ऐतिहासिक रेसुङ्गा तपोभुमीमा गरुडको मूर्ति अनावरण

| 2023 Sep 17 | 04:44 pm 2341

गुल्मी, भदौ ३१ । ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय क्षेत्र रेसुङ्गा तपोभूमीमा  स्थापना गरिएको गरुडको मूर्तिमा प्राण प्रतिष्ठा गरिएको छ । गुल्मी युनाइटेड साकोस तम्घासले  आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रेसुङ्गा गरुडस्थानमा  स्थापना गरिएको मूर्तिको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले एक समारोहका बीच अनावरण गरेका थिए ।

गुल्मी युनाइटेड साकोसका कार्यवाहक अध्यक्ष रामप्रसाद पन्थीले मूर्तिको अनावरणसंगै रेसुङ्गा संरक्षण समितिलाई हस्तान्तरण समेत गरेका थिए । उक्त कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै नगरप्रमुख खिलध्वज पन्थीले रेसुङ्गालाई धार्मिक एवम् पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि आफू निरन्तर लाग्ने प्रण गर्दै यहाँको विकासका लागि बहु-वर्षिय योजनाको रुपमा अघि बढाउने बताएका थिए ।

त्यस्तै, रेसुङ्गामा धेरैभन्दा धेरै आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउनका लागि नगरपालिकाले ‘जाऊ हिँड रेसुङ्गा’ अभियानको सुरुवात गरिएको समेत बताएका थिए ।  यस अभियानलाई प्रभावकारी बनाउन र रेसुङ्गाको महिमा बारे जानकारी दिन देशका मुख्य शहरहरुमा  कार्यक्रम  सुरुवात गर्ने समेत प्रमुख पन्थीले बताएका थिए ।

पाँच लाख रुपियाँको लागतमा गरुडको मूर्ति एवम् संरचना निर्माण गरिएको संस्थाले जनाएको छ । यस क्षेत्रमा पहिले पनि गरुडको मूर्ति रहेको पछि जिर्ण भएको हुँदा यहाँ पुनः गरुडको मूर्ति निर्माण गरिएको गुल्मी युनाइटेड साकोसले जनाएको छ । गरुड भगवानको प्राण प्रतिष्ठाको विधिवत् पूजाआजा सहकारीका कार्यवाहक अध्यक्ष रामप्रसाद पन्थीले गरेका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.