अधिबेशन बोलाउनु पर्नेछ ।
तत्कालिन एमाले र माओवादी एकीकरण भई नेकपा निर्माणका क्रममा ओली र प्रचण्ड दुवै जना अध्यक्ष रहने व्यवस्था गरिएको थियो । तर यो व्यवस्थालाई ओलीले धोती लगाइ दिएका छन् । ओलीले भनेका छन् –‘म प्रथम अध्यक्ष हो । उहाँ द्वितीय अध्यक्ष । हामीकहाँ प्रथम अध्यक्षचाहिँ झन् सेरोमोनियल हुन्छ र ? द्वितीय अध्यक्ष भनेको द्वितीय अध्यक्ष नै हो । तैपनि, सभापतित्व गर्नुस् तपाईं भनेर छाडिदिएको छ । चलाउनुस् न त, छाडिदिएकै छ । अनि के पुगेन अझै ?’
मुलुकको संविधान तथा निर्वाचन आयोगले नेकपाको अध्यक्षका रुपमा ओलीलाई मात्रै चिन्ने भएका कारण पनि प्रचण्ड संकटमा परेका छन् । एकीकरणका बेला प्रचण्डले ‘जम्बो जेटका हामी दुई जना पाइलट’ भन्दै उद्घोष गरेका थिए । तर प्रधानमन्त्री समेत रहेका ओलीले यतिबेला दुई अध्यक्षको प्रावधानलाई धोती लगाइ दिएपछि प्रचण्ड संकटमा छन् । गत शनिबार उनी पूर्वप्रधानमन्त्रीद्धय माधव नेपाल र झलनाथ खनाल तथा पूर्व उपप्रधानमन्त्री द्धय बामदेव गौतम र नारायणकाजी श्रेष्ठलाई लिएर सचिवालयको बैठक बोलाउन माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । यो टोलीले प्रधानमन्त्री समत रहेका पार्टी अध्यक्ष ओलीलाई छिटो बैठक बोलाउन माग गर्दै निवेदन पनि दिएको छ । बैठक बोलाउनकै लागि ओलीलाई निवेदन दिनु पर्ने हैसियतमा पुगेका प्रचण्डले अझै पनि पार्टीको अध्यक्ष हुँ भन्न छाडेका छैनन् । यदी उनले आफुलाई पार्टीको अध्यक्ष ठानेका हुन्थे भने आफै बैठक बोलाउने थिए । बैठक बोलाइदेउ भन्दै निवेदन लिएर ओली कहाँ डेलिगेसन जानु पर्ने थिएन ।
प्रचण्डले के का लागि सचिवालयको बैठक बोलाउन माग गरेका हुन् ? र ओलीले बैठक बोलाउन किन आनाकानी गरेका हुन् ? भन्ने कुरा प्रष्ट छ । पार्टीको सचिवालय ९ सदस्य छ । जसमा प्रधानमन्त्री ओली, तीनजना उपप्रधानमन्त्री प्रचण्ड, नेपाल र खनाल, उपप्रधानमन्त्री इश्वर पोखरेल, दुईजना पूर्वउपप्रधानमन्त्रीहरु बामदेव गौतम र नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा छन् । जसमध्ये ५ जना प्रचण्डतिर छन्, चार जना ओली तिर छन् । प्रचण्डले सचिवालयको बैठकमा आफ्नो राजीनामाको प्रस्ताव राख्ने र त्यो प्रस्थाव बहुमतले पारित हुने कुरा ओलीलाई थाहा छ । त्यसैले उनी बैठक राख्न तयार छैनन् । त्यसैले बैठक बोलाउन माग गर्दै शनिबार बालुवाटार पुगेका पाँच जना नेताहरुलाई प्रधानमन्त्री ओलीले दुत्कारेर पठाएका हुन् । ओलीले प्रष्ट भनिदिएका छन् –‘कसैले माग गर्दैमा बैठक बस्दैन, आवश्यकता अनुसार बैठक बोलाउँछु, यदी मेरो यो कुरा मान्य छैन भने तपाँइहरुले जे सक्नु हुन्छ त्यही गर्नोस्, मैले जे सक्छु त्यही गर्छु ।’ ओलीले यसरी धम्की दिएको २४ घण्टा बित्न नपाउँदै आइतबार बरिष्ठ नेता माधव नेपाललाई बालुवाटार बोलाएर छलफल गरेका छन् ।
पार्टीका अत्यन्त सिनियर पाँच जना नेताहरुलाई दुत्कारेर पठाएपछि प्रधानमन्त्री ओलीले एक मिडियालाई अन्तरवार्ता दिँदै भनेका छन् –‘उहाँहरू आउनुभया े। पत्र बुझाएर जानुभयो । के छ त्यसमा, हेर्न बाँकी छ ।’ तर, बैठक बोलाउनेबारे ओलीको भनाइ छ, ‘जसले जतिखेर भन्यो त्यतिखेर बैठक बस्ने कुुरा होइन । जग हँसाउन बैठक बस्दैन ।’
उनले भनेका छन्–‘गुटमा सधैं प्रधानमन्त्रीको आलोचना गरेको छ, प्रधानमन्त्री भएन भनेको छ । प्रधानमन्त्री भएन भनेको के हो ? को हुनुपर्छ भनेको ? आफू हुनुपर्छ भनेको हो ?’ यसैगरी ओलीले भनेका छन् –‘त्यसभन्दा अगाडिको लडाइँ केका लागि थियो ? के इस्यु थियो ? व्यक्तिगत स्वार्थ, व्यक्तिगत महत्वाकांक्षा, व्यक्तिगत कुण्ठा र ईष्र्या बाहेक के थियो ? सैद्धान्तिक मुद्दा थियो ? वैचारिक मुद्दा थियो ? राष्ट्रिय मुद्दा थिए केही ? केही पनि थिएनन्, खाली गुटबन्दी गर्ने, गुटका बैठक बस्ने, त्यहाँबाट निहुँ खोज्ने, त्यति न थियो । त्यो दुष्प्रयास सफल नभएपछि सहमति खोज्नुपरेको हो । सहमति खोज्न मानियो । मञ्जुर गरियो । सहमति जसरी भए पनि चाहिएको थियो । जे–जे भनेर सहमति हुन्छ भने त्यही गरौं भनेर गरियो । म महाधिवेशनबाट निर्वाचित अध्यक्ष हँु । अहिले पनि त्यही हैसियतमा यता पनि प्रथम अध्यक्ष हँु । अरू कसैको कतै बहुमत छ, मेरो प्रतिस्पर्धामा प्रतिद्वन्द्वितामा कसैको बहुमत छ, म अल्पमतमा परें भन्ने कसैलाई भ्रम नरहोस ।’
प्रधानमन्त्री ओलीले आफ्ना कुरा सार्वजनिक रुपमै प्रष्ट गरिसकेका छन् । प्रचण्डका अगाडि कि त पार्टी विभाजन, कि त आत्मा समपर्ण बाहेक अर्को विकल्प छैन । यदी यी पाँच जनाको साथ सहयोग प्रचण्डले पाउन सके भने ओलीलाई फाल्न सजिलै सक्छन् । तर साथ सहयोग लिनका लागि उनी आफै भावि प्रधानमन्त्रीका रुपमा प्रस्तुत भएर सम्भव छैन । माधव नेपाल समुहसँग पनि प्रचण्ड प्रति ओली जत्तिकै तीतो अनुभव छ । केही महिना अघिसम्म ओलीले प्रचण्डकै सहयोगमा आफुलाई पेलेको तीतो अनुभव नेपालसँग छ । त्यतिबेला प्रचण्डले ओली र नेपाल बीच फाटो ल्याउने र आफु हावी हुने रणनीति अवलम्वन गरेका थिए । यो रणनीतिमा उनी सफल भए, तर आफु हावी हुने रणनीतिमा भने सफल हुन सकेका छैनन् । माधव नेपालको साथ विना उनले ओली फाल्दैनन् । आफू प्रधानमन्त्री बन्ने अवस्था भए मात्रै ओली फाल्न माधव तयार हुने अवस्था छ । ओलीलाई फालेर माधवलाई प्रधानमन्त्री बनाउनु भनेको प्रचण्डका लागि अर्को आत्माघाती कदम हुनेछ ।
यता ओलीलाई फाल्ने एक मात्रै बाटो भनेको प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव ल्याउनु हो । तर नेपाली कांग्रेसको सहयोग विना ओली विरुद्ध ल्याइने अविश्वासको प्रस्ताव सफल हुन सक्दैन । प्रचण्डलाई प्रधानमन्त्री बनाउनका लागि कांग्रेसले साथ दिने सम्भावना छैन । किनकी २०७४ असारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो राजनीति दाउमा राखेर प्रचण्डकी छोरीलाई भरतपुर महानगरपालिकाको मेयर बनाए । तर असोज सकिँदा नसकिँदै देउवालाई ज्यादै ठुलो धोका दिएर प्रचण्ड ओली सँग मिल्न गए । त्यसैले फेरी अर्को पटक धोका पाउनका लागि देउवाले प्रचण्डलाई साथ दिने सम्भावना छैन । यता तत्कालिन माओवादीद्धारा निर्वाचत भएका ५३ सांसदमध्ये आधाजसोले प्रचण्डको साथ छाडिसकेका छन् । उदाहरणका लागि रामबहादुर थापा वादल, कृष्णबहादुर महरा, हरिवोल गजुरेल, लेखराज भट्ट, चक्रपाणि खनाल, मणि थाप, टोपबहादुर रायमाझी लगायत तत्कालिन माओवादीका धेरै नेताहरु प्रचण्डलाई कुनै पनि हालतमा पनि पार्टीमा हावी हुन नदिने अभियानमा छन् । यता नारायणकाजी श्रेष्ठ लगायतका केही नेताहरु माधव नेपालको पक्षमा उभिएका छन् । प्रचण्डको यो कमजोर अवस्थाका कारण नै ओली उत्साहित भएका हुन् । तर ओलीको यो उत्साहको परिणाम मुलुककै लागि घातक हुने देखिएको छ ।