ओपेकको सदस्यता त्याग्दै कतार

रिपोर्ट नेपाल | 2018 Dec 03 | 04:23 pm 1995

दोहा, मंसिर १७  : खाडी राष्ट्र कतारले पेट्रोलियम निकासीकर्ता मुलुकहरुको सङ्गठन (ओपेक) को सदस्यता अर्को महिनाबाट त्याग्ने घोषणा गरेको छ । कतारका ऊर्जा मन्त्री साद अल–काबीले अब कतारले ग्यास उत्पादनमा केन्द्रित गर्ने घोषणा गरे ।

काबीले सोमबार दोहामा आयोजित पत्रकार सम्मेलनमा भने, ‘कतारले जनवरी २०१९ देखि लागू हुनेगरी ओपेकको सदस्यता त्याग्ने निर्णय गरेको छ ।’उनले कतारले तेल उत्पादनलाई निरन्तरता दिने भएपनि ग्यास उत्पादनमा आफूलाई केन्द्रित गर्ने जानकारी दिए । कतार विश्वमै तरल प्राकृतिक ग्यासको सबैभन्दा ठूलो निर्यातक मुलुक हो ।

‘हामीसँग तेलको त्यति ठूलो सम्भावना छैन, हामी यथार्थपरक हुनै पर्दछ । हाम्रो क्षमता नै ग्यास हो,’ मन्त्री साद अल–काबीले भने ।सन् १९६१ मा कतार ओपेकको सदस्य भएको थियो । मन्त्री काबीले कतारको निर्णयका बारेमा ओपेकलाई पूर्व जानकारी दिइएको बताए ।

ओपेकमा तेलको धनी राष्ट्र साउदी अरेबियाको प्रभुत्व छ । साउदी अरेबियाले ओपेकमा आबद्ध केही देशको गठबन्धन बनाई जुन २०१७ देखि कतारमाथि नाकाबन्दी गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.