कञ्चनपुर, मंसिर १२: जिल्लाको भीमदत्त नगरपालिका–१५ गोबरैयामा एक युवकलाई कुटेर हत्या गरिएको छ।
हत्या हुनेमा महाकाली नगरपालिका–३, दोधाराचाँदनीका २२ वर्षीय दीपक पन्त रहेका छन् ।
बिहीबार दिउँसो कुटपिटबाट हत्या भएको कञ्चनपुरका प्रहरी प्रमुख, एसपी दिनेशकुमार आचार्यले जानकारी दिए।
ओभरटेक गरेर गएको भन्दै रोकेर ती युवकलाई कुटपिट गरिएको हो।
कुटपिटबाट गम्भीर घाइते पन्तको उपचारका लागि भारततर्फ लैजाने क्रममा बाटैमा मृत्यु प्रहरीले जनाए ।
बुवा बिशन पन्तसँगै दोधाराबाट महेन्द्रनगर बजार आएका युवक पन्त घरतर्फ फर्किने क्रममा गोबरिया नजिकै केही युवाहरूको मोटरसाइकल ओभरटेक गरेर अघि बढेका थिए।
प्रहरीले कुटपिटमा संलग्न पाँच जना युवालाई तत्कालै पक्राउ गरेको छ। उनीहरूको साथबाट मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ।
नियन्त्रणमा लिएका उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाए ।
प्रहरीका अनुसार कुटपिटमा संलग्न रहेका युवाहरू लागूऔषध प्रयोगकर्ता हुन्। उनीहरू विभिन्न चोरीका घटनामासमेत संलग्न रहँदै आएका थिए। तीमध्ये केही यसअघिसमेत विभिन्न घटनामा पक्राउ परेर छुटेका व्यक्ति भएको खुल्न आएको छ ।