‘ए’ डिभिजन लिग आज तीन खेल हुँदै

रिपोर्ट नेपाल | 2018 Nov 23 | 12:41 pm 1949

काठमाडौं, मंसिर ७: शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज तीनवटा खेल हुँदैछन्।

आज पहिलो खेल एन्फा मैदान सातदोबाटोमा ब्रिगेड ब्वाइज क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच हुनेछ। अर्को खेल सोही मैदानमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ। तेस्रो खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा मछिन्द्र क्लब र सङ्कटा क्लबबीच हुनेछ।

ब्रिगेड ब्वाइज अघिल्लो दुई खेलमा पराजित हुँदै लिग अङ्क तालिकाको पुछारमा छ, भने एपिएफ एक जीत र एक बराबरीका साथ चार अङ्क जोड्दै तालिकाको सातौँ स्थानमा छ।

यस्तै आजै हुने अर्काे खेलमा दिउँसो २.३० बजे हुने दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब तीन अङ्कका लागि भिड्नेछन् । दुबै टिमले लिगमा एक जीत र एक बराबरी खेलेका छन् र समान चार-चार अङ्क जोड्दै क्रमशः लिगको सातौँ र आठौँ स्थानमा छन्।

घरेलु फुटबलमा पुलिस क्लब बलियो टोली हो। युवा खेलाडीको आगमनसँगै प्रभावशाली प्रदर्शन गर्दै आएको पुलिसले यसपटक लिग उपाधिलाई लक्ष्य बनाएको छ।

पुलिसका प्रशिक्षक अनन्त थापाले पुलिसको लक्ष्य उपाधि भएको बताइसकेका छन् । यता राष्ट्रिय टोलीका मुख्य खेलाडी नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की, विकेथ कुथु, भरत खवासलगायत खेलाडीले भरिएको आर्मीले समेत घरेलु फुटबलमा आफ्नो वर्चस्व स्थापित गर्ने दाउमा छ।

अहिलेसम्म आर्मीले लिगको उपाधि जित्न सकेको छैन । पुलिसले भने छ पटक ‘ए’ डिभिजन लिगको उपाधि उचालेको छ। सङ्कटा भने अपराजित टोली हो। यसअघिका दुई खेलमा जीत निकालको सङ्कटा तालिकाको तेस्रो स्थानमा छ। मछिन्द्र एक जीत र एक बराबरीका साथ चार अङ्क जोड्दै तालिकाको छैटौँ स्थानमा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.