एसिया कप क्रिकेट : १९ खेलाडी छनोट, छनोटमा को को परे ? (नामावलीसहित)

रिपोर्ट नेपाल | 2018 Aug 09 | 06:29 pm 1995

काठमाडौँ, साउन २४ : मलेसियामा हुने एशिया कप क्रिकेटका लागि प्रारम्भिक चरणमा १९ खेलाडी आज छनोट गरिएको छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको टोलीले अनिलकुमार साह, वसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, किशोर महतो, ललितसिंह भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सागर पुन, सन्दीप लामिछाने, सोमपाल कामी, सुवास खकुरेल, सुनिल धमला र सुशन भारीलाई छनोट गरेको हो ।

अघिल्लो साता नेदरल्याण्ड्समा सम्पन्न पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेलका क्रममा घाइते शरद भेषवाकर प्रारम्भिक टोलीमा परेका छैनन् । नेदरल्यान्ड्सविरुद्धको एकदिवसीय खेलमा नरहेका सुनिल धमला, सागर पुन, विनोद भण्डारी, सुसन भारी र किशोर महतो प्रारम्भिक टोलीमा परेका छन्

बन्द प्रशिक्षण यही साउन २९ गतेदेखि शुरु हुने नेपाली क्रिकेट टोलीका व्यवस्थापक रमनकुमार सिवाकोटीले जानकारी दिए । उक्त प्रशिक्षणबाट एशिया कपका लागि १५ सदस्यीय टोली घोषणा गरिनेछ । छनोट प्रतियोगिता आगामी भदौ ११ देखि २२ गतेसम्म मलेसियामा हुँदैछ । उक्त प्रतियोगितामा युनाइटेड अरब इमिरेट, हङकङ, नेपाल, सिंगापुर, मलेसिया र ओमानबीच प्रतिस्पर्धा हुनेछ । छनोट प्रतियोगितामा सहभागी ६ टोलीमध्ये शीर्षस्थानको टोली भदौ ३० गतेदेखि युएईमा हुने एशिया कपमा छनोट हुनेछ । उक्त प्रतियोगिताबाट छनोट हुने टोली एशिया कपको समूह ‘ए’ मा रहेका भारत र पाकिस्तानका साथ रहनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.