ओलम्पियनलाई साउनदेखि आजीवन मासिक भत्ता

रिपोर्ट नेपाल | 2018 Jul 30 | 06:45 am 1828

काठमाडौं, साउन १४: राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले हालसम्मका नेपाली ओलम्पियनलाई साउनदेखि आजीवन मासिक भत्ता उपलब्ध गराउने भएको छ ।

राखेपद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा शुरुवातका रुपमा ओलम्पियनलाई साउनको भत्ता उपलब्ध गराइयो। असी ओलम्पियनलाई जनही तीन हजारका दरले रकम उपलब्ध गराइएको हो। नेपालले सन् १९६४ मा टोकियोमा भएको ओलम्पिकदेखि सहभागिता जनाउन शुरु गरेको थियो।

त्यस्तै पहिलो दक्षिण एसियाली खेलकूद (साग) देखि १२ औँ सागका स्वर्ण विजेतालाई पनि सोही कार्यक्रममा पुरस्कृत गरियो। चौरानब्बे ९४ स्वर्ण पदकधारीलाई मासिक पाँच हजारका दरले कूल रु ४० लाख वितरण गरियो । विसं २०७४ मंसिरदेखि २०७५ असारसम्म जम्मा आठ महिनाको मासिक रु पाँच हजारका दरले दिनुपर्ने पुरस्कार वितरण गरिएको हो।

त्यस्तै एसियाली खेलकूदका पदक विजेतालाई पनि २०७४ मंसिरदेखि २०७५ असारसम्म आठ महिनाको एक पदकका लागि रु पाँच हजारका दरले रकम प्रदान गरिएको थियो । आठ जनालाई जम्मा रु चार लाख ४० हजार वितरण गरिएको छ ।

आर्थिक वर्ष २०७४-७५ मा स्वदेश र विदेशमा भएका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेता पुरस्कृत भए। ४१२ खेलाडीलाई जम्मा १९ लाख २५ हजार प्रदान गरियो ।

त्यसैगरी राखेपको आयोजनामा भएको राखेप च्याम्पियनसिपका विभिन्न खेलका उत्कृष्ट पुरुष र महिला खेलाडी पनि पुरस्कृत भए । गत माघको पहिलो साता सम्पन्न प्रतियोगितामा विभिन्न ३० खेल समावेश गरिएका थिए । तीस खेलकै उत्कृष्ट पुरुष-महिला खेलाडीले जनही १५ हजार पाए । तेक्वान्दोको हकमा भने ग्योरोगी र पुम्सेमा छुट्टै उत्कृष्ट पुरुष÷महिला खेलाडी चयन गरिएकाले चारै जनालाई जनही सात हजार ५०० नगद पुरस्कार दिइयो ।

श्रष्टा सम्मानित

प्रदेश नं ५ मा मंसिरमा हुने आठौँ राष्ट्रिय खेलकूदको लोगो र मस्कट डिजाइनर तथा गीत र नाराका रचनाकारलाई पनि सम्मान गरिएको छ। लोगो र मस्कट सन्तोष विष्टले डिजाइन गरेका थिए । विष्टलाई लोगोका लागि रु ४५ हजार र मस्कटका लागि रु ३५ हजार नगद पुरस्कारसहित सम्मान गरियो।

त्यस्तै गीत रचनाकार नारायण खतिवडालाई रु २५ हजार र नारा रचनाकार राखेपका सदस्य–सचिव केशवकुमार विष्टलाई पुरस्कृत गरियो। सदस्यसचिव विष्टले भने आफ्नो पुरस्कार रकम राखेपकै खातामा जम्मा गर्ने बताए। सोही अवसरमा संगीतकार वसन्त सापकोटालाई पनि प्रशंसापत्रबाट सम्मान गरिएको थियो।

पदक विजेता र पत्रकार सम्मानित

सोही कार्यक्रममा युवा तथा खेलकूद मन्त्रालयले पाँच पदक विजेता खेलाडीसहित दुई खेल पत्रकारलाई सम्मान गरेको थियो। खेलकूद पुरस्कार तथा सम्मान कार्यविधि २०७२ बमोजिम आव २०७४-७५ मा भएका अन्तर्राष्ट्रिय च्याम्पियनसिपका पदक विजेता पाँच खेलाडीलाई नगदसहित सम्मान गरिएको हो ।

कम्बोडियामा भएको विश्व खुन खेमर च्याम्पियनसिपका स्वर्ण पदक विजेता अनिशा खड्का र राहुल थोकर लामालाई जनही रु एक लाख नगदसहित सम्मानपत्रद्वारा सम्मान गरियो । मंगोलियामा भएको नवौँ विश्व शारीरिक सुगठन च्याम्पियनसिपकी रजत विजेता ननिता महर्जन रु ६५ हजार तथा सोही प्रतियोगिताका कांस्य पदक विजेता रुजेश शाही रु ३५ हजार नगदसहित सम्मानित भए ।

त्यस्तै दक्षिण कोरियामा भएको ५१औँ एसियाली पुरुष भारोत्तोलनका कांस्य पदक विजेता कमल भण्डारीलाई रु ३५ हजार नगदसहित सम्मान गरियो । सम्मानित हुने पत्रकारमा नेपाल टेलिभिजनका राजु सिलवाल र बिबीसी नेपाली सेवाका खेल पत्रकार निरञ्जन राजवंशी रहेका छन् । दुवैलाई जनही रु ५० हजारसहित सम्मानपत्र प्रदान गरियो । उनीहरुलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, खेलकूद मन्त्रालयका सचिव मोहनप्रकाश सापकोटा, राखेपका सदस्य–सचिव केशवकुमार विष्टलगायतले सम्मान गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.