ओरालो लाग्दै वैद्यखाना, औषधि उत्पादन ठप्प

रिपोर्ट नेपाल | 2020 Nov 24 | 08:35 am 2037

काठमाडाैं, मंसिर ९ः कोभिड–१९ संक्रमण बढिरहेका बेला रोगप्रतिरोधी क्षमता वृद्धि गर्ने आयुर्वेदिक औषधिको माग ह्वात्तै बढेको छ । भाइरससँग लड्न कुनै खोप तथा औषधि प्रयोगमा नआइसकेकाले उपभोक्ताले कोभिड–१९ को संक्रमणबाट जोगिन आयुर्वेदिक औषधिको प्रयोगमा जोड दिइरहेका छन् । तर यस्तो बेला सरकारी स्वामित्वमा रहेको सिंहदरबार वैद्यखाना विकास समितिले आयुर्वेदिक औषधि उत्पादन नगर्दा अभाव भएको छ ।

नेपालको सबैभन्दा पुरानो आयुर्वेदिक औषधि उत्पादन गर्ने वैद्यखानामा शरीरलाई तागत दिने र रोगप्रतिरोधी क्षमता बढाउने शिलाजित, पीडाहर, आसव अरिष्टजस्ता महत्वपूर्ण आयुर्वेदिक औषधि उत्पादन बन्द हुँदा अभाव भएको हो ।

साइड असर नगर्ने हुँदा आयुर्वेदिक औषधि प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको र यस्तो अवस्थामा ठूलो मात्रामा व्यापार गर्न सक्ने अवसर प्राप्त भए पनि सिंहदरबार वैद्यखानामा भण्डारण गरिएका अधिकांश आयुर्वेदिक औषधि सकिएका मात्र छैनन्, उत्पादन पनि ठप्पै भएको छ । यसको प्रत्यक्ष फाइदा निजी आयुर्वेदिक औषधि उत्पादक कम्पनीहरूले लिइरहेको छन् । आयुर्वेदिक औषधि उत्पादन गरेर फाइदा लिन सक्ने अवसर प्राप्त भए पनि सरकारले उत्पादनमा खासै चासो देखाएको छैन । सरकारी कम्पनीले आयुर्वेदिक औषधि उत्पादन नगरेपछि निजी क्षेत्रले चर्को मूल्यमा उपभोक्तालाई गुणस्तरहीन औषधि बिक्री गरिरहेको सरकारी अधिकारीहरूकै दाबी छ ।

वैद्यखानाका केही कर्मचारीले नै आयुर्वेदिक औषधि उत्पादन गर्ने निजी कम्पनीसँगको मिलेमतोमा वैद्यखानाले उत्पादन गर्दै आएका आयुर्वेदिक औषधि उत्पादनमा बेवास्ता गर्दा अभाव सिर्जना भएको त्यहींकै कर्मचारीको भनाइ छ । वैद्यखानाका उत्पादनमध्ये सर्वाधिक बिक्री हुने च्यावनप्रास, शिलाजितलगायत औषधि नपाउँदा दैनिक सयौंको संख्यामा आउने ग्राहक खाली हात फर्कन बाध्य छन् । औषधि उत्पादनका लागि करोडौंमा खरिद गरिएका उपकरणहरू पनि त्यतिकै थन्किएका छन् । सिंहदरबार वैद्यखानामा आयुर्वेदिक मलम खोज्दै दिनप्रतिदिन सयभन्दा बढी सेवाग्राही आउने गरे पनि वैद्यखानाको औषधि पसलमा पाइँदैन ।

अहिलेको समयमा निजी संस्थाहरूले रातारात करोडौं आम्दानी गर्दा सिंहदबार वैद्यखाना भने टाट पल्टिने अवस्थामा पुगेको छ । कतिपय कर्मचारी आफूले सरकारी संस्था जोगाउनुपर्ने आवाज उठाउँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च अधिकारीले चासो नदेखाएको आरोप लगाउँछन् । नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.