ऐतिहासिक १३ तले आकाशदेवी मन्दिर, पर्यटकको पर्खाईमा

| 2023 Aug 22 | 03:45 pm 6085

अर्घाखाँची, भदाै ५ । लुम्बिनी प्रदेशमा पर्ने एउटा पहाडी जिल्ला हो अर्घाखाँची । यसको सदरमुकाम सन्धिखर्क हो। यस जिल्लामा ६ वटा स्थानीय तहहरू छन्, जसमध्ये ३ नगरपालिका र ३ गाउँपालिका छन यस अन्तरगतको एउटा पालिका छत्रदेव गाउँपालिका हो  । यसमा ८ वटा वडा रहेका छन, समुन्द्री सतह देखी करिब १२५० मिटर उचाईमा यो गाउँपालिकाको केन्द्र रहेको छ भने यसको कार्यालय छत्रगन्जमा राखिएको छ ।

यो गाउँपालिकाको नामाकरणसगँ धार्मिक इतिहास जोडिएको पाइन्छ । करिब ५००० वर्ष अगाडी कुरुक्षेत्रमा भएको महाभारत युद्धमा युद्ध अवलोकन गर्न आएका छत्रमहाराजको शिर भगवान श्री कृष्णबाट छेदन  भएपछि पहाडी खण्डको यस क्षेत्रमा आफु बस्ने चाहाना गरे बमोजिम भगवान श्री कृष्णले उलुक छत्रमहाराजको मन्दिर यहाँ स्थापना गरेको जनश्रुति रहेको छ ।

उक्त मन्दिरमा परम्परा देखि हालसम्म दशैमा ठूलो मेला लाग्ने गरेको छ । छत्रमहाराजको मन्दिर र छत्रमहाराज बसेको स्थान भएकोले यसको नाम छत्रदेव गाउँपालिका राखिएको हो । गाउँपालिकाको पूर्वमा गुल्मी जिल्ला,पश्चिममा सन्धिखर्क नगरपालिका,उत्तरमा मालारानी गाउँपालिका र गुल्मी जिल्ला, दक्षिणमा पाणिनि गाउँपालिका रहेका छन् र यो गाउँपालिकाका सबै वडाहरुमा चर्चित धार्मिक मठ मन्दिरहरु रहेका छन् ।

वडा नं १ को एतिहासिक कालिका मन्दिर ,२ मा रहेको मस्जिद, ३  मा रहेको मालिका मन्दिर, ४ मा रहेको कालिका मन्दिर, ५ मा रहेको  छत्रमहाराज देबालय, ६ मा रहेको मालिका मन्दिर , ७ मा रहेको  श्री आकाशदेबी मन्दिर (ताराखसे मन्दिर पनि भन्ने गरिन्छ), ८ मा रहेको अर्घातोष मन्दिर लगायतका दर्जन बढी मन्दिरहरु रहेका छन् ।

मन्दिरहरुमध्ये छत्रदेव ७ बाहिगाउँमा रहेको ताराखसे भन्ने स्थानमा जिल्लाकै अग्लो मन्दिर निर्माण गरिएको छ ।  एतिहासिक एवम् धार्मिक श्री आकाशदेवी मन्दिर छुट्टै पहिचान र महत्व बोकेको मन्दिर हो । मध्यपहाडि क्षेत्रको सितल जलबायुमा रहेको आकाशदेवी मन्दिर सामुन्द्रिक सतहबाट १३५० मिटरको उचाईमा रहेको छ ।

किम्बदन्ति अनुसार परापुर्वकालमा उल्कापात हुदाँ उक्त स्थानमा एक प्राकृतिक पोखरी बनेको थियो र सोहि उल्काको एउटा टुक्रा केहि तल गई अर्को प्राकृतिक पोखरी बनेको थियो । उक्त पोखरीलाई चुरनपोखरी नामाकरण गरिएको थियो भन्ने विश्वास रहिआएको छ  । हाल यो पोखरी भेटिदैन यति ठुलो महत्व बोकेको पोखरी पुरिएको भनाई छ । ताराखसे पोखरीको उत्तर पुर्वमा परापुर्व कालदेखीको एउटा लेवासको गाझ रहेको छ , जहाँ नाग भगवानको स्थापना गरिएको छ ।

नाग देवताले रगतको वलि नखाने हुदाँ उक्त पोखरीमा वलिको रगत पारिदैन । यो लेवासको गाझमा ठुलो दैविक शक्ति रहेको छ ।  दुर्गापुजाको समयमा नाग भएको स्थानमा धिपिधिपि बत्ति बलेको देखिएपछि धर्मागत न्यौपाने , देउदत्त न्यौपाने , टिका न्यौपानेका सन्तानले धार दिने, नयाँ अन्नवालि स्याहार्दा उक्त स्थानमा चढाउने गरि पुजाको सुरुवात गरेको पाइन्छ ।

पछि धर्मागत न्यौपाने र रेणु पाण्डेको अगुवाईमा गाउँको सहयोगमा खरको छानो भएको कोट निर्माण गरि पुजाको सुरुवात गरिएको पाईन्छ । यो मन्दिर २००८ सालमा स्थापना भएको थियो र हाल पुनः निर्माण हुदै जिल्लाकै अग्लो १३ तले  मन्दिरको रुपमा निर्माण सम्पन्न भईसकेको छ । यति ठूलो महत्व बोकेको यो मन्दिर पछिल्लो समय ओझेलमा पर्न थालेको छ, जिल्लामै पहिलो पटक १३ तला अग्लो मन्दिर बन्दा पनि धेरैलाई थाहा नहुनु,  यातायातको राम्रो पहुँच नहुनुले मन्दिर ओझेलमा परेको स्थानीयको भनाई रहेको छ ।

मन्दिरमा आएर दर्शन गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको पुजारी बिष्णु प्रसाद मरासिनीले बताउनुभयो । सुन्दर स्थलमा रहेको यो मन्दिर प्रसार प्रसारको कमीले ओझेलमा परेको स्थानिय युवा शोभाखर न्यौपाने अतितको भनाइ छ । यसको महत्त्वलाई देश विदेशमा चिनाउन सके यो क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने अध्यक्ष कृष्ण पाण्डेले बताउनुभयो ।

चिताएको पुग्ने तथा मनोकांक्षा पूरा हुने धार्मिक विश्वासले मानिस यहाँ आउने गरेको सचिव मनिलाल न्यौपानेले बताउनुभयो । मन्दिर परिसर भित्र देवीको मुर्ती, शिव, गणेश तथा नागको मुर्ती छ, मन्दिरमा तीज, शिवरात्रि, रामनवमी, बालाचतुर्दशी , जन्माष्टमी र दशैंमा ठुलो  मेला लाग्ने गर्दछ।

सिमित स्रोत र साधनका बीचमा पनि ऐतिहासिक र धार्मिक क्षेत्रको प्रवर्धनमा ध्यान दिदै असिमित माग र चाहानालाई पूरा गर्ने कोसिस गरिरहेको गाउँपालिकाले जनाएको छ । यो सँगै धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरेर आन्तरिक तथा बाह्य धार्मिक पर्यटक भित्र्याउन गाउँपालिकाले भूमिका खेल्नुपर्ने स्थानीयको भनाइ छ ।

छत्रदेब गाउँपालिकाले गाँउपालिका भित्रका ऐतिहासिक महत्व बोकेका धार्मिक एवम् ऐतिहासिक क्षेत्रको प्रबर्धन गर्न सके छत्रदेब गाउँपालिका देशकै सर्वोत्कृष्ट गाँउपालिका बन्ने निश्चित छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.