नेपालगन्ज, मंसिर २८ : बाँके राप्ती सोनारी ८ ओभरी गाउँ यति वेला पुरै गाउँ शोकमा डुबेको छ । जन्ती बोकेको स्कारपियो र बस एक आपसमा जुझ्दा ६ जनाको मृत्यु भएपछि बाँकेको ओभरी शोकमा डुबेको हो ।
शोकमा रहेका ओभरी यतिवेला सुनसान बनेको छ । यहाँका मानिसहरू निःशब्द छन् । प्रत्येकको मुहार मलिन छ । घरी भक्कानिन्छन् त कोही मृतक आफन्तलाई सम्झिएर चिच्याउँछन् । सम्झाउने मान्छे समेत छैनन् । ‘हिजो रातिसम्म खुसीयाली थियो । बिहानै गाउँमा सन्नाटा छाएको छ ।’

वडा अध्यक्ष खिमबहादुर बस्नेतले भने,—‘यहाँ सम्झाउनेसम्म मान्छे छैनन् । सबैका आफन्त घटनामा परेका छन् । कसले कसलाई सम्झाई दिने ? हामी अब गर्नुपर्ने धार्मिक काममा खटिएका छौँ ।’ वडा अध्यक्ष बस्नेतका अनुसार, ध्वजापताकाले सजिएको विवाह घरमा अहिले शोकले भरिएका आफन्त र गाउँलेहरू जम्मा भएका छन् । मृतकहरूको शव शुक्रवार नै दाहसंस्कार गरिएको छ । जन्ती गएका नै अन्तिम संस्कारका लागि घाटमा पुगेका थिए ।
रमाइलो ठाउँमा दुखको अनुहार देखाउन परेको छ एक स्थानीयले भने । प्रदेश सभासद् कृष्णा केसीले उक्त घटनाले आफूलाई मर्माहत बनाएको बताए । ‘सुन्दै अपत्यारिलो घटनाले मलाई निकै दुःखी बनायो ।’ उनले भने । मृतकहरू शिक्षकदेखि व्यवसाय क्षेत्रमा क्रियाशीलहरू छन् । विवाहको जिप बिहीबार बिहान दुई बजेतिर दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक दुर्घटना हुँदा बेहुलाका आमा बुवा सहित छ जनाको निधन भएको थियो ।

चितवन गितानगरबाट बेहुली लिएर बाँके घर फर्किने क्रममा बा १२ च ३१२२ नम्बरको स्कारपियो जिप र महेन्द्रनगरबाट काठमाडौँतर्फ जाँदै गरेको ना ५ ख ४०९० नम्बरको बस बिहीबार बिहान २ बजेतिर एक आपसमा ठोक्किएको थियो । उक्त दुर्घटनामा परी मृत्यु हुनेहरूमा राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ निवासी ५३ वर्षीय मानबहादुर केसी, ४५ वर्षीया विमला खत्री, ४९ वर्षीय विश्वनाथ अधिकारी, ५ वर्षीय प्रविण केसी, ३१ वर्षीय दीपककुमार खड्का र बाँकेको कोहलपुर नगरपालिका १२ निवासी ७८ वर्षीय दत्तबहादुर खत्री रहेको इलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ ।
मानबहादुर केसी र विमला खत्री बेहुला यज्ञ खत्रीका आमा बुवा हुन् । दुर्घटनामा बेहुलाकै आफन्त ४५ वर्षीया गितादेवी खत्री र चालक २१ वर्षीय यमबहादुर मगर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा राखिएको छ । बेहुला र बेहुली भने अर्को गाडीमा थिए । बुवा आमा र आफन्त चढेको जिप भने विपरीत दिशाबाट आइरहेको बससँग ठोक्किएको हो ।